
केही महिनाअघिको कुरा हो, एउटा शनिबार सदा झैं म झ्यालमा बसेर उहाँको बाटो हेर्दै थिएँ । मेरो दशबर्षीय ठुलो छोरा भर्खर नुहाएर कोठामा पस्यो । उसले लुगा फेर्दै सोध्यो, “आमा ! के हेरिराख्नुहुन्छ तपाई सधैं ?”
छोराको प्रश्न सुनेर मनमा लाग्यो, सानातिना कुरामा किन झुट बोल्नु ? हुन त कतिपय कुरामा छोरासँग झुट बोलेकी छु तर यसो गर्दा मलाई कत्ति सन्तोष लाग्दैनथ्यो । यो भन्दा बढ्ता असोन्तोष त्यति लाग्थ्यो जति वेला छोराले कुरामाथि विस्वास गर्दैन्थ्यो र उल्टो शङ्का गथ्र्यो । त्यतिखेर मेरो अनुहार जंगलमा झारिएको रुखको ठुटो जस्तै हुन्थ्यो । पश्चात्ताप र ग्लानिले मेरो दुवै नेत्र रसाउन थाल्थे ।
अहिले सोधेको प्रश्नको जबाफ हुन त जे भन्एि पनि हुन्थ्यो तर नभएको कुरा भन्न मन लागेन ।
“केही हैन छोरा ! सुबोध अंकललाई”
“किन दिनदिनै आउनुहुन्छ हामी कहाँ ?” नरुचाएर झै गरी उसले प्रश्न ग¥यो ।
“किन तिमीलाई मन पर्दैन र ? उहाँले तिमीहामी सबैलाई माया गर्नुहुन्छ ।”
उसको मुख र प्रश्नमा झल्केको अरुचिमा विश्वास दिलाउनुपर्छ भन्ने विचारले म पूर्वाग्रह पीडित थिएँ ।
“आमा ! सुबोध अंकल मन पर्दैन मलाई” छोराको कुरा सुनेर म झस्केँ । उसको भनाईमा नैराश्य बिम्बित हुन्थ्यो ।
“किन छोरा त्यस्तो भनेको ? उहाँ राम्रो अंकल हुनुहुन्छ, त्यसो नभन है छोरा !” सम्झाउदै भनेँ ।
“तपाई नहुँदा हामीलाई कस्तो हपार्नुहुन्छ गाली गर्नुहुन्छ, बुबाले जस्तो माया गर्नुहुन्न आमा ! अबदेखि सुबोध अंकललाई हामी कहाँ नआउनु भन्नुस् न ।” पिलपिलाउँदो र उपेक्षाको भावले छोराले आफ्नो बालसुलभ वास्तविकता पोख्यो ।
यो सत्यतालाई मैले बुझेर पनि बुझ पचाँउदै आईरहेकी थिए । छोराको भनाईले मेरो मन भने भित्र भित्रै चस्कन थाल्यो । मेरो मस्तिसकमा अतीतका कुरा खेल्न थाले ।
सुबोध म कहाँ बारम्बार आउनुहुन्थ्यो । आश्वासन दिनुहुन्थ्यो । माया दर्साउनुहुन्थ्यो तर पनि मैले अत्यन्त शुन्यता र रिक्तता अुभव गथ्र्ये । लोग्नेको अभाव महसुस गथ्र्ये । त्यो सिंगै घर मलाई सुरुङ जस्तै लाग्थ्यो । जिन्दगीमा धेरै कुरा हराए जस्तै थिए । यसरी मैले आफु र छोराछोरीलाई साहै्र असुरक्षित अवस्थामा पाएँ । मैले सुरक्षा चाहान्थ्ये ।
टेक्ने हाँगाको खोजिमा थिएँ म । मायाको निर्मल आकाश चाहान्थे म । लाग्थ्यो, संसारमा एउटा कोही त माया गर्ने पुरुष चाहिन्छ, जुन माया शारिरिक भन्दा मानसिक रुपमा ज्यादा होस् । यसैको चाहानाले च्यापेर अनायास म सुबोधलाई बढि माया र सम्मान गर्न थालेथे । उहाँ नै हुनुहुन्थ्यो मेरो दुःख र सुखमा साथ दिनुहुने र म कहाँ बराम्बार सहानुभूति देखाउन आउनुहुने ।
एक दिन सधैं मेरो व्यथा र पीडाले मुर्झाएको अनुहार देख्न सुबोधले सम्झाँदै भन्नु भएको थियो । ‘ममता ! तिमी किन पिर लिन्छौ ? हुने कुरा भैहाल्यो । मन बलियो बनाउनुपर्छ ।”
‘तिमी’ सम्बोधनले मलाई झन् नजिक पु¥याएको अनुभव मैले गरे । त्यसैलेत हामी निकै नजिक आईसकेका थियौँ एक आपसमा । मलाई उहाँले भित्रैदेखि चाहानुहुन्छ भन्ने पनि मैले अनुभव गरेकी थिएँ ।
“जिन्दगीमा पिरबाहेक सुख कहाँ पाउँछु र ! साहारा, सुरक्षा र माया गुमाईसकेकी एउटी स्वास्नीमान्छेको अनुहार कसरी उज्यालिन सक्छु र ? छोराछोरी सानै छन् । आफैँ सोच्नुस्, यत्रो लामो जिन्दगी लिएर म कसरी बाचूँ ? यो सोच्दा पट्यार लाग्छ” सुस्केरा हाल्दै मैले भनेँ ।
“ममता ! त्यसो भए तिमी के चाहान्छ्यौँ त ? के विचार छ तिम्रो ?”
