उत्खनन् नहुँदा दर्जन बढी खानी अलपत्र


खलंगा । बीस बर्ष पहिला सम्म निकै चर्चामा रहेको बारेकोटको फलाम खानी यतिबेला ओझेलमा परेको छ । बारेकोट गाउँपालिका–१ थर्पु, बाहुनखोला, बारेकोट–५ सिलिङ्गिको साउबारीमा रहेका फलाम खानीहरु अहिले उपयोग बिहिन भएका छन् । पहिले बारेकोटमै उत्खनन्, प्रशोधन गर्नुको साथै ओदान, तवा, सनासा, चिम्टा, कुटो, कोदाली, फरुवा, फाली, हसियाँ, बन्चरा लगाएतका कृषि औजारहरु बनाईने बारेकोटी फलामको अहिले नाम सुन्न पनि मुस्किल हुन थालेको छ ।

बीस बर्ष पहिलासम्म जाजरकोट र जुम्ला जिल्लाका अधिकांश गाउँहरुमा विभिन्न कृषि औजारका रुपमा प्रयोग गरिने बारेकोटी फलाम अहिले कहाँ पाइन्छ भन्ने सम्म भईसकेको छ । यस्तै, जिल्लाको पश्चिम क्षेत्रमा रहेको बहुमूल्य काइनाइट, टुर्मालिन पत्थरको खानी छ तर उत्खनन्को कुनै सुरसार भने छैैन ।

चोरी निकासी मात्रै हुन्छ
जिल्लाको पश्चिमी क्षेत्रमा पाइने नौ प्रकारका पत्थर स्थानीय तस्करको मिलेमतोमा चोरी निकासी हुने गरेको छ । कुशे गाउँपालिकाको टालेगाउँ, अछार्नी, छेडागाड नगरपालिकाको पजारु, र जुनीचाँदे गाउँपालिकाको दह लगायतका आधा दर्जन ठाउँमा पत्थर खानी रहेका छन् । खानी सञ्चालनमा सम्बन्धित निकायले वास्ता नगर्दा वर्सेनि करोडौं मूल्यको पत्थर चोरी निकासी हुने गरेको छ । अर्छानी, टालेगाउँ, पजारु, पैंक, दह, कोर्ताङ, गर्खाकोट लगायत गाउँबाट विभिन्न स्थानमा पाइने उक्त बहुमूल्य पत्थरको पटकपटक चोरी निकासी हुने गरेको हो ।

स्थानीय बजारमा उक्त पत्थर किलोको एक हजारदेखि ३० हजारसम्म बिक्री हुने गरेको छ । खानी आसपासमा एक सय ५० देखि एक हजार पाँच सयमा बिक्री हुने गरेको छ । गाउँलेहरुले पटकपटक दैलेखको बाटो हुँदै खनिज पर्दाथ बिक्रीका लागि लगेकोे छेडागाडका स्थानीय कृष्ण शाहीले जानकारी दिए ।

साविकका टालेगाउँ, अर्छानी, दह र कोर्ताङ गाविसबाट मात्र वार्षिक १० टन भन्दा टुर्मालिन तथा काइनाइट चोरी निकासी हुने गरेको छ । बाह्य बजारमा प्रतिकिलोको १५ हजारदेखि ८० हजार सम्मको मूल्यमा बिक्री हुने गरेको काइनेटकै व्यापार गर्दै आएका व्यापारीहरु बताउँछन ।

विश्वबजारमा बहुमूल्य काइनाइट, क्वार्ज, टुर्मालिन लगायतका पत्थर जाजरकोटमा पाइने गरेको छ । यस्ता पत्थरको चोरी निकासीबाट तस्करहरु मालामाल भएका छन । खानीबाट स्थानीयलाई संकलन गर्न लगाएर तस्करहरुले कम मूल्यमा खरिद गर्ने गर्छन । पत्थर राजस्व छलेर तस्करले जिल्लाको विभिन्न नाकाबाट निकासी गर्दै आएका छन् । जिल्लामा खानी सञ्चालनका लागि सरकारी पहल नहुँदा चोरी निकासी बढेको हो ।

