
काठमाडौं । नेकपा (माओवादी केन्द्र) को काठमाडौंको प्रज्ञा भवनमा जारी आठौं महाधिवेशन लम्बिएको छ। पुस १५ गते सम्पन्न हुने भनिएको महाधिवेशन समूहगत छलफल र त्यसको निष्कर्ष सुनाउन टोली नेतालाई दुई दिन लागेपछि महाधिवेशन लम्बिएको हो।
पुष ११ गतेदेखि १३ गतेसम्म प्रथम राष्ट्रिय सम्मेलन भनेर प्रचार भएपनि एक दिन अगाडि मात्रै महाधिवेशनमा रुपान्तरण गरिएको थियो। प्रथम राष्ट्रिय सम्मेलनका लागि छनोट भएका प्रतिनिधि आठौं राष्ट्रिय महाधिवेशन प्रतिनिधिमा रुपान्तरण भएका हुन्।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘२१ औं शताब्दीको समाजवादको नेपाली बाटो’ शीर्षकको वैचारिक तथा राजनीतिक दस्तावेज, पार्टी स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङले पार्टीको विधान मस्यौदाको प्रस्तावमाथि छलफलका लागि २५ वटा समूह बनाइएको थियो। प्रतिवेदनमाथि छलफल गर्न बनेका २५ वटै समूहले बिहीबार निष्कर्ष पेस गरे।
अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि समूहगत निष्कर्ष पेस गर्ने क्रममा प्रतिनिधिहरुले समाजवादको स्पष्ट व्याख्या र क्रान्तिको स्पष्ट कार्यदिशा ल्याउन सुझाव दिएका छन्। उनीहरुले पार्टीमा ‘बा प्रवृत्ति’ देखिएको, प्रचण्डभित्र आत्मकेन्द्रित व्यक्तिवादको समस्या रहेको टिप्पणीसमेत गरेका छन्। ‘हामी सबै मुख्यतः कमरेड अध्यक्षमा आत्मकेन्द्रित व्यक्तिवादको समस्या देखिएको छ। तपाईंका प्रायः सबै सार्वजनिक अभिव्यक्तिमा हाम्रो वर्ग, हाम्रो पार्टी, हाम्रो आन्दोलन र हाम्रो केन्द्रीय समितिको निर्णय भन्ने कतै सुनिँदैन। सुनिन्छ त म, मेरो, मेलै, प्रचण्डले मात्र।’ प्रचण्डको प्रतिवेदनमा फरक मत राख्दै नेता लेखनाथ न्यौपानेले भनेका छन्,‘हामीले ओलीभित्रको बा प्रवृत्तिले कम्युनिस्ट आन्दोलनमा पारेको नकारात्मक प्रभावको खण्डन गर्दै गर्दा हामीभित्र पनि अर्को रुपको वा प्रवृत्ति देखिएको छ। तपाई आफैँ सशरीर उपस्थित भएको ठाँउमा तपाईका लस्करै तस्बिर राख्न कसले निर्देशन दिएको हो।’
महाधिवेशन प्रतिनिधिहरूले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा अघि सार्नुपर्ने, अहिलेसम्मलाई एक कार्यकाल मानी एक व्यक्ति प्रधानमन्त्रीमा २ कार्यकाल, मन्त्री र सांसदमा ४ कार्यकालभन्दा बढी हुन नहुने, पार्टी कमिटीको प्रमुख पदमा २ कार्यकाल मात्र काम गर्नुपर्ने, समानुपातिक पदहरूमा एक कार्यकाल मात्र पठाउनुपर्ने सुझाव दिएका छन्।
पार्टीभित्रै वर्ग जन्मिएको भन्दै महाधिवेशन प्रतिनिधिहरूले असन्तुष्टि र चिन्तासमेत व्यक्त गरेका छन्। वर्गीय शोषण, दमन अन्त्य गर्न राजनीतिमा आएका नेता तथा कार्यकर्ताहरू नै मिटर ब्याजी बनेको विषय पनि उठेको छ। गरिबलाई रुवाउन उनीहरूले सुदखोरलाई सघाउने गरेको पनि निष्कर्ष निकालिएको छ ।
प्रतिवेदनमाथि उठेका प्रश्न, सुझाव र जिज्ञासाको अध्यक्ष प्रचण्डले शुक्रबार दिउँसो १ बजे सुरु हुने बन्दसत्रमा जवाफ दिने र प्रतिवेदन पारित गर्ने कार्यसूची छ। त्यससँगै अनुशासन, लेखा र निर्वाचन आयोगको प्रतिवेदन पेस गर्ने कार्यक्रमसमेत रहेको छ। उक्त प्रक्रिया सकिएपछि मात्रै नेतृत्व चयन प्रक्रिया सुरु हुनेछ । नेतृत्व चयनका लागि सहमतिको प्रयास भइरहेको माओवादी केन्द्रले जनाएको छ ।
















































। १६ पुष २०७८, शुक्रबार