“मेरो चाहनु नचाहनुमा फरकै के पर्छ र ? चाहेर पनि त सबै कहाँ पुग्छ र ? नचाहेर पनि के हुन्छ र ? हुन त मान्छेकै मन त हो चाहनाले बेरिहाल्छ । एउटा पवित्र माया, पवित्र सहारा र सुरक्षाको कल्पना हुन्छ तर सबै कल्पना आखिर पानीको फोका झैं पट्ट फुटेर बिलाउँछन् ।
लोग्नेको न्याय अँगालो नपाएको एक बर्षपछि सुबोधको न्यानो अँगालो पाउँदा मलाई रमाईलो त लाग्यो तर म अकमकिएँ । के गरु के गरुँ जस्तो भयो । अनजानमै भलभल निस्केको आँसुलाई सुबोधले आफ्ना हातले पुछिरहनुभयो । धेरै बेरसम्म उहाँको हात पन्छाईनँ ।
विश्वास र मायाले घेरेपछि उहाँलाई देवता मान्न थालेँ, उहाँको मायालाई अनपम उपहार सम्झेँ । प्रसन्नतापूर्वक हामीले एकअर्काको प्रेम स्विका¥यौँ । त्यो दिन मेरो लागि ढकमक्क भएर न्यानो घाम लाग्यो । नाङ्गिसकेका मियालका हाँगामा झकमक्क फुल्न लागे । मेरो चारैतर्फ कनकचम्पाको मिठो बास्नबाा फैलिन थाल्यो ।
हामी धेरैबेर कोठामा बस्यौँ । उहाँ फर्किनुभएपछि मन भित्र अनेक किसिमका विचार खेल्न थाले । के मैले कुबाटामा टेकेकी त छैनँ ? मैले राम्रो गरेँ त ? के निर्णय छिटो त भएन ? मेरो छोराछोरीको भविष्य के होला ? हिसाबै गर्ने हो भने मान्छेको सोचाईले त ब्राह्माण्डै ढाक्छ । सोच्दैमा त्यो हुनैपर्छ भन्ने त थिएन ।
उहाँले त्यसो गर्नसाथ मैले उहाँलाई झट्ट स्विकार्न किन पथ्र्यो र ? के म आफ्नो लागि आफैँले खाल्डो खनिरहेकी त छैनबाा ? आखिर सामाजिक प्रतिष्ठा पनि वैयक्ति मर्यादा र महत्त्वका लागि नभइनहुने पक्ष हो । त्यसैले यो समाज र परम्पराको समर्थनको सम्भावित प्रतिकारले मलाई झन् डर लाग्न थाल्यो । आखिर हाम्रो धार्मिक, सामाकि परम्पराले यही देख्न चाहान्छ कि विधवा स्वास्नी मान्छे संधै विधवाकै रुपमा रहेस् ।
यसरी मनभरि कहिले खुसीका डोब देखिन्छन् भने कहिले शंका, उपशंका र लाजका छाया अगाडिपछाडि तेर्छिन थाले । सोचेँ, भोलि समाजले भन्ने छ, यो आईमाई लोग्नेको सत्मा छैन् । लोग्नेलाई नर्कमा पारी । यसरी सोच्दासोच्दै ममा विद्रोह उठ्यो, किन यसरी डर मान्नु ? लोग्ने हुँदा हाम्रो जिन्दगी कति मनमोहक थियो । लोग्ने मेरा लागि सर्वस्व हुनुहुन्थ्यो ।
उहाँपछि आफ्नो र छोराछोरीका लागि सहारा र माया खोजेँ त के बिराएँ मैले ? परम्परा र बन्धनलाई तोडेर के अपराध गरेँ मैले ? समयको माग पनि यही हो । दुई दिनको जिन्दगीलाई किन मरुभूमि बनाउने ? नीरस जिन्दगीलाई रसाउन मायाको सङ्लो नदी चाहिन्छ । छहारीदार ओत चाहिन्छ । जिन्दगी हाँसो रोदन, दुःख पीडा, कथा व्यथाले भरिएको सामूहिक भेल हो । आपत् सुख र दुःख सबैलाईपर्छ । सबैले सबै कुरा भोग्नु नै पर्छ । पिरले तप तप चुहिएर बस्नुभन्दा खुसी खुसी भएर बाँच्नुपर्छ । यसरी सोच्दा मैले ठिक निर्णय गरे जस्तो लाग्यो ।
