
काठमाडौं । अनलाइनबाट जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले काठमाडौं कीर्तिपुरबाट १२ जनालाई पक्राउ गरेको छ ।
नगरपालिकाको बिभिन्न स्थानमा अनलाइन जुवा खेलाउँदै गरेको अवस्थामा महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
कीर्तिपुर नगरपालिका–६ चोभार, वडा नं –९ न गाँउ र वडा नं–१० बागभैरबस्थित बिभिन्न घरहरू खानतलासी गर्दा अनलाइन जुवा खेलाइरहेको अवस्थामा जुवा खेलाउन प्रयोग हुने ल्यापटप, मोबाइल लगायतका विधुतीय उपकरणहरूसहित उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।
पक्राउ पर्नेमा चोभार बस्ने ३३ वर्षीय सुजेन्द्र थापा, १७ वर्षीय मनिश थापा र समिर थापा, २७ वर्षीय कबिता थापा, ३० वर्षीय रवीन खड्का, वडा नं. १० बस्ने ४५ वर्षीय बुद्ध महर्जन, वडा नं. ८ पाँगा बस्ने २० वर्षीया रोजा महर्जन, १९ वर्षीय साहिल महर्जन, वडा नं. १० बस्ने १९ वर्षीय हनिशा महर्जन, वडा नं. ९ न गाँउ बस्ने ३५ वर्षीय प्रदिपमान सिंह बस्नेत, बझाङ केदारस्युँ गाउँपालिका–५ घर भई कीर्तिपुर–५ बस्ने १९ वर्षीय बिनोद ठगुन्ना र सिन्धुपाल्चोक मेलम्ची–१३ घर भई कीर्तिपुर बस्ने १७ वर्षीय रमादेवी श्रेष्ठ छन्।
अनुसन्धानका क्रममा पक्राउ परेका सुजेन्द्र थापा, प्रदिपमान सिंह बस्नेत र बुद्ध महर्जनले अनलाइन जुवा खेलाउन ३ वटा घरमा २४ सै घण्टा सिफ्टवाइज अनलाइनमार्फत जुवा खेलाउनका लागि कर्मचारीहरू समेत राखेको देखिएको महाशाखाले जनाएको छ।
त्यहाँ खटिने कर्मचारीहरूले फेसबुकमार्फत अमेरिकन तथा युरोपियन नागरिकहरुलाई साथी बनाई अनलाइन जुवा खेल्न लिंक शेयर गरि उक्त गेममा अमेरिकन डलर लोड गर्न लगाई गेम खेलाउने तथा जित्ने पक्षलाई तोकिएको पैसा पुरस्कारको रुपमा दिने गरेको देखिएको महाशाखाले जनाएको छ।
जुवा खेलाउनेले करिब १० महिना अगाडिदेखि महिनाको करिब १ लाख अमेरिकी डलर भन्दा बढी रकम हारजित हुने गरी अनलाइन जुवा खेलाउने गरेको बुझिएको प्रहरीले जनाएको छ।
उनीहरूबाट बिभिन्न कम्पनीका १७ थान मोबाइल, बिभिन्न कम्पनीका १४ थान ल्याप्टप तथा दुई थान डेस्कटप कम्प्युटर तथा जुवाको हिसाव राख्ने रजिष्टर बरामद गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई थप अनुसन्धान र कारबाहीका लागि महानगरीय प्रहरी परिसर पठाइएको महाशाखाले जनाएको छ।ब
















































। ६ माघ २०७८, बिहीबार