
फाइल तस्विर
सल्यान । राप्ती राजमार्गमा दुर्घटना बढ्दै गएपछि ट्राफिक प्रहरीले समय निर्धारण प्रणाली (टाइम कार्ड सिस्टम) लागू गरेको छ । राजमार्गमा सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र मानिएको कपुरकोटदेखि बांगेलाखुरीसम्मको ७४ किमि सडकमा बिहीबारदेखि समय निर्धारण प्रणाली लागू गरिएको हो ।
सडकको दुरवस्था भएको देख्दादेख्दै गाडी व्यवसायीले बढी कमाइ हुने लोभमा अस्वस्थ प्रतिस्पर्धा गर्दा दुर्घटना बढेको भन्दै टाइम कार्ड लागू गरिएको हो ।
टाइम कार्डले ट्राफिक नियमको पालना गर्न पनि सघाउ पु¥याउने जिल्ला ट्राफिक कार्यालयका इञ्चार्ज लक्ष्मण विकले बताए । उनका अनुसार समय निर्धारण प्रणाली कार्यान्वयनमा ल्याएपछि राप्ती राजमार्गअन्तर्गत दाङ–सल्यान–रुकुम पश्चिम खण्डमा चल्ने गाडीले सल्यानका ६ ठाउँमा ट्राफिक युनिट र प्रहरी चौकीमा अनिवार्य रूपमा कार्ड रुजु गराउनुपर्नेछ । कपुरकोटदेखि सिमखोलीको ७४ किलोमिटरमा गाडीलाई ४ घण्टा, कपुरकोट–लुहाम २० किमिमा १ घण्टा १० मिनेट र लुहाम–श्रीनगरको १२ किमिमा ३५ मिनेट समय तोकिएको उनले जानकारी दिए ।
त्यस्तै, श्रीनगर– ढोडचौर १० किमिमा २० मिनेट, ढोडचौर– थारमारे २८ किमिमा १ घण्टा, थारमारे –बांगेलाखुरी १४ किमिमा ४५ मिनेट समय तोकिएको छ । ‘टाइम कार्ड यात्रुबाहक गाडीमा मात्र लागु हुनेछ,’ उनले भने, ‘एउटा कार्डले एक महिनासम्म काम गर्ने गरी व्यवसायीलाई वितरण गरिएको छ । सडकको अवस्था हेरेर समय निर्धारण गरिएको उनको भनाइ छ ।
समय तोकेपछि दुर्घटना कम हुने मात्र नभइ यात्रुहरूलाई आउजाउमा पनि सहज हुने प्रहरीको भनाइ छ । ट्राफिक प्रहरीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म ४२ वटा सवारी दुर्घटना भइसकेका छन् । जीर्ण सडक, ट्राफिक नियमको पालना नहुनु, तीव्र गति, यान्त्रिक खराबीलगायत कारण गाडी दुर्घटना बढेको हो । गाडी दुर्घटनामा परी भदौयता २० जनाको मृत्यु भएको छ । ८४ जना घाइते भएका छन् ।
यो अवधिमा १० बस, ८ जिप, १२ मोटरसाइकल, १२ ट्र्याक्टर दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । ‘वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे सडकले पनि दुर्घटना बढिरहेका छन्,’ इन्चार्ज विकले भने, ‘सडकको दुरवस्था देख्दादेख्दै व्यवसायीले बढी कमाउने लोभमा बढी यात्रु राख्दा पनि दुर्घटना बढाउन बल पुगेको छ ।’ दुर्घटना न्यूनीकरणका लागि बारम्बार चालक, सहचालक तथा गाडीधनीलाई विभिन्न तालिम दिँदै आए पनि दुर्घटना बढ्न नसकेको उनको भनाइ छ ।
















































। २ पुष २०७८, शुक्रबार