
काठमाडौं : सत्तारुढ जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संसद अवरुद्ध पारिरहेको प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा अध्यक्ष भट्टराईले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिनेक्रममा संसद अवरुद्ध गरिरहेको एमालेलाई सरकारले दण्डित गर्न मात्रै बाँकी रहेको बताए।
उनले एमालेले अब पनि संसद बैठक अवरोध गरिरहे जनता आफैँले दण्डित गर्ने दाबीसमेत गरे। अध्यक्ष भट्टरार्ईले महिनौंसम्म संसद अवरुद्ध पारेर एमाले अध्यक्ष केपी ओलीले आफूलाई अझै पनि प्रतिगमनकारी कित्तामै उभ्याएको तर्कसमेत गरे।
गत वर्षको पुस ५ यता प्रतिगामी दिशामा रहेका ओली अहिले पनि त्यसैमा छन् भन्ने प्रमाणनै संसद अवरुद्ध गरिरहहेको उनको भनाइ थियो।
अध्यक्ष भट्टराईले संसदमा असहमती राख्ने भनेको बैठक अवरुद्ध पारेर नभई त्यहीभित्र तर्क वितर्क गर्ने रहेको बताए। उनले भने, ‘लोकतन्त्रको मर्मविपरीत, संविधानको विपरित त हुँदै हो। उहाँहरुले स्वीकार गरेको लोकतन्त्र भनेको बहुमतको सरकार, अल्पमतको प्रतिपक्ष। यसैलाई त उहाँहरुले जनताको बहुदलीय जनवाद भनेर स्वीकार गर्नु भएको छ । त्यो भनेको तर्कवितर्क गर्ने, विरोध गर्ने तरिका हो। बैठकनै चल्न नदिएर अवरोध गर्ने भनेको लोकतन्त्रलाई असफल पार्ने कुरा हो। उहाँहरुले संसदमा अवरोध गरिराख्नु भएको छ । त्यसलाई दण्डित गर्न मात्रै बाँकी छ। जनताले दण्डित गरोस् भन्ने हाम्रो भनाइ थियो।’
अध्यक्ष भट्टराईले संसद अवरुद्ध पार्ने कामलाई निरन्तरता दिएर एमालेले लोकतन्त्रलाई नै असफल बनाउने प्रयास गरिरहेको आरोप पनि लगाए।
बुधबारको बैठकमा पनि एमालेका सांसदहरूले पक्षपातपूर्ण व्यवहार बन्द गर’भन्नेलगायतका नाराहरू लगाउँदै बेल घेराउ गरे।
सभामुख सापकोटाले बैठक सुरु गर्नासाथ एमाले सांसदहरुले वेल घेराउसहित चर्का नाराबाजी गर्दै प्रतिनिधिसभा अवरुद्ध पार्ने कोशिसलाई निरन्तरता दिए।
यता, सभामुख सापकोटाले सभालाई सुचारु गराएर आफ्ना असहमति राख्न पटकपटक आग्रह गरेका थिए। तर, एमाले सांसदहरुले त्यसको बेवास्ता गर्दै पक्षपातपूर्ण व्यवहार बन्द गर, संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षडयन्त्र मूर्दावाद भन्ने नारा लगाएका थिए।
एमालेले आफ्नो पार्टीले कारबाहीका लागि सिफारिस गरेका माधव नेपालसहितका १४ जना सांसदलाई कारबाहीको सूचना टाँस नगरेर सभामुख सापकोटा आफैँ पार्टी फुटाउने षडयन्त्रमा लागेका भन्दै संसद् बैठकमा विरोध जनाउँदै अवरुद्ध पार्ने प्रयास गर्दै आएको छ
















































। ७ पुष २०७८, बुधबार