काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सभापति पदमा निर्वाचित शेरबहादुर देउवा नेपालमा धेरै पटक प्रधानमन्त्री बन्न पाउने थोरै व्यक्तिमध्ये पर्छन्।
सुदूरपश्चिमको डडेलधुरा जिल्लामा २००३ सालमा जन्मिएका उनले विद्यार्थी जीवनबाटै राजनीति सुरु गरेका थिए। २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट देउवाले आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन्।
त्यसपछि उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र सभापति बने। पञ्चायत विरोधी राजनीति गर्दा देउवा पटक–पटक जेल परेका थिए। आफ्नो राजनीतिक जीवनमा पटकपटक गरेर करिब नौ वर्ष जेल जीवन बिताएका देउवा पाँचौ पटक प्रधानमन्त्री पद चलाइरहेका छन्।
२०४६ सालको जनआन्दोलनपछि देउवा सुदूरपश्चिम क्षेत्रमा नेपाली कांग्रेस पार्टीको राजनैतिक प्रमुखको भूमिकामा रहेका थिए। २०४८ सालमा डडेल्धुराबाट सांसद बनेका देउवा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेका थिए।
२०५१ सालको मध्यावधि निर्वाचनपछि उनी संसद्मा प्रमुख प्रतिपक्षी दलको नेता बने। २०५२ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि उनी पहिलोपटक संयुक्त सरकारको प्रधानमन्त्री बनेका थिए।
२०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए र त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो।
२०५६ सालमा डडेल्धुराबाटै निर्वाचित भएका देउवा २०५८ साल साउनमा दोस्रो पटक प्रधानमन्त्री बनेका थिए। त्यसै वर्ष असोज १८ गते राजा ज्ञानेन्द्रले उनलाई पदमुक्त गरे। त्यसपछि २०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे। तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नो हातमा लिँदै देउवालाई हटाए।
त्यसपछि देउवालाई राजाले गठन गरेको शाही आयोगले भ्रष्टाचार अभियोग लगाएको थियो। उक्त आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेका देउवालाई शाही सरकारले भ्रष्टाचारको अभियोगमा पक्राउ समेत गरेको थियो। तर पछि सर्वोच्च अदालतले उक्त आयोगलाई नै खारेज गरिदिएपछि उनी छुटेका थिए !
















































। २९ मंसिर २०७८, बुधबार