आउने निर्वाचनमा एमालेको जित सुनिश्चित : भीम रावल

नेकपा एमालेका नेता डा. भीम रावलले आगामी निर्वाचनमा देशैभर एमालेले जित्ने दाबी गरेका छन् । गृहजिल्ला अछामको मेल्लेख गाउँपालिकामा आइतबार अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन् ।

‘एमालेको देशैभर राम्रो जनमत छ । आगामी निर्वाचनमा पनि नेकपा एमालेको जित सुनिश्चित छ,’ उनले ठोकुवा गरे, ‘अब हामीले पार्टीसँगै देश निर्माणमा समेत निरन्तरता दिनुपर्छ ।’

यस्तै अर्को सन्दर्भमा उनले आफू राष्ट्रको स्वाधीनता र स्वतन्त्रताको पक्षमा आवाज उठाउँदै आएको र त्यो आवाज निरन्तर रहने बताए । महाधिवेशनमा हारे पनि त्यो आवाजबाट आफू विचलित नभएको उनले दाबी गरे ।

यस्तै उनले आफूले पार्टी मिलाउन १० बुँदे सहमतिको खाका तयार गरेर त्यसको कार्यान्वयनका लागि अन्तिम अवस्थासम्म लडेको बताए । तर, शीर्ष नेताहरुकै कारण पार्टीमा फुटको अवस्था आएको उनले बताए ।

रावलले आगामी दिनमा पनि पार्टीमा सकारात्मक तवरले र जनता साथमा रहेर काम गर्ने प्रतिबद्धता जाहेर गरे ।

तपाईको प्रतिक्रिया