२ मंसिर २०७८, बिहीबार

‘कोरोना प्रभावितहरुमा मानसिक रोगको समस्या’

मानसिक रोग भनेको यस्तो रोग हो । जसले मान्छेलाई मानसिक रुपमा मात्र नभएर शारीरिक रुपमा कमजोर बनाउदछ भने, आर्थिक रुपमा परनिर्भर र सामाजिक, साँस्कृतिक रुपमा बहिस्कृत एक्लो बनाउँदछ । जलवायु परिवर्तन, कोरोनाको कारण र वायु प्रदुर्षणको तिव्र प्रभावले मानव स्वास्थ्यमा विभिन्न खालका समस्याहरु देखा परिरहेका छन् । हाम्रो खानापिन, दुषित हावापानी अझ भनौं भने झन कोरोनाका कारण मानसिक रोगका विरामीहरुको संख्या दिनानुदिन बढ्दै गएको छ । कोरोना प्रभावित मानसिक विरामीलाई कसरी साधारण जीवन शैलीमा पुनः फर्काउन सकिन्छ ?,यसको उपचार कसरी गर्न सकिन्छ भन्ने बिषयमा आम नागरिकले जानकारी राख्न आजको आबश्यकता छ । तसर्थ मानसिक रोगको परिचय र उपचारका विधीमा देखिएका समस्या र समाधानका उपायका विषयमा प्रकाश पार्न यो लेखलाई केन्द्रीत गरिएको छ ।
हरेक मान्छेको मनमा पलाउने सोच, विचार, चिन्तन र व्यवहारलाई मानसिक स्वास्थ्य भनिन्छ । मानसिक रुपमा स्वस्थ रहेको व्यक्तिले आफ्नो क्षमताको पहिचान गरी दैनिक जीवनयापनका क्रियाकलाप संचालन गर्दै उत्पादनशील तथा प्रगतिशील जीवनयापन गर्न सक्दछ भने, मानसिक रुपमा अस्वस्थ व्यक्तिले जीवनयापनका लागि संचालन गरिने क्रियाकलाप देखि गर्न डराउने, टोलाउने, आफुले आफुलाई कमजोर सम्झिने, आत्महत्याको सोच राख्ने आदि क्रियाकलाप गर्न अग्रसर हुन्छन् ।

जाजरकोटको सन्र्दभमा भने मानसिक रोगलाई सुस्त मनस्थिति अथवा बेसोरमा बोल्ने व्यक्तिलाई भन्ने गरेको पाहिन्छ । सुचना पहुँचको कमीले समस्या हुने गरेको छ । गाउँघरको बुझाईमा मानसिक रोग थोरै व्यक्तिलाई मात्र हुन्छ भन्ने रहेको छ । तर, विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार प्रत्येक चार जना व्यक्तिमा एक जनालाई मानसिक स्वास्थ्य सम्बन्धी समस्या हुने गरेको छ । टाउकोमा चोट लागेका, कुपोषण भएका, दुर्घटना, यातना, हिंसा, गरिबी जस्ता जीवनका नराम्रा भोगाईले मनको सोचाई र व्यवहारमा असर पुग्दछ र मान्छे, मानसिक रोगको सिकार बन्छ । उक्त समस्याहरु मध्ये जाजरकोट जिल्लामा अलि बढी कोरोनाका प्रभावित गरीव, मानसिक रोगी हुने गरेको पाईएको छ ।

विकासको समयक्रमले मानवको दैनिकी बढी खर्चिलो हुदै गएको छ । दिनभर ज्याला, मजदुरीका रुपमा अर्काको काम नगरी विहान–बेलुका चुलोमा आगो बाल्न नसकिने कतिपयको आर्थिक अबस्थाले छोरा–छोरीको पढाई, लेखाई, स्वास्थ्य उपचार कसरी गर्ने ?, घर खर्च कसरी जुटाउने भन्ने बिषयले सताउने गर्दछ । कोरोना भाईरस जस्तो विश्व महामारीको प्रकोपको प्रभावले रोजगारी गुमाउनु पर्ने अवस्थाले झनै मानसिक स्वास्थ्य अवस्थामा ठुलै असर पारेको छ ।

मानसिक रोगका विरामी जुनसुकै व्यक्ति हुन सक्ने भनियता पनि सीएमसी. नेपाल र भेरी नगरपालिकाको समन्वयमा संचालन गरिएको मानसिक स्वास्थ्य शिवीरका सहभागीहरुको समस्यालाई अध्ययन गर्दा जाजरकोटमा कोरोना प्रभावले आर्थिक अभाव हुदाँ र गरिबीको मुख्य कारणले मानसिक रोगी बन्न पुगेकाहरुको संख्या बढि पाईएको छ ।