खानी तथा भूगर्भ विभागले माथिबाटै पत्थर खोजतलास तथा उत्खननको अनुमति दिने गरेको छ । यस्तो अनुमति लिएकाले समेत राजस्व छलेर पत्थरको व्यापार गर्दै आएका छन । करोडौं मूल्यको पत्थर निकासी हुँदा पनि सरकारी राजस्व शून्य रहेको छ । जिल्लाका साविकका दर्जन गाविसका तीन दर्जन खानीमा पाइने मूल्यवान् खनिज पदार्थबाट सरकारी आम्दानी पनि शून्य रहेको छ ।

खोजतलास तथा उत्खनन्कर्ताले दशक अघिदेखि मूल्यवान पत्थर निकासी पैठारी गदै आए पनि राजश्व आम्दानी हुन नसकेको हो । कानुनी विपरीत यी पत्थरको खोजतलास, उत्खनन् र चोरी निकासी हुँदासमेत सम्बन्धित निकाय बेखबर नै देखिन्छन । यसलाई व्यवस्थित गर्न सके जिल्लालाई परिवर्तन गर्न सक्ने सरोकारवालाहरु बताउँछन ।

कामदार नै अर्काे काममा पलायन
जाजरकोट–जुम्ला जिल्लाका गाउँ–गाउँमा पुगेर बीसबर्ष पहिला फलामे भाँडा बिक्रि गर्दै आएका बारेकोट गाउँपालिका २ रोकायगाउँका जुद्धवीर कामी आजभोली घर–गोठ बनाउने मिस्त्री पेशामा व्यस्त छन् । घर–गोठ बनाउने मिस्त्री पेशाबाट दैनिक ज्याला ६ सय रुपैँया कमाउने गरेको जुद्धवीरले बताए । देशी फलामबाट बनाईएका हसियाँ, बन्चरा, बसुला, कुटो, कोदाली लगाएतका कृषि औजारहरु कराउनु तथा पाईन हाल्न मै कामदारहरुलाई भ्याई नभ्याई हुने गरेको छ ।

बारेकोटी फलामको उत्खनन्, प्रशोधन गर्नुको साथै विभिन्न कृषि औजारहरु निर्माण गर्ने काममै बारेकोट गाउँपालिका–२ रतनबहादुर नेपालीले २० बर्ष विताए । अहिले उनले पनि बारेकोटी फलामको काम गर्न छोडेको २० बर्ष भएको छ तर, देशी फलामकै कृषि औजार निर्माण गर्ने काममै जुद्धवीर पनि व्यस्त हुने गरेका छन् । जुद्धवीर जस्तै बारेकोट–२ रोकायगाउँबाट फलाम खानीमा काम गर्ने दलित समुदायकै ६ घरपरिवार रहेको रतनबहादुरको भनाई छ ।

विदेशी फलाम फस्टायो
सस्तो मुल्यमा देशी फलाम गाउँ–घरमै पुग्न थालेपछि आरनकोठाबाट प्रशोधन गरिएको बारेकोटी फलामले देसी फलामसंग प्रतिस्पर्दा गर्न नसकेर खानीको काम छोड्नु पर्ने अबस्था आएको खीमराज कामीको भनाई रहेको छ । प्रशोधन गर्नुको साथै फलाम निकालेर कृषि औजार निर्माण गर्न धेरै परिश्रम गर्नुपर्ने बताउदै खीमराजले भने–‘फलामको काम गर्ने सबैले गरेको परिश्रम अनुसारको ज्याला कहिले पनि पाएनौं ।’

कृषि औजार बनाईएको फलाम मात्र विक्रि गर्ने गरेका थियौं खीमराजले भने –‘गाउँ–घरमै फलाम बिक्री गर्नुपर्यो भने एक धार्नी फलाम ८–१० पाथी अन्नसंग साटेर दिने गर्दथ्यौं, गाउँ भन्दा बाहिर जिल्लाका अन्य गाउँ र जुम्लामा पुगेपछि एक धार्नी फलामलाई ३ सय, ४ सय र ५ सय सम्ममा विक्रि गर्ने गर्दथ्यौं ।’

गाउँपालिका भित्रको खानीलाई प्रशोधन गर्ने लक्ष्य बोकेका स्थानीय सरकारले कुनै काम गर्न सकेका छैनन् । तर स्थानीय सरकार बनेको चार बर्ष पुरा भएको छ । तर स्थानीय तहहरुले कुनै पनि आर्थीक बर्षमा खानीमा लगानी गर्ने योजना बनाएको पाईदैन् ।

तपाईको प्रतिक्रिया