त्यसपछि सुबोध म कहाँ दिनदिनै आउन थाल्नुभयो । अग्लो, गोरो, स्मार्ट, ख्यालठट्टा गर्नुपर्ने सुबोधको स्वभाव थियो । मेरो लोग्नेमा पनि त्यस्तै व्यक्तिव थियो तर धेरै चुरोट खाने एउटा बानी सुबोधको मन पर्दैनथ्यो तापनि भन्ने साहस भने गर्दिनथेँ । त्यसै त मेरो स्वभाव गम्भीर थियो, त्यसमा पनि आफ्ना चुरा फुटेपछि त म मूक नै जस्तै बनेँ ।
एक दिन उहाँको सास निकै गह्नायो र अनायास अनुहार अनुनय स्वरमा भनेँ, “चुरोटको गन्ध मलाई पटक्कै मन पर्दैन । तपाई बढी नै चुरोट पिउनुहुन्छ । स्वास्थ्यका लागि पनि राम्रो हैन । छोड्न सकिन्छ र ?”
“किन ममता ? किन नसक्नु ? मन बलियो हुनुपर्छ । गर्छु भन्ने प्रण गर्नुपर्छ । आफुलाई नियन्त्रण गर्नुपर्छ । म भोलि नै त भन्न सक्दिनँ । केही दिनमै छोडेर देखाइखिन्छु ।”
नभन्दै त्यस्तै भयो । मलाई असाध्यै खुसी लाग्यो । मैले सोचेँ, चुरोटको कुआदत उहाँले मेरा लागि छोड्नुभयो । उहाँलाई पनि मेरो मन नपर्ने बानी रहेछ । एक दिन उहाँले भन्नुभयो, “ममता ! अब तिमीलाई सेतो र पहेँलो साडी त्यति सुहाउँदैन । गुलाफी रङको साडी तिमीलाई कत्ति आर्कषक हुँदो हो हगि ?”
त्यस दिनदेखि रातो रङको नभए पनि अरु कलेजी, बैजनी, प्यासी रङको साडी लगाउन थालेँ । यसरी हामी एकअर्काको इच्छाअनुरुप बग्यौँ । कहिलेकाहीँ लाग्थ्यो, सुबोध दिनहुँ नआएर दुईतीन दिन बिराएर आउनुभए राम्रो हुन्थ्यो तर यस्तो सोच्दा सोच्दै पनि उहाँ नआउनुहोला भन्ने डर र शङ्काले सताउँथ्यो ।
एक दिन सुबोधलाई खुब मन पर्ने आलुको अचार र काजु, किसमिस मिसाएको सुजीको हलुवा बनाएर दिएँ । हुन त सधैं केही नखुवाईकन पठाउन्नथेँ । सुबोधले निकै मिठो मानी खानुभयो । यसरी मेरो हातले बनाएको खानेकुरा मिठोसँग खानुहुँदा मलाई झन् खुसी लाग्यो ।
“हलुवा साह्रै मिठो बनाइछ्यौ, पुगेन । बाँकी छ भने अलिकति थपिदेऊ न ममता !” सुबोधले रिकापी बढाउँदै भन्नुभयो ।
थोरै हलुवा विद्यालयबाट फर्केपछि खाजाका रुपमा छोराछोरीलाई राखिखिएकी थिएँ । जीवनमा छोराछोरीलाई नछुट्याईकन मैले कहिल्यै केही खाएकी थिइनँ । म अकमकाँए । हलुवा थोरै थियो सुजी थिएन ।
‘छोराछोरीका लागि मात्र छ । अरु खाने कुरा बनाइदिऊँ, के खानुहुन्छ ?”
