बादल लाग्ने वित्तिकै नेटवर्क गायव !

विगत तीन महिना देखि पटकपटक सदरमुकाम सञ्चारविहीन

जाजरकोट सञ्चार सेवाबाट वञ्चित – Dcnepal
कालीबहादुर नेपाली
जाजरकोट । जाजरकोट सदरमुकाम खलंगा भित्रै आकाशमा बादल लाग्ने वित्तिकै नेपाल टेलिकमको नमस्ते मोबाईल नेटवर्क गायव हुने गरेको छ । जव आकाशमा बादल देखिन्छ, त्यसपछि मोबाईलमा नेटवर्क देखिदैन् । मौसम परिवर्तन भए जस्तै नेटवर्क पनि परिवर्तन भईरहन्छ । मोबाईल नेटवर्क संगै टेलिफोनको एडिएसल सेवा समेत ठप्प हुन्छ ।

इर्मेजेन्सी फोन सेवा, कार्यालयको प्रशासनिक सेवा, आफन्तहरु विच हुने कुराकानी समेत बन्द हुने गरेको पत्रकार भुपेन्द्र नेपाली बताए । उनले भने, ‘आकाशमा बादल देखिने वित्तिकै, मोबाइलमा नेटवर्क देखिदैन्, फोन सेवा र इन्टरनेट सेवा बन्द हुने गरेको छ ।’

पटक पटक सदरमुकाम भित्रकै नेटवर्कमा समस्या आउँदा समेत नेपाल टेलिकम जाजरकोट शाखा र सरोकारवालाहरु मौन देखिन्छन् । अधिकांश कार्यालयमा इन्टरनेट सेवा मार्फत काम भईरहेका छन् ।

नेटवर्कले काम नगर्दा इन्टरनेट सेवा बन्द हुन्छ, सेवाग्राहीलाई सेवा लिन दिनभरी कुर्नु परेको छ । सुस्त इन्टरनेट सेवाले जाजरकोटवासी हैरान भएका छन् । नेपाल टेलिकमको फोरजी सेवा जाजरकोटमा सञ्चालन भएपनि सुस्त गतिमा चलिरहेको नेपाल पत्रकार महासंघ जाजरकोट शाखाले जनाएको छ । इन्टरनेट र नेटवर्क सम्बन्धी पटकपटक सरोकारवालाहरुको ध्यान आकर्षण गर्दा पनि इन्टरनेट र मोबाईल नेटवर्कमा कुनै सुधार आएको छैन् ।

विगत ३ महिना भित्र २० पटक भन्दा धेरै पटक मोबाईल नेटवर्क गायव भईरहेको छ । हिउँदको समयमा समेत अवरुद्ध हुने नेटवर्क बर्खामा के होला भन्न नसकिने स्थिति रहेको स्थानीय गुनासो गर्छन् । सदरमुकाम बाहिरका स्थानीय तहहरुमा आफन्तहरु संग कुरा गर्न अग्लो डाँडा धाउनुपरेको कुशे गाउँपालिका ७ समाईलाका भुपेश पुनले बताए ।

कुशे गाउँपालिकामा टेलिकमको टावर बनिसकेको छ तर सूचारु नहुँदा स्थानीय सञ्चार सेवा बाट बञ्चित भएका छन् । बारेकोट र जुनीचाँदे गाउँपालिकामा नयाँ टावर बनी सञ्चालनमा आएपनि घाम लागे मात्रै मोबाईलमा नेटवर्क देखाउने स्थानीय बताउँछन् ।

जिल्लाका सात वटै स्थानीय तहमा सञ्चार सेवाको गतिलो पहुँच छैन् । सदरमुकाम भित्रैको भेरी नगरपालिकामा अवरुद्ध हुने नेटवर्क अन्य स्थानीय तहमा के होला ? भन्ने प्रश्न उठ्ने गरेको छ । नेपाल टेलिकम जाजरकोट शाखाका प्रमुख गोपेन्द्र अधिकारीलाई टेलिफोन सम्पर्क गर्न खोज्दा हाम्रो मोबाईलमा नेटवर्क छैन् ।

तपाईको प्रतिक्रिया