कर्णालीमा सत्ता हस्तान्तरण नगर्ने माओवादी केन्द्रको निर्णय : गठबन्धनमा खटपट सुरु

कर्णालीमा सत्ता हस्तान्तरण नगर्ने माओवादी केन्द्रको निर्णय : गठबन्धनमा खटपट सुरु

टेकराज केसी
सुर्खेत । नेकपाको चरम विवादपछि कर्णालीमा माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महेन्द्रबहादुर शाहीको पद धरापमा प¥यो । अदालतको फैसलापछि नेकपा एमाले र माओवादी केन्द्र ब्युँतिएपछि मुख्यमन्त्री शाहीले संविधानअनुसार संसदबाट विश्वासको मत लिनुपर्ने थियो । तर नेपाली काङ्ग्रेसबिना संसदमा उनको पक्षमा विश्वासको मत पुग्ने सम्भावना थिएन । उनले आफ्नो पद सुरक्षित गर्न काङ्ग्रेससँग ११ बुँदे सहमति गरे । सहमतिमा काङ्ग्रेस र माओवादी केन्द्रले आलोपालो सत्ताको नेतृत्व गर्ने भन्ने थियो ।

सहमतिमा आधा समय मुख्यमन्त्री महेन्द्रबहादुर शाही र आधा समय काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री हुने भन्ने उल्लेख छ । त्यही सहमतिलाई आधार मानेर काङ्ग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिने निर्णय ग¥यो । यद्यपि नेकपा एमालेका तत्कालीन चार जना सांसदले समेत फ्लोर क्रस गरेर शाहीले वैशाख ४ गते संसदमा विश्वास मत पाए । उनको पद जोगियो ।

फेरि गठबन्धनमा खटपट सुरु
सहमतिअनुसार काङ्ग्रेस नेता जीवनबहादुर शाहीले मुख्यमन्त्री पाउने चर्चा सुरु भयो । काङ्ग्रेसले पनि सहमति सजिलै कार्यान्वयन हुने र सत्ताको नेतृत्व हत्याउने दाउ हेरेको बेला । शुक्रबार बसेको नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको बैठकले नेपाली काङ्ग्रेसलाई सत्ता हस्तान्तरण नगर्ने निर्णय गरेपछि सत्ता गठबन्धनमा खटपट सुरु भएको छ ।

माओवादी केन्द्रले प्रदेश कार्यालयको विस्तारित बैठकबाट महेन्द्रबहादुर शाही नेतृत्वको प्रदेश सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने निर्णय गरेपछि सत्ता साझेदार नेपाली काङ्ग्रेस असन्तुष्ट बनेको हो । फ्लोर क्रस गरी मन्त्री बनेका तीन जना एमाले सांसद पदमुक्त भएपछि छ महिनामा र उनीहरू पदमुक्त नभए साउन १ गते सरकारको नेतृत्व काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले गर्ने सहमति भएको थियो । तर माओवादी केन्द्रको पछिल्लो निर्णयले काङ्ग्रेस झस्किएको छ ।

सहमतिअनुसार नभए सत्ताबाट बाहिरिने चेतावनी

मुख्यमन्त्री बन्ने पर्खाइमा रहेका काङ्ग्रेस कर्णाली संसदीय दलका नेता जीवनबहादुर शाहीले भने वैशाख २ को लिखित समझदारी विपरीत माओवादी गए काङ्ग्रेसले साथ नदिने चेतावनी दिएका छन् । केन्द्रको निर्देशनले कर्णालीमा भएको सम्झौतालाई फरक नपार्ने र त्यसलाई अक्षरशः कार्यान्वयन गरिनुपर्ने उनको तर्क छ । लिखित सहमतिमा बेइमानी भएमा आफूहरूले प्रदेशमा अर्कै खेल सुरु गर्ने काङ्ग्रेस नेता शाहीले बताए । फ्लोर क्रसपछि मन्त्री भएका अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाको समयावधि यही कात्तिक १५ गते सकिँदै छ ।

त्यसलगत्तै काङ्ग्रेसले पूर्वसहमतिअनुसार सरकारको नेतृत्व दाबी गर्ने बताएको छ तर मुख्यमन्त्री शाही भने सम्झौता कार्यान्वयन नगर्ने र बाँकी अवधि आफैँले प्रदेश सरकारको नेतृत्व गर्ने गृहकार्यमा जुटेका छन् ।