‘बच्चाहरुलाई अरु दिए हुन्छ नि । यही देऊ न मलाई ।” झर्केर भन्नुभयो ।
सुबोधको कुरा मलाई साह्रै तितो भयो । उहाँबाट यस्तो कुरा सुन्नुपर्ला भन्ने किञ्चित् शङ्का थिएन । छोराछोरीका लागि पहिले भाग छुट्याएर मात्र मेरो पतिले खाने कुरा खानुभएको झल्याँस्स सम्झन पुगेँ । यहाँसम्म कि मेरो पतिले छोराछारीका लागि बरु खान्नुहुन्नथ्यो ।
यसरी मलाई मिठोचोखो बनाउँदा बच्चाहरुले खान पाएनन् भने दिनभरि घाम नलागे जस्तै हुन्थ्यो । बाध्यतावश एक्लै मिठो खानुपर्दा छोराछोरीलाई सम्झेर निल्न गाह्रो हुन्थ्यो तर सुबोधको कुरा काट्न सकिनँ, मन दुखाउन चाहिनँ । छोराछोरी विद्यालयबाट आइपुग्ने वेला भइसकेको थियो । छोरोछोरीलाई अरु खाने कुरा बनाउन भान्सातिर लागेँ, सुबोधले हलुवा खाँदै हुनुहुन्थ्यो ।
“ममता ! यहाँ आऊ न ।”
म उहाँको नजिकै गएँ ।
“एउटा कुरा सोधूँ ?” सुबोधले प्रश्न गर्नुभयो ।
“के कुरा हो र त्यस्तो ?”
‘जेहोस् नढाँटेर भन्छ्यौ ?’
“भन्नुस् न त ! किन ढाँट्ने ?”
“तिमीलाई सबभन्दा बढी कसको माया लाग्छ ?”
सुबोधको अप्रत्याशित प्रश्नले म केही बोल्न सकिनँ, के भनूँ के भनूँ भएँ । झ्वाट्ट शब्द छुट्यो, “संसारमा सबभन्दा बढी माया त मान्छेले आफैँलाई गर्छ होईन र ?”
“त्यो त सबैले बुझेको र जानेको कुरा हो । त्यसपछि अझ कसको ? ‘तपाईको, छोराछोरीको….”
स्वाभाविक रुपमा मैले जवाफ दिएँ ।
“म त चाहन्छु, तिमी तिम्रा छोराछोरीलाई भन्दा पनि मलाई बढ्ता गर ।” सुबोधको कुरा सुनेर एक छिन त चित्त दुख्यो ।
“छोराछोरीको माया, लाग्नेको माया, अरुको माया छुट्टाछुट्टै हुन् । मायाको आफ्नै बिशेषता छ । तपाईलाई माया मात्र हैन देवताका रुपमा स्विकारेकी छु तर छोराछोरीको माया पनि असाद्धे लाग्छ ।”
फुङ्ग उडेको मुख बनाउनुभयो सुबोधले । सुबोधको कुरा मन नपरे पनि व्यक्त गर्न सक्ने किम्मत ममा थिएन । एकैछिनपछि छोराछोरी “आमा ! आमा !” भन्दै आईपुगे ।
“खाने कुरा दिनुस् आमा ! भोक लाग्यो ।” दुवै छोराछोरी मलाई समात्दै चिच्याउन थाले । मन भारी भयो । सम्झेँ, छोराछोरीले हलुवा खान नपाएनन् ।
“बच्चाले डिस्टर्ब गरेको मन पर्दैन । पैसा दिएर बाहिर खान जाऊ भन ।” सुबोधले झिजो मानेको स्वरमा भन्नुभयो ।
भान्सामा गएर अरु खानेकुरा बनाईदिने इच्छा थियो । म केही बोल्न सकिनँ । मुटु ढ्याङढ्याङ बज्न थाल्यो । अशान्तको प्रवाह बग्न थाल्यो । अत्यन्त कठिनाईसँग बच्चालाई पर्सबाट पैसा झिकेर “बाहिर खान जाऊ” भनेँ । लाग्यो, छोराछोरी मन नपराई बाहिर खान गइरहेछन् । उनीहरुको अनुहारमा खिन्नता थियो ।
उनीहरुलाई पनि घरकै मिठो खानेकुरा खाने इच्छा थियो होला, पैसा दिएकामा उनीहरु खुसी थिएएन् । छोराले सम्झ्यो होला, आमाले खानेकुरा बनाईदिनुभएन । सोचेँ, के छोराछोरीको मन दुखाउनु राम्रो हो त ? सुबोधको करा पनि काट्न सक्दिनथेँ । यो कारण कि उहाँ पराई भइदिनुहोला, मदेखि टाढा जानुहोला । सुबोधमा उदात्त भावना खोजेकी थिएँ, पावन पक्ष खोजेकी थिएँ ।
