संसद्का दुई कर्मचारीमा कोरोना


काठमाडौं । संघीय संसदको अधिवेशन सुरु हुनुअघि आज सांसद तथा कर्मचारीहरुको कोरोना परीक्षणको लागि एन्टीजेन परीक्षण भइरहेको छ ।

सोमबार १ बजेसम्म परीक्षण गरिएकामध्ये दुईजना कर्मचारीमा एन्टीजेन पोजेटिभ आएको बताइएको छ ।

सांसदहरूको कोरोना परीक्षण सुरु

सांसद, कर्मचारी तथा सुरक्षाकर्मी गरी अहिलेसम्म भएको करिब ३०० जनाको परीक्षणमा २ जना कर्मचारीको कोभिड पोजेटिभ आएको परीक्षण टिम संयोजक भोला अधिकारीले बताए । उनले आज र भोलिमा करिब ९०० जनाको कोभिड परीक्षण गर्न भन्दै पत्र इडिसिमा आएकोले सोहीअनुसार परीक्षण गरिएको बताए ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट परिचालन भएको स्वास्थ्यकर्मीहरूको टोलीले आज एन्टीजेन विधिबाट कोभिड परीक्षण गरिरहेको छ ।

भोलिदेखि सुरु हुने संघीय संसदको बैठकलाई लक्षित गरी सरकारले आजबाट सांसद, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक तथा अन्य सुरक्षाकर्मीहरूको कोरोना परीक्षण थालिएको हो ।

परीक्षणका लागि अन्य पार्टीका सांसद कर्मचारीहरु आइरहेको भए पनि हालसम्म कांग्रेस तर्फका सांसदहरु भने उपस्थित नभएको बताए । यसअघि संघीय संसद् सचिवालयले भोलि देखि सुरु हुने बैठकका लागि कोभिड परीक्षण गराउन सूचना जारी गरेको थियो ।

तपाईको प्रतिक्रिया