साढे ३३ किलो सुन तस्करी दुई लाख धरौटीमा छुटे

काठमाडौं । साढे ३३ किलो सुन तस्करी एवं सनम शाक्य हत्या प्रकरणका आरोपी रमेश उप्रेती दुई लाख धरौटीमा छुटेका छन्। रमेश सुन तस्करी प्रकरणका मुख्य नाइके चूडामणि उप्रेती ‘गोरे’का भाइ हुन्।

जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएपछि उनी छुटेका अदालतले जनाएको छ। युएई बस्दै आएका रमेश मंगलबार नेपाल आउने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

प्रहरीले बुधबार अदालतमा उपस्थित गराएका उप्रेतीलाई बिहीबार थुनछेक बहसपछि लम्सालको इजलासले दुई लाख धरौटीमा छाड्ने आदेश दिएको जिल्ला अदालत मोरङका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले बताए।

गत मंसिरमा मुख्य आरोपीमध्येका एक एमके मामा भनिने मोहनकुमार अग्रवाल जिल्ला अदालत मोरङमा सुटुक्क हाजिर भएका उनी थुनछेक बहसपछि तीन लाख धरौटी बुझाएर उनी छुटेका थिए। मंसिरमा लम्सालकै इजलासले तस्करीको सुनको लगानीकर्तामध्येका एक काले भनिने कृष्णगोपाल अग्रवाललाई पनि दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

७७ जना प्रतिवादी रहेको सुन तस्करी र शाक्य हत्याको मुद्दामा लम्सालकै इजलासले असोज १९ गते फैसला सुनाउँदा ५६ जना प्रतिवादीले सफाइ पाएका थिए। अदालतले सुन तस्करी प्रकरणसँगै जोडिएको सनम शाक्य हत्याको मुद्दामा आठ जनालाई दोषी ठहर गरेको थियो।

मोरङ उर्लाबारीका गोरे भनिने चूडामणि उप्रेतीसहित टेकराज मल्ल ठकुरी, लाक्पा शेर्पा, मोहन काफ्ले, कृष्ण भनिने नरेन्द्र कार्की र भोजे मामा भनिने भोजराज भण्डारीलाई ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो। # thahakhabar#

तपाईको प्रतिक्रिया