मुख्यमन्त्री शाहीले १४ मंसिरमा विश्वासको मत लिने


सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले यही मंसिर १४ गते विश्वासको मत लिने भएका छन् ।
नियुक्त भएको ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यताका कारण मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् । मुख्यमन्त्री शाही कात्तिक १६ गते नियुक्त भएका हुन् । विश्वासको मत लिने उद्देश्यले संसद् बैठक डाकिएको छ । मंसिर १४ गते दिउँसो १ बजेका लागि बैठक बोलाइएको कर्णाली प्रदेश सभाका निमित्त सचिव जेतप्रकाश जोशीले जानकारी दिए ।

कांग्रेस संसदीय दलका नेता शाही २१ जना सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । ३५ सदस्यीय कर्णाली प्रदेश सभामा विश्वासको मत पाउन १८ जना सांसदको साथ आवश्यक हुन्छ । संयुक्त गठबन्धनमा २१ जना सांसद छन् ।

प्रदेश सभामा कांग्रेसका ६, माओवादीका १२ र समाजवादीका ३ जना छन् । प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल एमालेका १३ र तटस्थ रहेको राप्रपाका एक जना सांसद छन् । यही कारण मुख्यमन्त्रीले विश्वासको मत पाउने निश्चित जस्तै छ ।

सत्ता साझेदार गठबन्धनबीच मन्त्रालय बागबन्डा नमिल्दा कर्णाली सरकारले पूर्णता पाउन सकेको छैन । आठ सदस्यीय मन्त्रिपरिषदमा कांग्रेसले मुख्यमन्त्रीसहित ३, माओवादीले ४ र समाजवादीले ३ मन्त्रालय पाउनुपर्ने दाबी गर्दै आएका छन् । मुख्यमन्त्रीलाई विश्वासको मत दिनुअघि मन्त्रालय भागबन्डा टुंगो लगाउने माओवादी र समाजवादीको रणनीति छ ।

तपाईको प्रतिक्रिया