
सुर्खेत । कर्णाली प्रदेश प्रवेशका मुख्य नाकाहरु खुल्ला नै छन् । तर कोरोना संक्रमण बढेको भन्दै प्रदेश प्रवेश क्षेत्रहरुका परिक्षण ल्यावहरुमा ताला बन्द गरिएको छ ।
कर्णाली प्रदेश भित्रिने तीनवटा सीमा नाका छन् । सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामुभएर दैनिक हजारौको संख्यामा कालपहाड (भारत) गएका कर्णालीबासीहरु घर फर्किन थालेका छन् । तर ती तीनवटै नाका खुल्ला छन् ।
नाका हुँदै आएका मानिसलाई होल्ड गरेर राख्न ‘होल्डिङ सेन्टर’ त परको कुरा सामान्य ‘हेल्थ डेस्क’को पनि व्यवस्था गरिएको छैन । दोस्रो लहर कम भएसँगै बन्द गरिएका ‘हेल्थ डेस्क’हरु सञ्चालनमा आउँन सकेका छैनन् । सीमा नाकाहरूबाट आउने व्यक्तिहरूको अभिलेख समेत प्रदेश सरकारसँग छैन।
अवको केही दिनभित्रै तीनवटै नाकाका हेल्थ डेस्क सहित स्वास्थ्यकर्मीको टिम पठाउने तयारी भै रहेको निर्देशक खड्का बताउछन् । ‘जामुमा एउटा टिम गइसकेको छ, अन्यमा पनि अवको केही दिनमै पठाउछौं । स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउँछौं ।’
दोस्रो लहरका बेला सीमा नाकामा सावधानी नअपनाउँदा कर्णालीले ठूलो क्षति व्यहोरेको विगत सम्झिन्छन् स्थानिय यूवा अनिल ढकाल । पहिलो र दोस्रो लहर उत्कर्षमा पुगेका बेला नाकामा नागरिको उद्धारमा खएिका ढकाल भन्छन्, ‘सरकारले विगतको गल्तिबाट पाठ सिक्नुपर्छ, तुरुन्तै नाकामा कडाइ गरिनु पर्छ । त्यसो नगरिए विगत दोहोरिन्छ ।’
भारतमा ओमिक्रोनको फैलावट र सीमा नाकामा संक्रमणदर बढ्दै गएकाले कर्णालीमा अवको केहीहप्ता भित्रै कोरोना संक्रमितको संख्या उच्च हुने आंकलन गर्न सकिने डा. नवराज केसी बताउँछन् ।
‘संक्रमण रोक्न अहिले नै पूर्वतयारी नगर्ने हो भन्ने ठूलो क्षति व्यहोर्नुपर्ने हुन्छ । सीमा नाकामै परीक्षण गर्ने र संक्रमितलाई ‘होल्डिङ सेन्टर’मा राखेर मात्रै घर पठाउने व्यवस्था तत्काल गर्नुपर्ने देखिन्छ’ उनले भने ।
प्रदेशमा चारवटा पीसीआर परीक्षण परीक्षण प्रयोगशाला छन् । प्रदेश अस्पताल÷पशुन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पीसीआर प्रयोगशाला जुम्ला, दैलेख अस्पताल र चौरजहारी नगरपालिका रुकुम पश्चिम प्रयोगशाला कोरोनाको दोस्रो लहरका बेला सञ्चालनमा आएका प्रयोगशाला हुन् । तर यी प्रयोगशालामा अहिले ताला लागेको छ ।
परीक्षण नगर्दा कर्णालीमा कोरोना संक्रमणको दर कस्तो छ ? सरकारलाई थाहा छैन । तर नाकाबाट दैनिक हजारौंको संख्यामा भारतबाट कर्णालीबासी घर फर्किरहेका छन् । प्रदेश सरकारसँग अहिलेसम्म कुनै लेखाजोखा छैन ।
विभागीय मन्त्री नहुँदा नीतिगत निर्णय हुन सकेन
यता , कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले मुख्यमन्त्रीको सपथ खाएको ७५ दिन पुग्दा पनि अझै मन्त्रीपरिषदले पूर्णता पाउँन सकेको छैन् । मुख्यमन्त्रीसहित आठ वटा मन्त्रालय रहेको प्रदेशमा दुई जना मात्र मन्त्री छन् । पाँच वटा मन्त्रालय मुख्यमन्त्री शाहीले नै सम्हालेका छन् ।
प्रदेशको स्वास्थ्य, शिक्षा हेर्ने सामाजिक विकास मन्त्रालय पनि मन्त्रीबिहीन छ । विभागीय मन्त्री नहुँदा कोभिड नियन्त्रण लगाएका महत्वपूर्ण नीतिगत निर्णय गर्न नसकिएको सामाजिक विकास मन्त्रालयका एक कर्मचारीले बताए ।
‘मन्त्रालय मन्त्रीविहीन भएपछि कतिपय नीतिगत र दैनिक प्रशासनिक काममा बाधा हुने गरेको छ । अहिले फेरि कोभिड संक्रमणको जोखिम बढेको छ । मन्त्री नै नहुँदा स्वास्थ्य निकायलाई महामारीविरुद्ध कसरी परिचालन गर्ने भन्ने नै अन्योल छ’ ती कर्मचारीले भने ।
प्रदेशको स्वास्थ्य, शिक्षा र सामाजिक सुरक्षाजस्ता क्षेत्र हेर्ने उक्त मन्त्रालय महिनौंदेखि मन्त्रीविहीन भएपछि त्यसको असर सबैतिर देखिन थालेको उनी बताउँछन् ।
सामाजिक विकास मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री शाही अहिलेसम्म मन्त्रालयमा पाइला टेकेका छैनन् ।
‘आवश्यक निर्देशन त परको कुरा अहिलेसम्म मुख्यमन्त्री ज्यू मन्त्रालयमा पाइला टेक्नु भएको छैन, केही महत्वपूर्ण काम लिएर उहाँलाई भेटन जान्छौं तर उहासँग समय मिल्दैन । खालिहात फर्किनु पर्छ’ उनले भने ।
















































। ६ माघ २०७८, बिहीबार