सम्झेँ, छोराछोरी आउँदा मेरो लोग्नेले दायाँ र बायाँ राखेर कतिपल्ट म्वाइँ खानुहुन्थ्यो, कतिपल्ट ‘मेरो छोराछोरी’ भन्दै मुसार्नुहुन्थ्यो । खै, आज सुबोधले मेरो छोराछोरीलाई म्वाइँ खानुभएको ? खै माया गर्नु भएको ? यस्तो मैलृे चाहनथ्ये कि मेरा छोराछोरीलाई मेरो लोग्नेले झैँ माया गरोस् तर यी मेरा सोचाइ आकाशमा बादल हराए जस्तै हराउँदै गए । यसरी जीवनका धेरै मोडमा सुबोधसँग बहाना गर्नुप¥यो, हाँस्न मन नलाग्दा पनि हाँस्नुप¥यो । चोटलाई पनि खपिदिनुप¥यो ।
छुट्टीको दिन म छोराछोरीसँग रमाउँदै बसेकी थिएँ । थाहा थियो उहाँ छिट्टै आउनुहुन्छ भन्ने । उहाँ एकैछिनपछि आईपुग्नुभयो । उहाँले मेरो पर्स खोल्नुभयो । छोराछोरीलाई पैसा दिदैँ भन्नुभयो, “तिमीहरु सबै बाहिर खेल्न जाऊ” कति हतारोसँग मेरा दुवै छोराछोरीलाई लखेट्नुभयो । यसरी उहाँले सबै कुरामा अधिकार जमाइसक्नुभएको थियो ।
छोरोछोरी पहिले त मानेनन् । सुबोधले आँखा तर्नुभएपछि दुवै छोराछोरी लुरुलुरु बाहिर गए तर छोराको अनुहारमा रिस उम्रिरहेको थियो जो मैले नबुझेको होईन । एक किसिमको डर तुरुन्तै म भित्र जन्मिहाल्यो कि छोरो मसँग रिसाउला अथवा सबै कुरा थाहा पाए मलाई घृणा गर्ला । छोरोछोरीलाई टाढा राख्न सक्दिनथेँ । एकै छिन नदेख्दा पनि मन खल्लो भइरहन्थ्यो ।
त्यो दिन कपाल दुखिरहेन्थ्यो । जिउ भारी भइरहेथ्यो । मन चटक्चटक् भइरहेथ्यो । मलाई बोल्न मन लागेको थिएन ।
“ढोका लगाइदेऊ ममता ! सुबोधको आदेश थियो । ‘छोराछोरी आइपुग्छन् । आज सन्चो पनि छैन् ।’ मैले भनेँ ।
धेरै बहाना नगर । आजकाल तिमी निर्जीव जस्तै लाग्छ ।” मुख विगारेर भन्नुभयो सुबोधले ।
“कति सजीव भइराख्ने त ? जिउको पनि ख्याल गर्नुपर्छ, समयको पनि ध्यान दिनुपर्छ ।”
“अरु कुरा थाहा छैन । खुरुक्क ढोका लगाएर यहाँ आउ ।” उहाँको कडा निर्देशन मान्नै प¥यो । मैले कोठाको ढोका लगाएँ ।
एक्कैछिनपछि छोराछोरी “आमा ! आमा !” भन्दै आइपुगे । ढोका खोल्नुप¥यो । सुबिध रिसले मुर्मुरिनुभयो, “बोर्डिङमा राखिदेऊ भन्दा मान्दिनौँ । मलाई त वाक्क लागिसक्यो ।” भन्दै बाहिर निस्कनुभयो ।
कति मन दुख्ने कुरा गर्नुभएको सुबोधले, मनमनै सोचेँ । त्यो दिन सुबोध फर्केर आउनुभएन । नमिठोसँग अनेक तर्कवितर्कमा रात काटेँ । भोलिपल्ट दश बजेतिर सुबोध आइपुग्नुभयो उही रोबिलो र ठाँटिलो पारामा । मन फेरी प्रफुल्लित भयो ।
“आज सिनेमाको कार्यक्रम राखेको छु । तयार होऊ । बच्चाहरुलाई घरमा छोडे ।”
“होईन, हामी घर बस्दैनौँ । हामी पनि सिनेमा हेर्न जाने ।” ठुलो छोरा चिच्यायो ।
