९ मंसिर २०७८, बिहीबार

डेढ महिनाभित्र ६० लाख डोज कोरोना खोप आउँदै


अबको डेढ महिनाभित्र नेपालमा तीन कम्पनीका झन्डै ६० लाख डोज खोप नेपाल आइपुग्ने भएको छ । सो परिमाणमा भेरोसेल, फाइजर र कोभिडसिल्ड खोप आउन लागेको स्वास्थ्य सेवा विभाग आपूर्ति महाशाखाका प्रमुख उपेन्द्र ढुंगानाले जानकारी दिए ।

नेपालले भारतको सेरम इन्स्टिच्युट अफ इन्डियाबाट कोभ्याक्स सुविधाअन्तर्गत खरिद गरी ल्याउने ६० लाख डोज खोपमध्ये यही नोभेम्बरभित्र करिब १५ लाख र बाँकी चरणबद्ध रूपमा आइपुग्ने उनको भनाइ छ ।

चीनबाट पनि ६० लाख डोज खरिद सम्झौता भइसकेकोमा बाँकी रहेको २३ लाख डोज १५ दिनभित्र नेपाल आइपुग्ने आपूर्ति महाशाखाले सिनोफार्म कम्पनीसँग माग गरेको जनाइएको छ ।

फाइजरको खोप भने डिसेम्बरभित्र आइपुग्नेछ। फाइजर पनि २० लाख डोजको दरले आपूर्ति हुने महाशाखाको भनाइ छ । फाइजर भने नेपाल सरकारको खरिद प्रक्रियाबाट आउने भएको हो ।

तीन कम्पनीबाट ६० लाख डोज खोप आएसँगै नेपालमा खोप अभियान कम उमेरका जनसंख्याका व्यापक रूपमा सुरु गरिने ढुंगानाले बताए । ‘तीनवटै कम्पनीका खोप आइसकेपछि खोप नलगाउनेलाई घरघरमै पुगेर खोप दिनुपर्ने हुन्छ,’ उनले भने । नेपालमा हालसम्म सबै कम्पनीको गरी २ करोड ५४ लाख ७ हजार ६ सय ३० डोज खोप आइसकेको छ ।

ती खोपमध्ये जोनसन एन्ड जोनसन एक डोज मात्र लगाए पुग्छ भने अन्य खोप दुई डोज लगाउनुपर्छ । यो हिसाबले नेपालमा हालसम्म ९१ लाख २० हजार जनसंख्याले पहिलो मात्रा मात्र खोप लिएका छन् भने ७९ लाख ६ हजार ३ सय ३९ जनाले पूर्ण खोप लगाइसकेका छन् ।