जुम्लामा २५ भेडाका पाठा जलेर नष्ट

 खलंगा । जुम्लाको भेडीखर्कमा आगलागी हुँदा भेडाका २५ वटा पाठा जलेर नष्ट भएका छन्।

हिमा गाउँपालिका वडा नम्बर २ स्थित लेकमा रहेको खर्कमा आगलागी भई ती पाठा जलेको किसान वीरबहादुर शाहीले बताए । उनले भने, ‘सोमबार दिउँसो खर्कमा कोही नभएको समयमा आगलागी हुँदा खर्क पूरै जलेर नष्ट हुनुका साथै भेडाका पाठा, २० भन्दा बढी राडी कम्बल, लगाउने र बिछ्याउने लत्ताकपडा लगायत सबै सामान जलेर नष्ट भएका छन् ।’

उनले भेडापालक किसान दत्तबहादुर शाहीका ३, धनबहादुर रोकायाका ३ सहित १२ जना किसानका २५ वटा पाठा जलेर मरेको बताए । भेडाकिसानले क्षति भएको विवरण बड्की प्रहरी चौकीलाई जानकारी गराएको शिक्षक खम्बा शाहीेले बताए ।

करिब ४ हजार मिटर उचाइमा रहेको खर्क नै जलेर नष्ट भएपछि ओत लाग्ने स्थान नहुँदा आगो बालेर रात कटाएको किसानले बताएका छन् । जुम्लामा चिसो बढिसकेको अवस्थामा सामूहिक खर्क जलेर नष्ट भएपछि भेडाकिसान चिन्तित भएका छन् । किसान रोकायाले नयाँ पाठा दिन प्रदेश सरकार समक्ष माग गरेका छन् ।

तपाईको प्रतिक्रिया