
काठमाडौं । नेकपा एमालेको बन्दसत्रमा प्रस्तुत गर्न अध्यक्ष केपी शर्मा ओली अन्तिम नामावली तयार गर्न थालेका छन् ।
छलफलका लागि बोलाउँदा उपाध्यक्ष भीम रावल नआएपछि ओलीले अन्तिम सूची बनाउन लागेका हुन् ।
ओलीसँग पार्क सफारी रिसोर्टमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीप ज्ञवाली र महेश बस्नेतलगायत उनीनिकट नेताहरू छन् ।
नामावलीमा सहमति हुन नसक्दा बिहान १० बजे सुरु हुने भनिएको बन्दसत्र दिउँसो ४ बजेसम्म सुरु भएको छैन ।
ओली बिहानदेखि निरन्तर छलफलमा छन्। तर, अहिलेसम्म ओली निकटस्थ नेताहरूसँगै सहमति बन्न सकेको छैन ।
बैठकस्थलबाट रिसेप्सनमा झरेर नेता पौडेलले नामावली प्रिन्ट गरेर लगेका छन्। तर, उनले कुनै प्रतिक्रिया दिएनन् ।
यस्तै, सचिव पृथ्वी गुरुङले आफ्नो सचिव पद अन्त नजाने बताउँदै त्यो भन्दामाथि भन्न नसक्ने बताए । उनले आफू दुःखमा पनि हाँस्ने मान्छे भएको बताए ।
सहमतिमै सबै कुरा टुङ्गिने उनको दाबी छ । बन्दसत्र अघि केही कुरा खुलाउन नमिल्ने भन्दै ९० प्रतिशत सहमति भइसकेको उनले बताए ।
अध्यक्ष ओलीले ल्याएको नामलाई सबैले मान्ने दाबी गुरुङले गरे। अब एक घन्टामा बन्दसत्र सुरु हुने उनको भनाइ छ ।
पूर्वमाओवादी नेता, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, सुवास नेम्वाङ, शेरधन राई, ईश्वर पोखरेल र प्रदेश २ को नेताहरूले ओलीसँग छलफल गरिसकेका छन् ।
अध्यक्षमा उम्मेदवार दिने अडानबाट फिर्ता नलिएका उपाध्यक्ष रावल बन्दसत्र स्थल सेभेन स्टार गएका छन् ।
यता, ओलीनिकट नेताहरू पोखरेल र नेम्वाङले वरिष्ठ उपाध्यक्षको अडान छाडेका छैनन्। महासचिवमा विष्णु पौडेल र शंकर पोखरेलले दावी गरिरहेका छन् ।
















































। १२ मंसिर २०७८, आईतवार