खोप पर्याप्त हुँदासमेत लगाउनै ढिला

काठमाडौं । नेपालमा कोरोना भाइरसको खोप अभियान सुरु भएको झन्डै एक वर्ष पुगेको छ ।

भारतको सेरम कम्पनीले उत्पादन गरेको कोभिसिल्ड खोप भारत सरकारले १० लाख मात्रा खोप उपहार स्वरूप उपलब्ध गराएपछि नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएको थियो ।

हिजोसम्मको तथ्याङ्कअनुसार एक वर्षको अवधिमा नेपालमा २ करोड ७९ लाख ५६ हजार ५ सय ३० मात्रा कोरोनाविरुद्धको खोप नेपालमा आइसकेको छ ।

करिब ३७ लाख मात्रा खोप आइतबारसम्म आउने

आज १४ लाख ९८ हजार ६०० मात्रा मोडर्ना खोप आएको छ । त्यस्तै आगामी आइतबार १९ लाख ६५ हजार ६ सय मात्रा आउने स्वास्थ्य सेवा विभागको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले जनाएका छन् ।

‘आजबाट आइतबारसम्म आउने मोडर्ना खोप कोभ्याक्स सुविधामार्फत आउने खोप हो’‚ उनले भने ।

खोप पर्याप्त हुँदा समेत खोप लगाउनै ढिला

गत शुक्रबार १ लाख ८८ हजार मात्र मोडर्ना आएको थियो आगामी तीन महिनाभित्र ३ करोडभन्दा बढी खोप आउँदै छ। हाल देशभर करिब ६० लाख मात्रा मौज्दात रहे पनि सरकारले न्यून मात्रामा लगाइरहेको छ । खोप न्यून हुँदा दैनिक ३ लाखसम्म खोप लगाइएको थियो । अहिले खोप पर्याप्त हुँदा समेत खोप तीव्ररूपमा लगाइएको छैन ।

राष्ट्रिय खोप सल्लाहाकार समितिको सिफारिसका संयोजक प्रा.डा. श्यामराज उप्रेतीले समेत जुन तरिकाले खोप लगाउनुपर्ने थियो त्यसरी तीव्र तरिकाले नलगाइएको स्विकार्छन् ।

‘खोपको महत्त्व बुझ्नेहरूले पहिला जसोतसो लगाइसके अहिले खोपप्रति विश्वास नगरेकाहरूले नलगाउने इच्छा कम गरेका हुनाले खोप तीव्ररूपमा लगाउन सकिएको हो’‚ उनले भने ।

अहिले पनि धेरैले पहिलो मात्रा समेत खोप नलगाएको समयमा खोप अभियानलाई तीव्र गतिमा लगाउनुपर्ने समेत डा. उप्रेतीले बताए ।

‘जनताले पनि खोपप्रति विश्वास गर्नु प¥यो र आएका खोप समयमै लगाउन सकियो भने धेरै सुरक्षित हुन्छ’‚ उनले भने ।

नेपालमा कोभिसिल्ड एस्ट्राजेनेका, भेरोसेल, जन्सन एण्ड जन्सन र फाइजर खोप लगाइँदै आइरहेको छ । नेपालमा लक्षित जनसङ्ख्याको ५३.७ प्रतिशतलाई पहिलो मात्रा र ४४.५ प्रतिशतलाई पूर्ण मात्राको खोप लगाइएको छ ।

६० वर्षमाथिका नागरिकलाई ‘अतिरिक्त मात्रा’ दिइने

यस्तै यसअघि भेरोसेल खोप लगाएका ६० वर्षमाथिका सबै व्यक्तिलाई अतिरिक्त मात्रा दिने सिफारिस गरेको समेत डा. उप्रेतीले बताए ।

आधारमा ६० वर्षभन्दा माथिका भेरोसेलको दुई मात्रा लगाएको तीन महिना पुगेका ज्येष्ठ नागरिकलाई अतिरिक्त मात्रा दिने भनिएको उनले बताए ।

‘विश्व स्वाथ्य संगठनले बुष्टर मात्रा दिने नभने पनि भेरोसेल लगाएकाहरूलाई अतिरिक्त मात्रा खोप दिन सुझाव दिएको आधारमा हामीले ६० वर्षभन्दा माथिका र यसअघि भेरोसेल खोप लगाएका रोगसँग लड्ने प्रतिरक्षा क्षमता कम भएकालाई यो खोप पुनः दिन सिफारिस गरेका हौं’‚ उनले भने ।

समितिले रोग प्रतिरोधी क्षमता कमजोर भएका सबै व्यक्तिलाई पनि अन्य खोप अतिरिक्त मात्राको रूपमा उपलब्ध गराउन सिफारिस गरेको समेत उनले बताए ।

तपाईको प्रतिक्रिया