अधिकारी रविन्द्र
यदि तपाईं विवाहित हुनुहुन्छ भने कृपया यो नपढ्नुहोस्, किनकि तपाईं रिसाउनुहुन्छ ।
हरेक दिन फेसबुक खोल्दा देख्छु, कसै न कसैको बुढीको वा बुढाको हृयाप्पी बर्थ डे परेकै हुन्छ वा कम्तिमा एक जोडीको हृयाप्पी एनिभर्सरी परेकै हुन्छ । समयको चक्र हो, वर्षमा दुई दिन एक जोडीको जन्मदिन आइरहन्छ अनि वर्षमा एकदिन वार्षिकी पनि ।
हरेक वर्षगाँठमा बुढाले बुढीलाई ट्याग गरेर शब्दका यस्ता ज्वारभाटाहरु वर्षाउँछ शायद उसले ती शब्दहरु आफैंले श्रृजना समेत् पनि गरेको हुँदैन । अज्ञात स्रोतबाट ल्याएर पेस्ट गरिएको हुन्छ । कति शब्दका अर्थ उसलाई थाहा नहुन पनि सक्छ । अनि शब्दका भावहरु उसले वास्तवमै अनुभूति गरेका पनि सम्भवतः हुँदैनन् । तर पनि ऊ जहिल्यै फेसबुक पोस्टमा दोस्रो हुन्छ । किनकी प्रायः उसकी बुढीले रातको बाह्र बजे नै समान किसिम्ाका अर्थ राख्ने पोस्ट गरिभ्याएकै हुन्छे । एकपछि अर्को पोस्टका प्राय यस्ता अवसरमा बुढाबुढीको राम्रै जुहारी चलेको देखिन्छ ।
बैबाहिक जीबनमा आबद्ध भैसक्नु भएका कुनै दम्पतीको यो लेख पढेर यहाँसम्म आइपुग्दा जरुर रिसले कान राता भाइसकेका होलान् । नहुनु पनि किन ? ठाडै कुनै एउटा पोस्टका लागि गरिने श्रृजना आफ्नो नभै कसै न कसैको चोरेको हो भनेर भन्दा रिस उठिहाल्छ । त्यसै पनि सबै श्रृजना आफ्नै हुने भए सेक्सपियरका उद्गार के कामका ? अनि सबै लक्ष्मीप्रसाद देवकोटा पनि त हुँदैनन् । कहीँ थोरोका वाक्य सापटी लिइन्छ त कहीँ चाणक्यका । उहाँहरुको रिसको लजिक अर्को पनि हुन सक्छ, के अब वार्षिकीमा बुढीले बुढालाई वा बुढाले बुढीलाई ‘विस’ पनि गर्न नपाउनु ?
तथापी विवाह पछि कसैको मौलिकता नासिएर जान्छ भनेर यहाँ भन्न खोजिएको पनि हैन र कसैले कसैलाई ‘विस’ गर्न मनाही पनि गर्दै छैन । यहाँ त केवल प्रविधिसँग जोडिएर आएको बिकाशसिल नूतन जीवनशैलीका केही सोचनीय पाटाहरुबारे केलाउन मात्र खोजिएको हो ।
आधुनिकिकरणको बदलिँदो बेगसँगै आज मानवीय सम्बन्धहरु कमजोर हुँदै गैरहेको कुरो कसैले नकार्न सक्दैन । पहिला विश्व धेरै ठूलो थियो, यातायातको कल्पना समेत पनि गर्न नसकिने अवस्थामा जिल्लाको सदरमुकाम आइपुग्नु नै हम्मे-हम्मे थियो । यसको अर्थ हुन्छ कुनै एक मानिसको पूर्णजीबनमा सम्पर्कमा आउन सक्ने ब्यक्तिहरु सीमित हुने गर्दथे । सीमित मानिसहरुसँगको सम्बन्ध निश्चय नै गाढा हुन्छ र एवम् रितले विवाह दीगो हुने कुरामा कुनै संसय नहोला ।