“हुँदैन । तिमीहरु घरमै बस्नुपर्छ” सुबोधको चर्को स्वर थियो ।
धेरै दिन भएको थियो छोराछोरीलाई कतै घुमाउन नलगेको । मन थियो छोराछारीलाई पनि लैजाऊँ । मेरो लाग्ने भएको भए छोराछोरीलाई सिँगारपटार गरिदिनुहुन्थ्यो । कति रमाउँदै हात समातेर लैजानुहुन्थ्यो । कहिल्यै छोराछोरीलाई हप्काएको थाहा थिएन । मैले हप्काउँदा, पिट्दा मलाई नै गाली गर्नुहुन्थ्यो । सुबोधको चर्को स्वरले मेरो लोग्नेको छोराछोरीप्रतिको माया सम्झेँ । केही भन्ने आँट भएन । बल्लतल्ल छोराछोरीलाई बिस्कुट, चकलेट र खेलौनबाा ल्याइदिन्छु भनेर सम्झाएँ । पैसा दिएँ । छोराछोरी रोइरहे… ।
तयार भएर सिनेमा हेर्न गयौँ तर कुनै रमाइलो अनुभव गर्न सकिनँ । के हेरेँ थाहा भएन । सिनेमा कसरी सुरु भयो र कसरी समाप्त भयो मेरो दिमागले केही बुझेन । दुबै छोराछोरी रोएको दृश्य झलझली आँखाको नानी भित्र नाचिरह्यो । कहिले जाउँ जस्तो भयो । छोराछोरीप्रति असाद्धे माया र ममता जागेर आयो । सुबोधको जिस्क्याइ र चिमोट्याइँले ममा केही मिठो असर गरेन । एउटा काँडाले घोचे जस्तै अनुभव गरेँ । कहिले काही हाँस हुँला, बोले हुँला तर सबै बहानै थियो ।
फर्केर आउँदा बजारमा छोराछोरीलाई बिस्कुट, चकलेट, खेलौनबाा किनिदिएँ ।
‘कति छोराछोरी ख्याल गर्नु पर्छ तिमीलाई हँ ?’ सुबोधले खिसी गर्दै भन्नुभयो ।
“त्यही छोराछोरीको लागि बाँचेकी छु त के गर्ने ? मैले नगरे कसले गर्छ ?”
“ए तिमी मेरा लागि बाँचेकी होइनौँ ?” सुबोधको प्रश्नले मलाई फेरी ढुङ्गाले हिर्कायो । “होइन, तपाईका लागि पनि त बाँचेकी छु नि ! तर छोराछोरीका लागि पनि हो ।”
मेरो कुरा सुनेर सुबोधको मुख अँध्यारो भयो । लाग्यो, कस्तो सङ्कीर्ण विचार सुबोधको, किन सुबोधले आफ्नो माया र विचारलाई फराकिलो पार्न सक्नुहुन्न ?
घर फर्कदा छोराछोरीलाइ रुदैँ बसेका थिए, मन चरचर्ती चिरियो । सुबोधले मेरो बिरामीमाथि पनि वास्ता गर्नुहुन्नथ्यो । सधैँ मलाई कापर्न, लुछ्न र चाट्न चाहानुहुन्थ्यो । यति वेला मलाई भयङ्कर द्धन्द्धले च्याप्थ्यो । यस्तो वेला बढ्ता माया मानसिक होस् भन्ने चाहान्थ्ये । चाहे जस्तो कहाँ हुनु ?
एक दिन मेरी सानी छोरी बाहिर खेल्न निस्केकी नौ बज्दा पनि घर फर्दिनँ । त्यति वेला सुबोध घरमैँ हुनुहुन्थ्यो । मैले रुँदै छोरीलाई खोज्न सुबोधसँग अनुरोध गरेँ । छोरीलाई लिएर म झट्टै निस्किहालेँ । अरु चिनेका दाइ, भाइहश्रलाई पनि सुनाएँ । कति ठाँउमा खोज्दा पनि छोरीलाई पाउन सकिनँ ।
पसिनाले बेसरी भिँजेर घर फकेँ । हातखुट्टा लल्याकलुलुक भइसकेका थिए । मुटुको धट्कन जोडसँग बजिरहेथ्यो । घर फर्कदा सुबोध पलङ्मा किताब पढिराख्नुभएको थियो । मन साह्रै विक्षिप्त भयो ।
“किन पसिनै पसिनबाा भएर खोज्न गएकी ? पाएपछि रेडियोबाट खबर दिहाल्छ नि !”
