
जाजरकोट । जिल्लाको सबैभन्दा ठूलो रमाईलो मेला सुरु भएको छ । कोरोना महामारीका कारण विगतका बर्षहरुमा स्थगित रमाईलो मेला यस बर्ष सोमबार बाट औपचारिक रुपमा सुरु भएको हो । जाजरकोट यूवा क्रिकेट क्लवको आयोजनामा शुरु भएको मेलाको औपचारिक उद्धघाटन भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले गरेको मेला आयोजक समितिका अध्यक्ष अनिश कार्कीले जानकारी दिए ।
जिल्लाका सात वटै पालिकाहरुको पहिचान झल्काउने रमाईलो मेलामा यस बर्ष खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखिएको कार्कीले बताए । त्रिभुवन माद्यामिक विद्यालयको क्षेत्र भित्र लाग्ने मेलामा यहाँका लोक संस्कृति, परम्परागत नाच, पर्यटकीय क्षेत्रको फोटो प्रर्दशनी समेत गरिएको छ ।
खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखेर सञ्चालन गरिएको मेलामा अहिले सम्मकै सर्वाधिक राशीको पुरुस्कार वितरण गरिनेछ । खुल्ला पुरुष भलिवल तर्फ दर्ता शुल्क १० हजार रहेको छ भने विजेता पुरुस्कार १ लाख ५५ हजार ५ सय ५५ रहेको छ । यस्तै, उपविजेता पुरुस्कार ८५ हजार ५ सय ५५ रहेको अध्यक्ष कार्कीले जानकारी दिए ।
स्थानीय उत्पादनहरुलाई समेत मेलामा प्राथमिकता साथ राखिएको छ । सोमबार सम्म अहिले सम्म ९ वटा टीमको सहभागीता रहेको खेलकुद समितिले जनाएको छ । मंलबार विहान बाट सुरु हुने खुल्ला पुरुष भलिवलको पहिलो खेल मालिका यूवा क्लव र झरना यूवा क्लव वीच हुनेछ । तत्कालिन राजा वीरेन्द्रको जन्मदिन पारेर २०३८ सालमा बाट लाग्दै आएको मेला शसस्त्र द्धन्द्धको क्रममा सुरक्षाको कारण देखाउँदै केही बर्ष रोकिएपछि हाल सम्म निरन्तर चल्दै आएको छ ।
कोरोना महामारी फैलनुभन्दा पहिले तीन पटक सम्म महोत्सव समेत सञ्चालन गरिएको थियो । उद्योग वाणिज्य संघ जाजरकोट र चेम्बर अफ कर्मसको आयोजनामा महोत्सव सञ्चालन गर्ने गरिन्थ्यो । अहिले पनि कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फैलिएकोले महोत्सव सञ्चालन नगरिएको खेलकुद कमिटीका संयोजक यज्ञ बस्नेतले जानकारी दिए ।
जाजरकोटको पहिचान झल्कने रमाइलो मेला जाजरकोटकै सबैभन्दा ठुलो मेला भएको स्थानीयको भनाई छ । सांस्कृतिक कार्यक्रम सञ्चालन गरिने छ । मेलामा रुकुम, दैलेख, सल्यान र डोल्पाका हजारौ दर्शकहरुको उपस्थिति रहने आकलंन गरिएको छ । स्थानीय उत्पादनले समेत बजार पाउने छ । होटलहरुको व्यापारमा वृद्धि भई जिल्लाको आर्थिक वृद्धिदरमा टेवा पुग्ने विश्वास लिईएको छ ।
















































। १३ पुष २०७८, मंगलवार