नेपाल कम्युनिष्ट पार्टीको स्थापनादेखि पहिलो महाधिवेशनसम्मको संघर्ष

किन कांग्रेस छाडे पुष्पलालले ?

राणा शासन अन्त्यका लागि भारतमा नेपाली राष्ट्रिय कांग्रेस सक्रिय हुँदा पुष्पलाल श्रेष्ठ त्यही पार्टीको एउटा सदस्यका रुपमा सक्रिय थिए । २००३ सालपछिका दुई वर्षमा कांग्रेस निकट रहेका पुष्पलाल कांग्रेसको राजनीतिबाट विस्तारै अलग्गिए । भारतमा भएका रुसी नेताहरुको प्रभाव र भारतीय कम्युनिष्ट पार्टीसँग नजिक भएपछि पुष्पलाल विस्तारै राष्ट्रिय कांग्रेससँग टाढा भए ।

भारतको कोलकाता (तत्कालीन कलकत्ता) मा रहेका पुष्पलाल नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिइ मार्क्सवादको अध्ययनमा लागे । त्यही क्रममा उनको झुकाव सोभियत कम्युनिष्ट आन्दोलनतिर देखियो । उनले २३ चैत २००५ मा ‘कम्युनिष्ट घोषणापत्र’को नेपाली अनुवाद प्रकाशन गरे । यो अनुवाद नै नेपालीमा प्रकाशित पहिलो मार्क्सवादी लेख मानिन्छ । त्यसबेला भारतीय कम्युनिष्ट नेता नृपेन्द्र चक्रवर्तीको संगतमा पुगेका पुष्पलालले कम्युनिष्ट पार्टी गठन गर्ने तयारी गरे ।

पुष्पलालले पार्टी स्थापना गर्दा नै विवाद थियो । नेपाल कम्युनिष्ट पार्टीको स्थापना नै विवादका बीच भएको मानिन्छ । २००६ सालमा पार्टी स्थापना हुँदा विवादको केन्द्रमा उनै पुष्पलाल थिए । उनले माक्र्सवादको अध्ययन र प्रचारमा रहेका साथीहरुलाई छलेर पार्टी स्थापना गरेपछि विवाद आएको थियो ।

केशरजंग रायमाझी अध्ययनरत क्याम्पवेल मेडिकल स्कुलमा केही युवाले ‘मार्क्ससिस्ट स्टडी सर्कल’ गठन गरेका थिए । पछि यो संस्थामा रायमाझीसहित भारतमा अध्ययनरत अधिकांश नेपाली युवा आवद्ध थिए । तीमध्ये एक जना बनारसमा अध्ययनरत मनमोहन अधिकारी पनि हुन् । रायमाझी र अधिकारी भारतीय कम्युनिष्ट पार्टीको सम्पर्कमा समेत रहेका थिए ।

पुष्पलालअघि कोलकातामा अध्ययनरत केशरजंग रायमाझी २००२ सालतिर नै भारतीय कम्युनिष्ट पार्टीको सदस्य भएका थिए भन्ने चर्चा कम्युनिष्ट वृत्तमा थियो । उनी ‘भारत छोडो आन्दोलन’ तथा कम्युनिष्ट गतिविधिसँग नजिक भएको बताइन्छ । अर्का भारतीय कम्युनिष्ट नेता रत्नलाल ब्राह्मणको संगतमा रहेका रायमाझी नेपाली विद्यार्थीहरूबीच ‘प्रगतिशील अध्ययन समूह’ चलाउँथे । यिनै युवा समयक्रममा नेपालमा आई जोडतोडका साथ कम्युनिष्ट पार्टीमा सक्रिय भए भन्ने चर्चा छ ।

यसक्रममा भारतमै रहेका मनमोहन अधिकारीको भिन्नै धार थियो । बनारसमा पढेर फर्केका अधिकारी विराटनगर जुट मिलमा कर्मचारी थिए । बनारसमा उनले भारतीय स्वतन्त्रता आन्दोलनमा भाग लिनुका साथै पुष्पलाल भन्दा अघि नै उनी भारतीय कम्युनिष्ट पार्टीको सदस्य थिए ।