सुबोधको वेवास्ताको र लापर्बाहीको कुरा सुनेर मलाइ अचानमामा राखेर खुकुरीले ट्क्राए जूस्तै लाग्यो । अत्यन्त सङ्कटमय वातावरण देखँे । काँडैकाँडाको झङमा फालिदिए जस्तो लाग्यो शरिरभरी नीलकाँडा उम्रे जस्तै लाग्यो । अब प्रश्न गर्नु, जबाफ दिनु अनर्थ सम्झेँ ।
बाघलाई गाइ समझेर कहाँ हुन्छ र ? सम्झेँ आजसम्म मैले गाईलाई होईन बाघलाई माया गरिरहेछु । विश्वास र आशा गरिरहेछु । जीवनलाई सम्पूर्ण रुपमा उहाँलाई समर्पण गरेकी थिएँ । तर सबै लतरपतर भए । मेरो सम्पुर्ण भावना उदास उदास पोखरीमा फ्याँकिए । म रुदैँ थिए तर त्यो आँसु मैले सुबोधलाई देखाइनँ । सुबोधलाई केही भनिनँ ।
एकै छिनपछि एक जना भाइ दगुर्दै आयो मकहाँ ।
“दिदी ! चन्द्रमा अस्पतालमा छिन् । मोटरसाइकले धक्का दिएछ ।”
चन्द्रमा मेरी छोरी । भाइको कुराले म बेहास भएछुँ । कति वेला होसमा आएँ थाहा भएन । उठ्दा सुबोधको काखमा थिएँ । भाइले मेरो कपालमा पानी राख्दै थियो ।
“दिदी ! चन्द्रमा बहिनीलाई खास चोट लागेको छैन् । होसमै छिन् । नआत्तिनुस् । अस्पतालमा हिँड्नुस् ।” त्यो भाइको ट्याक्सीमा बसेर अस्पतालमा आउन थालेँ । आउने वेलामा सुबोधले भन्नुभयो,“मलाई साह्रै पेट दुखेको छ । चन्द्रमालाई धेरै चोट लागेको रहेनछ । सँगै ल्याऊ” वास्तवमा सुबोध मसँगै जानुपथ्र्यो ।
अस्पतालमा बिछ्यौनामा छोरीलाई देख्दा भक्कानो फुटेर आयो । छोरीलाई च्यापेर रुन थालेँ । दाहिने हात भाँच्चिएको प्लास्टर लगाइसकेको थियो । अरु खास चोट नभएकाले छोरीलाई त्यही दिन घर ल्याएँ ।
सुबोध पलङमै सुतिराख्नुभएको थियो । रिस उम्लँदा उम्लँदा मुखभरी आइसकेको थियो । यस्तो लाग्यो, धरतीभिधबाट ज्वालामुखी फुटेर लाभा निस्कँदैछ । एउटा मृतविश्वास, आस्था र रिसको ज्वाला फ्याँकेँ सुबोधमाथि । उहाँको मुख हेर्न मन लागेन जुन मुखलाई लोभि भएर हेर्ने गर्थेँ । यो मेरो पहिलो रिस थियो उहाँमाथि । घृणैघृणाको पर्खाल उभिदियो अगाडी । सद्भावको पुल भत्किदियो । सोँचे, मेरी छोरी हराउँदा पनि सुबोधलाई चित्त दुखेन, अझ योभन्दा बढ्ता एक्सिडेन्ट भयो भन्ने सुन्दा पनि उहाँले पेट दुखेको बहाना गर्नुभयो ।
अस्पतालसम्म जानुभएन । आफ्नो रगतमाथि श्रद्धा, माया र करुणाको बदला घृणा राख्ने सबोधसँग मैले किन सम्बन्ध राख्ने ? सम्बन्ध राख्नु पनि अपराध सम्झन थालेँ किनभने मेरो छोराछोरी मेरा लागि चन्द्र र सुर्य हुन् । सुबोधलाई जसरी मैले माया गरेँ, जुन विश्वास र आस्था राखेँ तर कहिले पनि मेरा छोराछोरीलाई मायाले बोलाउनुभएको सुनिनँ । छोराछोरीमाथि उहाँको ईष्र्या थियो, जलन थियो । कत्रो दुर्भाग्य थियो मेरा लागि, मेरा छोराछोरीका लागि सुबोधसँग सम्बन्ध राख्नु मेरो आफ्नै स्वार्थ नभई छोराछोरीको स्वार्थ पनि गाँसिएको थियो ।
क्रोध मभित्र बढ्दै गयो । सुबोधको उपस्थिति अब मेरो लागि असन्तोषको रुप बन्यो । छोरीको दुर्घटनापछि मेरो मौनता व्याप्त हुँदै थियो । मेरा उल्लास र उमाङ्ग हराउँदै थियो । अब कुनै पनि कुरा मनमा नराखेर व्यक्त गर्ने बाटो खोज्दै थिएँ ।
