भरतपुर महानगरपालिकाले स्वामित्व लिन्छ गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको : दाहाल

काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने बताएकी छन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले दिएको आर्थिक र प्राविधिक प्रतिवेदनको सरकारी पक्षबाट मूल्यांकन गरिसकेपछि रंगशालाको स्वामित्व भरतपुर महानगरपालिकाले लिने उनले बताएकी हुन् ।

धुर्मुस–सुन्तली फाउण्डेशनले आफूलाई १७ करोड ऋण लागिसकेको र राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरबाट पनि सोचेअनुरुपको सहयोग प्राप्त नभएकोले महानगरलाई स्वामित्व लिन आग्रह गरेको र महानगरले अब रंगशालाको लागि काम अघि बढाउने बताइन् ।

दाहालले सरकार जिम्मेवारीबाट पन्छिन नमिल्ने भन्दै रंगशाला बनाउँदा लागेको ऋण र बहुवर्षीय योजनाअनुसार कामअघि बढाउन संघीय सरकारलाई आग्रह गर्ने बताइन् ।

‘हामीले प्रक्रिया अघि बढाइसकेका छौँ। हुनत हाम्रो सम्झौताअनुसार महानगरपालिकाले जग्गा उपलब्ध गराउने, त्यो खालको वातावरण निर्माण गरिदिने र श्रोत जुटाएर निर्माण सम्पन्न गर्ने, दायित्व धुर्मुस सुन्तली फाउण्डेशनको हो,’ उनले भनिन्, ‘महानगरले जग्गा उपलब्ध गराउने र वातावरण निर्माण गरिदिने भन्ने हो, त्यसका बाबजुद पनि महानगरले श्रोत जुटाउन आर्थिक सहयोग पनि जुटायौँ। राम्रो सहयोग जुटेको हो। आन्तरिक आयबाट पनि बजेट विनियोजन गरेर हस्तान्तरण गरेको हो। लगभग १० करोड बजेट महानगरको आन्तरिक बजेटबाट उपलब्ध गराएको हो। महायज्ञ धनधान्याञ्चल आयोजना गरेर पनि सहयोग गरेका हौँ। १८÷२० करोडको बजेट फाउण्डेशनलाई उपलब्ध गराएको हो। उहाँहरुले १७ करोड ऋण लागिसक्यो गर्न सक्ने स्थिती भएन भनेपछि ऋण लगाएर गर्ने कुरा भएन।’

धुर्मुस सुन्तली फाउन्डेशनले रंगशालाको स्वामित्व महानगरले लिइदिनुपर्ने आग्रह गरेको उनको भनाइ छ। ‘उहाँहरुले हामीले श्रोत जुटाउन सकेनौँ, त्यसकारण महानगरपालिकाले स्वामित्व ग्रहण गरिदिनुपर्छ भनेर आग्रह गरेपछि हामीलाई पत्र पनि दिनुभयो र उहाँहरुले फाउण्डेशनको तर्फबाट आर्थिक र प्राविधिक प्रतिवेदन पेश गरेपछि यो बहुवर्षीय योजनाअनुसार अघि बढाउन र ऋण तिर्न पनि संघीय सरकारलाई आग्रह गछौँ,’ उनले भनिन्, ‘सरकारले जिम्मेवारीबाट पन्छिन मिल्दैन, स्वामित्व लिन्छ। सबै सरकारको आपसी र समझदारीबाट यो योजनालाई अघि बढाउँछौँ।’

तपाईको प्रतिक्रिया