मुगुका ३ पालिका अस्पतालविहीन


मुगु । मुगुका ३ पालिका अस्पतालविहीन बनेका छन् । सदरमुकामस्थित छायानाथरारा नगरपालिकामा मात्र १५ शय्याको जिल्ला अस्पताल छ । सोरु, खत्याड र मुगुमकार्मारोङ गाउँपालिकामा अस्पताल नहुँदा स्थानीयवासी सानो उपचारको लागि पनि जिल्ला अस्पताल आउन बाध्य छन् ।

३ वटै पालिकामा अस्पताल नहुँदा गम्भीर अवस्थाका बिरामीलाई हेलिकप्टर चार्टर गर्नुपर्ने बाध्यता छ । गाउँपालिकाहरूमा १०÷१० शय्याको अस्पताल बनाउन संघीय सरकारले अस्पताल भवन शिलान्यास गरे पनि सबै भवन अलपत्र छन् ।

सोरु गाउँपालिकामा २ वर्षअघि तारापानीमा १० शय्याको अस्पताल भवनका लागि शिलान्यास गरिएको थियो । तर ठेकेदार कम्पनीको लापरबाहीले भवनको जगसमेत उठ्न सकेको छैन । सोरुका झन्डै १८ हजार जनसंख्या र ११ वडालाई लक्षित गरी अस्पताल निर्माणको काम अघि बढाइएको थियो । अस्पताल निर्माणको लागि ११ करोड रुपैयाँमा सगुन कन्ट्रक्सन कम्पनीले जिम्मा लिएको छ । ठेक्का सम्झौता गरिए पनि बजेट नआउँदा कामलाई तीव्रता दिन नसकिएको कम्पनीका प्रोपराइटर सहदेव खड्काले बताए ।

सोरुमा ११ वटा स्वास्थ्यचौकी छन् । तर सबैमा स्वास्थ्यकर्मी र औषधिको अभाव रहेको स्थानीय सागरसम्शेर शाहीले बताए । ‘यहाँ त नाम मात्रका स्वास्थ्यचौकी छन्, सामान्य उपचार गर्न पनि सदरमुकाम जानुपर्छ,’ उनले भने, ‘स्वास्थ्यचौकीहरूमा सिटामोलसमेत नपाइने भएकाले केही स्वास्थ्य समस्या देखिए मेडिकलको भर पर्नुपर्छ ।’ उनले गर्भवतीको स्वास्थ्य परीक्षण, एक्सरेलगायत सुविधा लिन सदरमुकाम जानुको विकल्प नभएको बताए ।

जिल्लाको सबैभन्दा बिकट मानिने मुगुमकार्मारोङ गाउँपालिकामा पनि अस्पताल बन्न सकेको छैन । मुगमकार्मारोङमा अस्पताल निर्माणको लागि संघीय सरकारले १० करोड रुपैयाँ बजेट निकासा दिएको छ । तर भवन निर्माणको काम सुस्त छ ।

९ वडा र ६ हजार ६ सय जनसंख्यालाई लक्षित गरी ६ नम्बर वडाको रिउसबगरमा अस्पतालको शिलान्यास गरिएको थियो । ठेक्कामार्फत अस्पताल भवन निर्माणको काम भइरहेको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बलीबहादुर बुढाले बताए । उनका अनुसार बिरामीको उपचार सहज बनाउन १ वर्षदेखि रिउस बगरमा रहेको स्वास्थ्यचौकीमा एक जना चिकित्सक राखी उपचारको व्यवस्था मिलाइएको छ ।

गाउँपालिकामा ११ वडामा स्वास्थ्यचौकी स्थापना गरिएको जानकारी दिए । ‘जनशक्ति, औषधि र उपकरणको अभाव भने भोगिरहेका छौं,’ उनले भने, ‘यातायात सुविधा नहुँदा महँगो भाडा तिरेर औषधि ढुवानी गर्नुपर्ने बाध्यता छ ।’ सडक सुविधा नहुादा माथिल्लो बस्तीका बिरामीलाई बोकेर छाइलबजारसम्म पु¥याउनुपर्ने र त्यहााबाट एम्बुलेन्स प्रयोग गरी जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको उनले जानकारी दिए ।

११ वडा र झन्डै २४ हजार जनसंख्या रहेको खत्याड गाउँपालिकामा बल्ल जग्गाको टुंगो लागेको छ । स्वास्थ्यचौकीहरू पनि नाम मात्रका हुँदा बिरामीलाई उपचार गर्न बाजुराको कोल्टी, जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जिल्ला अस्पताल गमगढीमा पु¥याउनुपर्ने बाध्यता भएको स्थानीय नविन कार्कीले बताए । उनका अनुसार गाउँपालिकाले १० शय्याको अस्पताल निर्माण गर्ने भने पनि काम अझै सुरु नगर्दा बिरामी सास्ती भोग्न बाध्य छन् ।

‘साढे चार वर्षसम्म पनि गाउँपालिकाले एउटा अस्पताल पनि बनाउन सकेन,’ उनले भने, ‘आपत्कालीन अवस्थामा त हेलिकप्टर चार्टरको विकल्प छैन ।’ अस्पताल निर्माणका लागि पैखुमा जग्गा खरिद भइसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक टक्क डागरले बताए । उनका अनुसार जग्गा खरिद प्रक्रियामा ढिलाइ हुँदा भवन निर्माणको काममा समस्या भएको हो ।

पोस्टमार्टम गर्न कठिन
जिल्ला सदरमुकामबाहेक अन्यत्र अस्पताल नहुँदा विभिन्न घटनामा मृत्यु भएका व्यक्तिलाई पोष्टमार्टम गर्न जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता छ । घटनामा मृत्यु भएका व्यक्तिको शव सुरक्षाकर्मी र परिवारले बोकेर सदमुकाम लैजानुपर्ने बाध्यता भएको कार्कीले बताए ।

‘कम्तीमा एक दिन बोकेर शव सदरमुकाम लैजानुपर्छ,’ उनले भने, ‘पोस्टमार्टम भएपछि फेरि बोकेरै गाउँ पु¥याइ दाहसंस्कार गर्नुपर्ने बाध्यता छ ।’ ग्रामीण क्षेत्रमा अस्पताल नहुँदा शव बोकेर सदरमुकाम ल्याउनुपर्ने बाध्यता भएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख उमेश गौतमले बताए ।

तपाईको प्रतिक्रिया