माओवादी महाधिवेशन : २९९ केन्द्रीय समिति चयन हुँदै


काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशनबाट आज केन्द्रीय समिति चयनको प्रक्रिया शुरू हुने भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमा समूहगत छलफल र त्यसको निष्कर्ष प्रस्तुतिमा दुई दिन लागेपछि महाधिवेशन लम्बिएको छ । ११ गते सुरु भएको महाधिवेशन १५ गते सक्ने निर्णय भएको थियो ।

बन्दसत्रमा अध्यक्ष प्रचण्डले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ शीर्षकको राजनीतिक प्रतिवेदन र स्थायी समिति सदस्य देव गुरुङले विधानको मस्यौदा प्रस्तुत गरेका थिए ।

राजनीतिक प्रतिवेदनमाथि २४ समूहमा छलफल भएर निष्कर्ष आइसकेको छ । अध्यक्ष दाहालले आज प्रतिनिधिले उठाएका प्रश्नको जवाफ दिनेछन् । त्यससँगै राजनीतिक प्रतिवेदन पारित हुनेछ ।

त्यसपछि महाधिवेशनको बन्दसत्रमा स्थायी समिति सदस्य गुरुङले प्रस्तुत गरेको विधानको मस्यौदा पारित गर्ने कार्यक्रम छ । अनि, त्यही विधानमा आधारित भएर केन्द्रीय समिति चयनका लागि निर्वाचन आयोगले प्रक्रिया शुरू गर्नेछ ।

आज केन्द्रीय समिति चयनका लागि निर्वाचन प्रक्रिया शुरू हुने माओवादीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठ जानकारी दिए । उनका अनुसार, हलबाट नयाँ विधान पारित भएसँगै निर्वाचन प्रक्रिया शुरू हुनेछ । अब माओवादीको केन्द्रीय समिति २९९ सदस्यीय हुनेछ । त्यसमा १५ पदाधिकारी हुनेछन् ।

तपाईको प्रतिक्रिया