चर्चित विराटनगर जुट मिल हड्तालपछि अधिकारीलाई गिरफ्तार गरी हिँडाएरै काठमाडौं ल्याइएको थियो । कम्युनिष्ट पार्टी स्थापनाको गर्भमै पुष्पलाल, रायमाझी र मनमोहन अधिकारीको फरक फरक लाइन थियो । पार्टी संस्थापक बन्ने हतारोमा पुष्पलाल श्रेष्ठले राम्रो सरसल्लाह र समन्वय नगरेको कारण रायमाझी र अधिकारी पुष्पलालसँग चिढिएका थिए ।

डा. सुरेन्द्र केसीले आफ्नो पुस्तक ‘नेपालमा कम्युनिष्ट आन्दोलनको इतिहास’ मा उल्लेख गरे अनुसार ‘माक्र्ससिस्ट स्टडी सर्कल’ मा पुष्पलालसहित हिक्मतसिंह भण्डारी, डीपी अधिकारी, शैलेन्द्रकुमार उपाध्याय, एबी प्रधान, रामबाबु कार्की जस्ता युवा संलग्न भए ।

सर्कलको उद्देश्य नेपालमा कम्युनिष्ट पार्टी खोल्नु थियो । त्यसतर्फ छलफल हुँदाहुँदै पुष्पलालले उनीहरुलाई थाहै नदिइ गोप्य रुपमै अन्य चार जना साथीलाई भेला गरेर नेकपा स्थापना भएको घोषणा गरे । यसरी २००६ साल बैशाख १० गते नेपालको पहिलो कम्युनिष्ट पार्टी भारतको कोलकातास्थित श्यामबजारमा गठन भयो ।

पुष्पलाल श्रेष्ठ, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास श्रेष्ठ र मोतीदेवी कम्युनिष्ट पार्टीका संस्थापक हुन् । पाँच जनाबाट शुरू भएको कम्युनिष्ट पार्टी जब जब बढ्दै गयो जुटभन्दा धेरै फुटको इतिहास बन्यो । भनिन्छ– ७२ वर्षे इतिहासमा कम्युनिष्ट पार्टी ७२ पटक नै फुट्यो । त्यो क्रम अहिलेसम्म रोकिएको छैन । ००६ सालमा स्थापना भएको कम्युनिष्ट पार्टीले ४ वर्षसम्म पहिलो महाधिवेशन गर्न सकेन ।

वि.सं. २००६ सालमा पुष्पलालले नेकपा गठन गर्दा मनमोहन अधिकारीले विराटनगरमा चलेको मजदूर आन्दोलनको नेतृत्व गरेका कारण जेलमा थिए । त्यसकारण उनी संस्थापक हुन नसकेको आसय पुष्पलालले कम्युनिष्ट घोषणा पत्र लेख्दा भूमिकामा व्यक्त गरेका छन् ।

२००७ सालको क्रान्तिमा कम्युनिष्ट पार्टीले नेपालमा नयाँ जनवादी कार्यक्रमको अवधारणा ल्याएको थियो । सो अवधारणा चीनबाट प्रभावित नभइ सीधै नभएर भारत हुँदै नेपाल आएको बताइन्छ । नेपालमा माक्र्सवादी विचार प्रवाह गर्न त्यतिबेला जुनजुन पर्चा निकालियो त्यो भारतीय कम्युनिष्ट पार्टीकै पर्चा हुबहु अनुवाद गरिएको आरोप पनि छ तर यो सत्य हो भन्नेबारे विद्वानहरुमाझ विवाद रहेको पाइन्छ ।

त्यस बीचमा २००८ साल असोज ११ देखि १६ गतेसम्म भारतको कोलकातामा प्रथम राष्ट्रिय सम्मेलन सम्पन्न गरी जनवादी कार्यक्रम पारित गरेको थियो । प्रथम सम्मेलनबाट पुष्पलाल महासचिवमा चयन भएका थिए ।

पाँच जनाको राजनीतिक समितिमा पुष्पलालका अतिरिक्त मनमोहन अधिकारी, तुल्सीलाल अमात्य, शैलेन्द्रकुमार उपाध्याय र भाइसाहेब भन्ने अर्का एक नागरिक थिए । तर पछि शम्भुराम श्रेष्ठलाई पनि थपिएको थियो ।