जाजरकोटको नलगाड नगपालिका–१ का विकास बिक केही महिना पहिलादेखि यो कोरोनाको माहामारी अन्त्य होलाकी नहोला ? यदि अन्त्य भएन भने कसरी घर व्यावहार चलाउने होला ? सबै तिर बन्द छ ? अब के गर्ने होला ? रोगले भन्दा भोगले मरीने होकी ? हामी अरुको काम गरि खाने मान्छे, सबैतिर बन्द छ ? कस्को काम गरेर घर चलाउने ? कमाउन कता जाने होला ? भन्ने चिन्तन, मनन् गर्दागर्दै उनको मानसिकता कमजोर हुदै गएको थियो । आफ्ना मान्छेलाई चिन्न पनि गाह्रो हुने, मेरा आफन्ती नै होइनन् की जस्तो लाग्ने, आत्माबल कमजोर भएर आफुलाई मार्न आएका मान्छे हुन की भनेर डराउने जस्ता समस्याहरु देखा परेका थिए ।

अस्पताल सम्म लिएर उपचार गर्न सक्ने विकको परिवारलाई आर्थिक अबस्थाले साथ दिएको थिएन । उपचारको लागि विकलाई स्थानीय स्वास्थ्य चौकीमा लगिएको थियो । स्वास्थ्य चौकीमा मानसिक रोगका विरामीलाई दिन मिल्ने आँैषधि थिएन । कमजोर आर्थिक अबस्थाका कारण अस्पतालमा पुर्याउन सकेनन् । यो घटना त जिल्लाकै प्रतिनिधि मुलक घटना मात्र हो । कोरोना प्रभावित यस्ता घटना त गाउँमा कति छन् कति । मानसिक स्वास्थ्य परिक्षण नगरेर दैविक शक्तिले विरामीलाई यस्तो बनाएको हुनुपर्छ भनेर अन्धविश्वासमा विश्वास राख्ने समाजमा यस्ता घटना अनगन्ती नै छन् ।

सिंहदरबारको अधिकार सहित देशमा तीन तहको सरकार संचालनमा आएपछि गरीब संग नगर तथा गाउँ सरकार हुनेछ भन्ने आम नागरिकले आशा गरेका थिए । नागरिकलाई प्रवाह गरिने सार्वजनिक सेवा प्रवाहमा गाउँ नगर सरकार जिम्मेवार हुन नसक्दा गरीब नागरिकहरुले गरेको आशा निराशामा बदलिन थालेका छन् ।

गाउँ तथा नगर सरकारबाट प्रवाह गरिने सेवाहरुको बिषयमा जानकारी पाउन नसकेका गरीब नागरिकहरुका लागि नेपालको संविधानले गरेको व्यवस्था अनुसार मौलिक हकका रुपमा रहेको सुचनाको हक कुन चरीको दुध हो भने जस्तै भएको छ ।

मानसिक रोग सबै खाले मान्छेलाई हुन सक्छ । विभिन्न कारणले मानसिक रोगका विरामी हुने गर्दछन् । कुन कारणले मानसिक स्वास्थ्य समस्या भएको हो ? कस्तो कारणका मानसिक विरामीलाई कसरी मनोपरामर्श सेवा दिने, सामान्य मानसिक रोगका विरामीलाई परिवार, साथीभाईको साथ सर्पोट जस्तो हुनुपर्छ ।

कडा खालका मानसिक रोगका विरामीलाई मनोचिकित्सकीय तथा मनोवैज्ञानिक उपचारपछि मात्र विरामी सामान्य तथा स्वतन्त्र जीवन जिउन सक्ने अबस्थामा फर्कीन सक्छ । कोरोना प्रभावित मानसिक विरामीलाई कसरी पहिलेकै अबस्थामा फर्काउन सकिन्छ । तसर्थ मानसिक स्वास्थ्य सम्बन्धी विभिन्न शिविर तथा स्वास्थ्य संस्था मार्फत नागरिकलाई सुचना प्रवाह गर्नु, स्वास्थ्य परीक्षण, औषधी उपचार तथा मनोपरामर्श सेवा दिनु स्थानीय सरकारको दायित्व हुन आउँदछ ।