मुख्यमन्त्री शाहीकै प्रस्तावमा विस्तारित बैठकले हालको सरकारलाई नै पूर्ण कार्यकाल काम गर्न दिने गरी गठबन्धन दलबीच सहमति जुटाउन पार्टीका केन्द्रीय अध्यक्ष पुष्पकमल दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो ।

केन्द्रमा गठबन्धन दलबीच छुट्टै सहमति बनेर निर्देशन आएमात्रै सत्ताको नेतृत्व हस्तान्तरण गर्न सकिने माओवादी केन्द्रका कर्णाली प्रदेश इन्चार्ज शक्तिबहादुर बस्नेतले बताए । कुन–कुन प्रदेशमा कसले नेतृत्व गर्ने भन्नेबारे शीर्ष नेताहरूबीच छलफल भइरहेको र छिट्टै टुङ्गिने इन्चार्ज बस्नेतले बताए ।

हाल ३५ सदस्य रहेको कर्णाली प्रदेशसभामा एमालेका सभामुखसहित १३, माओवादी केन्द्रका १२, काङ्ग्रेसका ६, एकीकृत समाजवादीका ३ र राप्रपाका १ सांसद छन् ।

कर्णालीको विवादले देश अर्ली निर्वाचनमा जान सक्छ
प्रदेशमा नेकपा माओवादी (केन्द्र) र नेकपा एमालेबीच सरकार बन्ने अवस्था छैन । कर्णालीमा काँग्रेसबिना सरकार गठनका लागि कतै पनि सङ्ख्या पुग्दैन । काङ्ग्रेस जता ढल्किन्छ त्यतै सरकार बन्छ ।

माओवादी केन्द्रको विस्तारित बैठकले पूर्ण कार्यकालसम्म आफ्नै नेतृत्वमा सरकार चलाउने निर्णय गरिसकेको अवस्थामा काङ्ग्रेस असन्तुष्ट बनेको छ । यद्यपि केन्द्रमा काङ्ग्रेसलाई काँधमा हालेको माओवादी केन्द्रका कारण कर्णाली प्रदेशको विवाद थामथुम हुन सक्छ । तर काङ्ग्रेस संदीय दल कर्णाली प्रदेशका नेता जीवनबहादुर शाहीले केन्द्रको निर्णयले कर्णाली प्रदेशलाई फरक नपार्ने बताइसकेका छन् ।

उनले माओवादी केन्द्र सहमतिअनुसार अगाडि नबढे नयाँ खेल सुरु हुने चेतावनीपूर्ण भाषा बोलेका छन् । यसले गर्दा कर्णालीमा फेरि सत्ता खेल र विवाद बढ्ने सङ्केत देखिन्छ । यसले केन्द्रको गठबन्धनमा समेत असर पार्न सक्छ ।

यदि कर्णालीमा काङ्ग्रेसले माओवादी केन्द्रको साथ छोड्ने हो भने केन्द्रमा पनि माओवादी केन्द्रले देउवा नेतृत्वको सरकारको साथ छोड्ने सम्भावना धेरै हुन्छ । संविधानको धारा ७६ को उपधारा ५ अनुसार केन्द्रमा शेरबहादुर देउवा नेतृत्व सरकार गठन भएको बेला माओवादी केन्द्रले साथ छोडे देउवाले फेरि विश्वासको मत लिनुपर्छ । त्यतिबेला देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नपुग्ने अवस्था हुन सक्छ । अनि देश ताजा जनादेशमा जानुबाहेक अर्को विकल्प रहँदैन ।

यही अवस्था आउँछ कि भनेर कर्णालीमा काङ्ग्रेसलाई केन्द्रबाट दबाब आएको काङ्ग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीको फेसबुक स्टाटसले पुष्टि गर्छ । केही दिनअघि आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका थिए, ‘जुन नेताहरूको लागि ज्यान फालेर लागिन्छ, उनीहरूले नै विश्वास गर्दैनन् भने विश्वास गर्नेतिर नै लाग्दा बेस हुन्छ कि जस्तो लाग्न थाल्यो ।’

तपाईको प्रतिक्रिया