पुनः केदार खनाल, धनुषचन्द्र गौतम र विजयकुमार दादालाई समावेश गरी राजनीतिक समिति नौ सदस्यीय बनाइयो । मनमोहन अधिकारीको ‘नयाँ जनवादको निम्ति नेपाली जनताको बाटो’ नामको कार्यक्रमिक दस्तावेज पारित भयो ।

साथै, पुष्पलालको नेतृत्वमा केन्द्रीय संगठन कमिटी गठन गरियो । तर सम्मेलन सकिएको केही महिनामै महोत्तरीको बटेश्वरमा बसेको केन्द्रीय कमिटीको बैठकले पुष्पलाललाई हटाएर अधिकारीलाई महासचिव निर्वाचित गर्योे ।

२००८ सालमा नै मनमोहनले पुष्पलाललाई हटाइको आरोप छ । त्यो आरोप कतिपय सन्दर्भमा सत्य भएको कम्युनिष्ट पार्टीको इतिहास लेख्नेहरुले बताउने गरेका छन् । त्यसबेला उनले राजनीतिक समितिको बहुमतमा पुष्पलाललाई अपमानजनक ढंगले हटाएको आरोप लागेको छ ।

त्यसपछि त्यही समितिबाट मनमोहन अधिकारीलाई महासचिवमा चयन गरियो । त्यही समितिले नेकपाको पहिलो महाधिवेशन गरायो ।

नेकपाको पहिलो महाधिवेशन ३० जनवरी १९५४ तदनुरूप २०१० माघ १७ मा भूमिगत रूपमा पाटनमा उद्घाटन भई काठमाडौं र पाटनमा गरी ९ दिनसम्म चलेको थियो । पहिलो महाधिवेशनले २००७ सालको जनआन्दोलनका मुख्य उपलब्धिहरूलाई जोगाउने सही कार्यनीति अवलम्वन गर्यो ।

सो महाधिवेशनबाट मनमोहन अधिकारी फेरि महासचिवमा चयन भए । अधिकारी महाधिवेशनबाट निर्वाचित भएका प्रथम महासचिव हुन् भने श्रेष्ठ संस्थापक महासचिव हुन् ।

२०१३ सालमा चिनियाँ कम्युनिष्ट पार्टीको आठौं महाधिवेशनमा भाग लिन मनमोहन अधिकारीको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधि मण्डल चीन गएपछि नेकपाको नेतृत्व केशरजंग रायमाझीको हातमा गयो ।

उनी पार्टीको कार्यबाहक महासचिव बने । नेकपाभित्र नेतृत्व तहमा शुरू भएको गुटबन्दी र चीन भ्रमणमा जाने विषयमा तीव्र विवाद भएका कारणले पनि त्यो स्थिति उत्पन्न भयो । केशरजंग रायमाझीले पार्टी नेतृत्व कब्जा गरेपछि पार्टीलाई वैधानिक संघर्षमा अघि बढाउने उद्देश्यले पार्टी कार्यक्रममा परिवर्तन किन ? भन्ने दस्तावेज अघि सारे ।

त्यो दस्तावेज अत्यन्त विवादित बन्यो । त्यसबाट कम्युनिष्ट आन्दोलनमा प्रकट रूपमा दुई धारको संघर्ष देखा पर्यो । एउटा धारको नेतृत्व पुष्पलाल र अर्को धारको नेतृत्व रायमाझीले गरे ।

पार्टीमाथिको प्रतिबन्ध टंकप्रसाद आचार्यको नेतृत्वमा सरकार गठन भएपछि हट्यो । प्रतिबन्ध हटेको अवस्थामा नेकपाले मोर्चा संगठन मार्फत् कतिपय आन्दोलन सञ्चालन गर्यो ।

तर पहिलो महाधिवेशनमा निर्धारित गरिएका कार्यक्रमहरूलाई कार्यान्वयन गराउने दिशामा योजनाबद्ध काम र संघर्ष सञ्चालन हुन सकेन ।

नेतृत्व तहको गुटबन्दी र रायमाझी गुटको नियन्त्रणले पार्टी क्रमशः कमजोर बन्दै गयो । यसरी नेकपाको स्थापनादेखि पहिलो महाधिवेशन बितेको पाइन्छ ।

तपाईको प्रतिक्रिया