एक दिन सुबोधले मेरो हात समात्दै भन्नुभयो,“ममता ! मलाइ थाहा छ तिमी निकै परिवर्तन भइरहेछ्याँ । यसको कारण के हो ?” मेरो अन्तरआत्माको आसन्तोयाको कोचिएको पोको लागि पोख्ने ठिक ठाउँ थियो यो । मेरो वेदनाले पाकेको घाउ फुटिसकेको थियो । सत्य न्यायका लागि कठिन जीवन सुरु भए पनि कोही छैन् । सुबोध मेरो जीवनरुखमा जोडिएको मसिनो हाँगा हो भने छोराछोरी मेरो जीवनरुखका जरा, हाँगाबिँगा, फल सबै हुन् । छोराछोरीलाई लत्याएर सुबोधलाई सकारुँ यो मेरो जीवनको भयङ्कर भुल र अपराध हुने छ । त्यो भुल र अपराधलाई कसैले क्षमा गर्ने छैन् । सुबोधलाई लत्याएर छोराछोरीलाई च्याँपूँ यो मेरो त्याग र धर्म हुने छ । स्वार्थ हुने छैन ।
“किन जबाफ नदिएकी हँ ?” सुबोधको प्रश्नले झस्केँ र भन्ने आँट गरेँ ।‘आज म तपाइसँग अन्तिम फैसला गर्दै छु जुन कुरा गर्छु भन्ने सपनामा पनि सोचेकी थिइनँ न त तपाईले नै सोच्नुभएको थियो । अब मनमा गुम्स्याएर राख्नु उचित छैन् । जुन विश्वास र आशा लिएर तपाइको सहारा खोजेँ त्यो सबै मृगतृष्णा रहेछ । अहिले थाहा पाएँ म कुवामा सडिरहेछु । गल्तीमा फ्याँकिइरहेछु । मेरा कमजोरीका पर्खालले मेरो शब्दलाई थिचिदिएका थिए ।
आज ती सबै पर्खाललाई भताभुङ्ग पारिदिएँ । बहानाको जिन्दगी लिएर बाँच्न चाहन्नँ । तपाईको चित्त नदुखाउन धेरै यत्न गरेँ तपाईले मेरो चित्त दुखाउन छोड्नुभएन । मेरो छोराछोरीप्रतिको तपाइको व्यवहार कति रुखो थियो, कति उपेक्षापूर्ण थियो जसलाई सहन मलाई साह्रै गारो भयो ।
तपाईप्रतिको मेरो विश्वास पतझरको पहेँला पत्ता झैँ मेरो जीवनबाट झरिसकेको छ । हुन त एउटा सानदार र प्रेमपूर्ण जीवन तपाईसँग बिताउन निकै कोसिस गरेँ तर सबै तासको महल झैँ ढलिदियो । यो न सम्झनुस् कि सम्पूर्ण रुपमा मैले तपाईलाई नै दोष दिँदैछु । तपाईलाई यस्तो वातावारण तयार पारिदिने हाम्रो समाजका खराब रितिरिवाज पनि दोषी छन् ।
हुन त तिनीहरुलाई हामी बदल्न सक्थ्यौँ हामीले राम्रो कोसिस गरेको भए तर तपाईले मलाई सघाउनुभएन । तपाईको हस्ताक्षेप र अधिकारभित्र बाँच्न चाहन्नँ । दुईटा छोराछोरीलाई आफ्नो जीवन आधार मानेर बाँच्ने छु । मेरो छोराछोरीको माया नै ठुलो हो र सम्पर्ण छ । मलाई कसैको सहारा अब जरुरत छैन । मलाई छोडिदिनुस् । मलाई मुक्ति दिनुस् ।” भाववेशमा अविरल आँसु खसाल्दै मैले सबै कुरा पोखेँ ।
‘त्यसो भए हाम्रो नाटकीय जीवन तिमीले खतम गर्दै छौ, होईन !’ रिसले आँखा रातो पार्दै सुबोधले भन्नुभयो ।
“आखिर जीवन नै नाटक हो । संसार नै रङ्गमञ्च हो ।”
“म तिम्रो जीवन बरबाद गरिदिन्छु । बदनाम गरिदिन्छु ।” आक्रोशपूर्ण धम्कीको स्वर थियो ।
“मलाई कुनै पर्वाह छैन । सबै कुरा सहने छु ।” शान्तधावले जवाफ दिएँ ।
सुबोध एक्कासी जुरुक्क उठ्नुभयो । मलाई गढेर आँखा तर्नुभयो तीर जस्तै बनाएर सुइँसुइँती जानुभयो । केही बोल्नुभएन । राती भइसकेको थियो । मुटुको स्पन्दन शान्त भयो । विजयोल्लासको वातावरण चारैतर्फ फैलियो । छोराछोरी पलङमा सुतिसकेका थिए । यस्तो अनुभव गरँे कि एउटा कालो पोलिन असत्यमाथि सत्यको चिसो पानी खयाए जस्तो लाग्यो । धेरै समयदेखि पाकेको पिला घाउ फुटेर सन्चो भए जस्तै ठाँने । घाँटीमा बसौँ झुन्डिएको ढुङ्गा खसेर हलुङ्गो भएको सम्झेँ । सुबोध अब कहिले पनि मेरो घर नआइदेओस् ।
(यो कथा कक्षा १२ को नेपाली किताबबाट साभार गरिएको हो )
















































। १८ मंसिर २०७८, शनिबार