त्यतिखेर पनि दम्पतीहरु थिए, आज जस्तै त्यतिखेर पनि विवाहको वार्षिकी आउँथ्यो । उनीहरुले त्यो वार्षिकीलाई गाउँको चौतारोमा वा देउरालीमा वा हाटबजारमा गएर कहिल्यै बिज्ञापन गरेनन् । आफू-आफू मनन् गरे र सम्बन्ध अझै गाढा बनाउन कोशिस गरीरहे ।
यो श्रीमान र श्रीमती बीचको नितान्त ब्यक्तिगत घटना भएकाले यसलाई कसैको अगाडि ढोल पिट्नु पर्ने आवश्यकता ठानिएन । टोल-टोलका पाटीहरुमा भित्तेलेखन गरिएन । छोडपत्रको तथ्यांकलाई आधार मान्ने हो भने अहिलेका औसत बैबाहिक सम्बन्धभन्दा पहिलेका नै बढी सफल मानिन्छ ।
आज विश्व प्रविधीको चरम् बिकासले धेरै सानो भएको छ । हरेक गाउँका मान्छे शहर पुगेका छन्ा्, राजधानी पुगेका छन् । घर-घरका मान्छे दक्षिण अमेरिकादेखि अफि्रका, सबै-सबै ठाउँमा पुगेका छन् । संसारको कुनै कुनाबाट इच्छाएको ब्यक्तिसँग चाहेको समयमा भिडियोकल गर्न कुनै महाभारत छैन । यसर्थ आज एउटा पूर्ण जीबनमा सम्पर्कमा आउने मानिसहरुको संख्या असिमित छ ।
कुनै सामाजिक सन्जालमा साथीहरुको हुलमुल बहुआयामिक, बहुभाषिक, बहुसांस्कृतिक, बहुराष्ट्रिय, अनेकानेक छन् । ‘हृयापी एनिभर्सरी माइ डियर बुढा’ भनेर गाला जोडेको तस्वीर पोस्ट गर्दा पल्ला गाउँको सन्तेले त देख्छ नै, त्यही पोस्टमा अन्जान ट्याग खाएका उनकै बुढाका टियूका सैद्धान्तिक प्राध्यापकले थाहा पाउँछन्ा् । अंग्रेजी खासै नबुझ्ने बिन्देश्वरी मिसले पनि देख्छिन् । अनि स्विटजरल्याण्डका टीम कुकले पनि देख्छन् । फ्रेन्ड लिस्टमा दुई हजार छन् भने एक हजारले त पक्कै देख्छन् । तैपनी मरेर दुई सय लाइक र बीस कमेन्ट भन्दा बढी बिरलैको देखिन्छ (सेलेब्रिटीलाई छोडेर) ।
केटाका नजिकका साथीहरु जो उसको बिहेमा जन्त गएका थिए, केटीका नजिकका साथीहरु जो उनलाई दही चिउरा खुवाउन जानेवाला छन् र परिवार नातागोता बाहेक उनीहरुको एनिभर्सरीको खबरले न कसैलाई हर्ष दिन्छ नत बिस्मात नै । केवल उनीहरुको इन्टरनेटको डाटा बढी खाइदिन्छ । खाइदो नपरेको कुरामा लाइक र कमेन्ट गरेर बस्न अली बढी नै फुर्सद हुनुपर्ने हुन्छ, वा मूड बेसी नै खराब हुनुपर्छ ।
