गलत स्वास्थ्य रिपोर्ट दिने डा. सहित स्वास्थ्य सस्थाविरूद्ध ६ लाख क्षतिपूर्तिको फैसला

काठमाडौं । स्वास्थ्य परीक्षणको गलत रिपोर्ट तयार गर्ने स्वास्थ्य संस्थाले पीडितलाई क्षतिपूर्ति तिर्नुपर्ने भएको छ ।

गलत रिपोर्टका कारण वैदेशिक रोजगारीबाट फर्काइएका एक पीडितलाई स्वास्थ्य संस्था र चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने भएको हो। गलत रिपोर्टका कारण इजरायलबाट फर्काइएका किरण बस्नेतलाई क्षतिपूर्ति दिन सर्वोच्च अदालतले आदेश दिएको छ ।

सुन्धारास्थित नेपाल इन्टरनेशनल क्लिनिक प्रालिमा डा. बुद्ध बस्न्यातले दिएको स्वास्थ्य परीक्षण प्रमाणपत्रका आधारमा बस्नेत इजरायल पुगेका थिए। त्यहाँ स्वास्थ्य परीक्षण गर्दा दम रोगी भएको पुष्टि भएपछि किरण नेपाल फर्काइएका हुन्।

‘चिकित्सकले व्यवसायिक जिम्मेवारी पूरा नगरी ग्राहकको उपचारमा लापरवाही गरेको कारणले सेवाग्राहीलाई पर्न गएको असरको जिम्मेवारीबाट उन्मुक्ति पाउन नसक्ने देखिन्छ’ न्यायाधीशहरु दीपककुमार कार्की र हरि फुयालको इजलासले गरेको फैसलामा भनिएको छ, ‘स्वास्थ्य परीक्षण प्रतिवेदनमा कुनै रोगको सम्भावना नभएको देखाएको छ।

डा. बुद्ध बस्न्यात तथा नेपाल इन्टरनेशनल क्लिनिकले पीडित किरण बस्नेतको स्वास्थ्य परीक्षण गर्ने क्रममा हेलचेक्रयाई एवं लापरवाही गरेकाले मानसिक, आर्थिक र शारीरिक तथा भौतिक क्षति व्यहोर्नुपरेको देखियो ।’

सर्वोच्च अदालतले तत्कालिन पुनरावेदन अदालत पाटन र जिल्ला क्षतिपूर्ति समिति काठमाडौंको निर्णय सदर गरेको हो। चिकित्सक बस्न्यातबाट ३ लाख र स्वास्थ्य संस्थाबाट ३ लाख गरी ६ लाख रुपैयाँ क्षतिपूर्ति दिनु भनी आदेश गरिएको छ ।

तपाईको प्रतिक्रिया