पृथ्वी नजिकैको ग्रहमा जीवनको सम्भावना

सन् २०१५ मा नासाको केपलर स्पेस टेलिस्कोपबाट पत्ता लागेको ग्रह ‘के२–१८बी’ मा जीवनको सम्भावना रहेको नयाँ तथ्य फेला परेको छ ।

क्याम्ब्रिज विश्वविद्यालयको एक टोलीले उक्त ग्रहको तौल, अर्धव्यास र वायुमण्डलीय तथ्यांकको अध्ययनबाट जीवनको सम्भावना रहेको निष्कर्ष निकालेको हो ।

पृथ्वीबाट १ सय २४ प्रकाश वर्ष टाढा रहेको ‘के२–१८बी’ जीवनको सम्भावना बोकेका अन्य ग्रहभन्दा नजिकको ग्रह हो । पृथ्वीको भन्दा २ दशमलव ६ गुणा बढी अर्धव्यास रहेको यो ग्रहको तौल पनि ८ दशमलव ६ गुणा बढी रहेको छ ।

ग्रहको तापक्रम र वायुमण्डलमा रहेको उच्च हाइड्रोजनको मात्राले त्यहाँ पानीको सम्भावना रहेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।

अनुसन्धान टोलीका प्रमुख डा. निक्कु मधुसुदनले ‘धेरै ग्रहहरुको वायुमण्डलमा पानीको वाफ रहेको फेला परेको छ, पानीको वाफ हुनु नै त्यहा जीवन हुनुको मुख्य आधार भने हैन, तर पानी जीवनका लागि पहिलो अत्यावश्यकता हो र यसको सम्भावना देखिएको छ ।’

पृथ्वी भन्दा ठूलो र वरुण भन्दा सानो रहेको यो ग्रहको सतहमा चट्टान वा फलाम रहेको अनुमान गरिएको छ । यस ग्रहमा समुन्द्र रहेको हुन सक्ने अनुमानसमेत गरिएको छ । यस ग्रहबारे वैज्ञानीकहरुले थप अध्ययन एवं अनुसन्धान जारी राखेका छन् ।

कति हो १ प्रकाश वर्ष ?
एक प्रकाश वर्ष अर्थात प्रकाशले एक वर्षमा पार गर्ने दुरी लाई ‘प्रकाश वर्ष’ भनिन्छ । यो करिब ९५ खर्ब किलोमिटर भन्दा बढी हुन्छ । अहिलेसम्म मानवनिर्मित सबैभन्दा तीव्र गतिको स्पेसक्राफ्ट ‘पार्कर सोलार प्रोब’ हो ।

सुर्यको अध्ययनका लागि सन् २०१८ मा यो स्पेसक्राफ्ट लञ्च गरिएको थियो । त्यतिबेला यसको गति प्रतिघण्टा २ लाख ४६ हजार किलोमिटरभन्दा बढी अपेक्षित थियो । यसै स्पेसक्राफ्टलाई मात्रै १ प्रकाशवर्ष दुरी तय गर्न कम्तिमा पृथ्वीको ५ हजार वर्ष लाग्छ ।

तपाईको प्रतिक्रिया