
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले घरजग्गा किनबेच गर्ने व्यवसायी संघ संगठनले कारोबार गरेको तथ्याङ्क सही राख्नुपर्ने बताएका छन् ।
नेपाल राष्ट्र बैंकले शुक्रबार काठमाडौंमा आयोजना गरेको घरजग्गा मूल्य सर्वेक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले घरजग्गा कारोबारलाई व्यवस्थित र तथ्याङ्क सर्वेक्षण गर्न सहज हुने भन्दै यस्तो आग्रह गरेका हुन् ।
गभर्नर अधिकारीले बैंक, मालपोत र घरजग्गा व्यवसायी संघले गरेको कारोबारको वास्तविक तथ्याङ्क राख्दा घरजग्गा कारोबारमा अहिले भइरहेको असमान मूल्यमा समानता ल्याउन सहयोग पुग्ने बताए ।
करिब दुई वर्षको मेहनतपछि पहिलोपटक घरजग्गाको मूल्य मापन गर्ने सूचकांक तयार भएको उनले बताए। अहिले केही तथ्य फरक भए पनि आगामी तीन–तीन महिनामा सार्वजनिक हुने तथ्याङ्कमा सुधार गर्दै लैजाने जानकारी दिए ।
राष्ट्र बैंकले घरजग्गा मूल्य सूचकांक तयार पार्नका लागि देशव्यापी सर्वेक्षण गरेको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए । श्रेष्ठले घरजग्गा मूल्य सूचकाङ्क तयार गर्दा प्रत्येक प्रदेशको नमुनामा परेका २० वटा जिल्लाका २० स्थानलाई तथ्याङ्क स्रोत केन्द्रको रूपमा छनोट गरी प्रतिवेदन तयार पारिएको जानकारी दिए ।
अब राष्ट्र बैंकले त्रैमासिक रूपमा घरजग्गाको मूल्य सूचकांक सार्वजनिक गर्ने समेत उनले बताए। राष्ट्र बैंकले गरेको सर्वेक्षण प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७६।७७ मा वाणिज्य बैंकहरूबाट प्राप्त तथ्याङ्कको आधारमा वार्षिक औसत घरजग्गा मुद्रास्फीति २६.४५ प्रतिशत छ ।
मालपोत कार्यालयबाट प्राप्त तथ्याङ्कको मुद्रास्फीति १९.७३ प्रतिशत छ। त्यस्तै, आर्थिक वर्ष २०७७।७८ को पहिलो नौ महिनामा औसत घरजग्गा मुद्रास्फीति १६.३१ र १२.५७ प्रतिशत रहेको छ । प्रतिवेदनमा घरजग्गा रजिस्ट्रेशनको कुल कारोबार संख्याको आधारमा जग्गाको भार अंक ७६.६७ प्रतिशत र घरजग्गाको भार अंक २३.३३ प्रतिशत छ ।
सात प्रदेशमध्ये सबैभन्दा धेरै वागमती प्रदेशमा घरजग्गाको भार २९.२२ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ३.६३ प्रतिशत रहेको छ । वागमतीपछि प्रदेश नम्बर १ मा २७.१३ प्रतिशत, लुम्बिनी प्रदेशमा १७.४२ प्रतिशत, प्रदेश नं.२ मा १२.०४ प्रतिशत ,गण्डकीमा ६.८१ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ३.७५ प्रतिशत रहेको छ ।
















































। ३ मंसिर २०७८, शुक्रबार