अझ उदेक लागेर आउने कुरो त के भने उदायचलदेखि अस्तायचलसम्म एउटै घर आँगनमा बस्ने श्रीमान-श्रीमतीबीच फेसबुकका त्यही पोस्ट मुनिका कमेन्टमा ‘लभ यू’ र ‘लभ यू टु’ अनि मुटु, माया र किसका इमोजीहरुले टनाटन हुनु । लाग्छ वास्तविक जीबनमा त उनीहरुको बोलचाल समेत हुँदैन । एउटै कमेन्टका हजारौं रिप्लाई हेर्दा लाग्छ ‘किचेनमा भात डढ्यो जस्तो छ म कसेर लाउँदै छु, एकपटक गएर हेरिदिनु न’ भन्न समेत पनि मुख फोर्दैनन् श्रीमतीहरु सिधै फेसबुक ‘लग इन’ गर्छन् ।
श्रीमानहरु पनि कम छन् भन्न खोजेको हैन । करिब असी वटा कमेन्ट सोही पोस्ट मुन्तिर टाइप गरिरहनु भन्दा बरु बरान्डामै गएर मुखमुख कुरा गरे हुनी । दुईमध्ये कोही बिदेशमा छ भने पीएम गरे हुनी । तर यहाँ सामाजिक सञ्जाललाई सुनियोजित ढंगमा कुनै पारिवारिक नाटक मञ्चनको स्टेज बनाइएको छ । ति श्रीमान-श्रीमती कलाकार भइरहेछन् ।
गोप्य हुनुपर्ने भावनाहरु छताछुल्ल बिश्वसामु पोखिरहेका छन् । क्वालिटी समयसँगै बसेर, घुम्न गएर, प्रणय सुत्रमा बाँधिएर वा रचनात्मक तरिकाले सो दिनलाई स्मरण गरेर मनाउन सकिन्छ । नकी यन्त्रवत ढंगले कुनै मेसिनमा हातका औंलाहरु चलाएर । फेसबुके पोस्ट वा कमेन्टले सम्बन्ध राम्रो हुने होइन, दैनिक व्यवहारले हुने हो । सम्बन्ध राम्रो छ भने ओल्लो पल्लो घरकाले मात्र होइन पूरै समाजले थाहा पाउँछ र उदाहरणीय मान्छ । स्वयम् बिज्ञापन गरिरहनु नक्कले अनि ढोंगी प्रवृत्ति हो । यो सम्बन्ध धरमर भएर चर्किएपछि बाहिरबाट जबरजस्ती प्लास्टर गर्न खोज्नु जस्तै हो ।
आत्मविश्वास फर्काउन आपसी कुराकानी र सदभावले नै हो । अरुलाई सुनाउँदैमा कसैले आएर समस्या मिलाइदिँदैन । भनिन्छ, साँचै नै मिलेका जोडी फेसबुकमा टाइम पास गरी बस्दैनन् । अझ बेलाबेलामा फेसबुकमा माया र विवाहलाई प्रोत्साहन गर्न भन्दै एक सातासम्म बुढा-बुढी नारिएको फोटो राखेर अरु दुई जोडीलाई पनि त्यसै गर्न च्यालेञ्ज दिएको देखिन्छ ।
अहोरात्र आफैंसँग हुने बुढा वा बुढीसँगसँगै बसेर फोटो खिच्नुलाई पनि किन चुनौती भनिएको हो, साँचै चुनौतीपूर्ण भएर त होला । हामीलाई त लाग्छ अर्का बुढा वा बुढीसँग फोटो खिचेर हालौं, त्यो पो हो च्यालेन्ज ।
बैबाहिक जीबन भित्रका कतिपय बिषयहरुलाई गोप्य नै राख्नु पर्छ । आपसी झगडा र माया आफ्नै वैवाहिक पर्खालभित्र राखेर सुझाउनु बुझाउनुको पनि मज्जा बेग्लै छ । साना-साना कुराहरु पनि धेरै महत्वका हुन्छन्ा्, यसको संवेदनशिलतालाई नबुझेर वा यथोचित कदर नगरेर दुनियाँसामु आदर्श प्रेमको ढोल पिट्नु किमार्थ राम्रो हैन ।
















































। १७ फाल्गुन २०७६, शनिबार