मानसिक रोगका विरामीहरुको कहिले काही होस खुल्ने, आफुले आफुलाई आत्मागलानी गर्ने, आत्महत्या गर्ने गरेका थुप्रै घटनाहरु कोरोना महामारीको समयमा पाईरहेका छन् । सामान्य मानसिक विरामीले पनि आत्महत्याको प्रयास गर्ने गरेको देखिन्छ । आत्माहत्या गर्नु पनि मानसिक रोगकै लक्षण हो भन्ने बुझन सकिन्छ ।

स्वास्थ्य सेवा कार्यालय, जाजरकोटको उपचार शाखामा कार्यरत पुष्पराज शर्माका नुसार कारोना महामारीको समय भन्दा पहिलेको र अहिलेको समयमा मानसिक विरामीको दर बढेको बताउनुहुन्छ । अति सामान्य र सामान्य मानसिक समस्या भएका विरामीलाई लगाईने सामाजिक लाञ्छना तथा चेतनाको अभावका कारण अस्पतालमा आउने संख्या शुन्य छ । औंषधि दिने खालका बिरामीहरु मात्र अस्पतालमा पुग्ने गरेका कतिपय विरामीलाई पनि परम्परागत उपचारमा अलमल्याएर समस्या थप जटिल भएपछि मात्र अस्पताल आउने गरेको डाक्टरको भनाई छ ।

मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिले काम गर्न सक्छन् । अर्थात मानसिक समस्या भएका व्यक्तिहरुले अवसर र सहयोग, माया पाएमा अन्य व्यक्ति सरह काम गर्न सक्छन् र गरिरहेका पनि छन् । अलि बढि खालका मानसिक समस्यामा मनोचिकित्सकीय तथा मनोवैज्ञानिक उपचारपछि विरामीले सामान्य र स्वतन्त्र जीवन जिउन सक्छन् भनेर मानसिक स्वास्थ्यका लागि स्थानिय सरकारले जनचेतनाका सुचना प्रसारण नगर्ने गरेको पाईन्छ ।

मानसिक रोगका विरामीहरु आक्रामक स्वभाव देखाउने मात्र नभएर मानसिक स्वास्थ्य समस्या भएका व्यक्ति स्वयं नै हिंसा र आक्रमणको जोखिममा हुन्छन् । विश्व स्वास्थ्य संगठनको तथ्याङक अनुुसार प्रत्येक १० मध्ये ९ जना मानसिक समस्या भएका व्यक्ति कुनै न कुनै रुपमा मानव अधिकार हननका घटनामा परिरहेका छन् भन्ने विषयमा आम नागरिकलाई स्थानिय तहले जानकारी गराउनु पर्ने हो । तर जिल्लाका स्थानीय तहहरुले मानसिक स्वास्थ्य सम्बन्धि कुनै मतबै नगरेको देखिन्छ ।

धेरै जसो मानसिक रोगका विरामीलाई समयमै स्वास्थ्य परीक्षण, उपचार तथा औषधि सेवन गराउनुको साथै मनोपरामर्श सेवा दिन सके प्रभावकारी रुपमा व्यावस्थापन गर्न सकिन्छ । मानसिक रोगका विरामीलाई साथीभाई, परिवार र छरछिमेकबाट पनि परामर्श सेवा उपलब्ध गराउन सकिन्छ ।

आवश्यकता अनुसार मनोविमर्शकर्ता, मनोविद, र मनोचिकित्सकको समेत सहयोग लिन सकिन्छ । मानसिक विरामीलाई बोलाउदा बोलिने भाषामा पनि ख्याल गरेर बोल्नु पर्छ । मानसिक स्वास्थ्य समस्या भनेको समस्या नभई बहाना वा नाटक गरेको हो भन्ने खालका गलत सोचाई अथवा बुझाई राख्नुले मानसिक स्वास्थ्यमा असर पर्न सक्छ । कतिपय ठाउँ अबस्थामा हामिले मानव भएर पनि अमाननीय व्यावहार गरिरहेका हुन्छौं ।

प्रत्येक व्यक्तिले मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिको संरक्षण, सम्मान र उपचार विधिमा सहयोग गर्न सकिन्छ । समस्या भएका व्यक्तिका कुरा राम्रोसंग ध्यान दिएर सुनिदिँदा पनि त्यस्तो व्यक्तिलाई धेरै सहयोग पुग्छ । तर हामी मानसिक विरामीलाई देख्दा कि डराएर आफै भाग्ने कित उसलाई जिस्काउने, पिट्ने, गालि गर्ने गर्छौ । यसो गर्नुले मानसिक रोगको समस्यालाई समाधान हैन, झनै बल्झाउने गर्दछ ।

लेखक विश्वकर्मा सामुदायिक रेडियो खलंगा एफ.एम. जाजरकोटमा कार्यरत छन् ।