१० आश्विन २०७८, आईतवार
ताजा खबर
  

अदालतभन्दा धामीको भर !

‘पुरानो पुस्ताले देवतामा बढी विश्वास गर्छन्, नयाँ पुस्ताका व्यक्तिहरु न्यायका लागि अदालतमै आउँछन्’

                                                                     फाइल तस्विर
कालीकोट । चार पुस्ताअघि खाडाचक्र–४ का दानबहादुर विश्वकर्माको ४ पाथी बीउ जाने धानखेत छिमेकी नयाँ विश्वकर्माका परिवारले जबर्जस्ती जोते । पुस्तौंदेखि भोगचलन गर्दै आएको जग्गा जबर्जस्ती कब्जा गरेर जोतेपछि दानबहादुरका जिजुबुबाले धाइडे देवताको थान (मन्दिर) मा पुकारा गर्दै देवता ढोए (लगाए) ।

त्यसयता परिवारका सदस्य धमाधम बिरामी पर्न थालेपछि नयाँले ३ वर्षअघि जरिवानाबापतको केही रकम तिरेर उक्त जग्गा दानबहादुरलाई फिर्ता गरे । ‘मेरो चार पुस्ताअघि जबर्जस्ती खाइदिएको जग्गा बिगो (बाली) सहित फिर्ता पाए,’ दानबहादुरले भने, ‘मेरा लागि त अदालतभन्दा ठूलो देवता हो ।’ केही वर्षअघि ताडीकै नरेन्द्रबहादुर शाहीले चाँदीको माहोर (सिक्का) मुखमा हालेको बेला छिरेर पेटमा अड्कियो ।

घरमा रुवावासी भयो । अप्रेसन गर्न भारत लैजाने तयारी गर्दैगर्दा स्थानीय धामी भाने विश्वकर्मा आएर पेटमा दाँतले टोकेर चाँदीको मोहोर निकालेर उनको ज्यान बचाए । ‘देवताले मेरो ज्यान बचाएको हो,’ ६२ वर्षीय शाहीले भने, ‘देवता थिए र त म बाँचें ।’ कानुन थाहा नपाएका कालीकोटका ग्रामीण क्षेत्रका बासिन्दा अहिले पनि अदालतभन्दा धामीझाँक्री र थान (मन्दिर) का पुजारीको विश्वास गर्छन् । न्यायका लागि अदातल पुग्न नसक्ने उनीहरू विकल्पको रुपमा देवताका थान (मन्दिर) को भर मान्दै आएको छन् । उनीहरूले प्रत्येक वर्ष देवीदेवताको धुमधाम पूजाआजा गर्छन् भने भाकल पूरा भएको विश्वासले धजा, माना र मूर्तिलगायत सामग्री चढाउँछन् ।

खाडाचक्रको चुलिमालिका, डिल्लीकोटको महाबुअ, मुग्राहाको कालिका, ताडीको मष्टोधलपुरो, पचालझरनाको पचालो, दाहाको खापरलगायतका शक्ति पीठहरूमा साउन चर्तुदशीदेखि मंसिर पूर्णिमासम्म पूजाआजा गरेर देवता मान्ने चलन छ । गत सोमबार दिउँसो ताडीस्थित मष्टोधलपुरोको माडु (मन्दिर) मा पूजाआजाकै क्रममा धामी ग्याम्जे कामीले फलामको लुवालौरी हातले दुई टुक्रा मात्र पारेनन् फलामे घण्टलाई दातले काटेर सबैलाई अचम्मित पारे ।

देवतामा विश्वास नलागे पनि फलामको मोटो लौरी हातले सजिलै भाँचेकाले दैवीयशक्तिमा विश्वास गर्न करै लागेको नेत्रविक्रम चन्द समूहका कार्यकर्ता कर्ण विश्वकर्माले बताए । झन्डै एक महिनाअघि कालीकोटको पचालझरना घर भएका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गाउँपालिकाको प्रशासकीय भवन शिलान्यासका क्रममा धामीबाट बिदो (आशीर्वाद) थापेको भन्दै आलोचित बने । ‘म देवताभन्दा कर्ममा विश्वास गर्छु,’ मुख्यमन्त्री शाहीले भने, ‘तर समाजभन्दा बाहिर जान पनि सकिँदैन नि ।’ उनले स्थानीय संस्कृतिको सम्मान गर्दै आफू विभिन्न धार्मिक कार्यक्रममा सहभागी हुने गरेको बताए ।

गाउँघरमा हुने चोरी, जग्गाका साँधसीमा मिचेको, गाली बेइज्जत, थिचोमिचो र कुटपिटका घटनामा अदालत जान नसक्नेहरूले धामीको शरण लिने गरेका हुन् । ‘अड्डा अदालतमा धेरैजसो बाठाटाठा मात्र जान्छन्,’ खाडाचक्र–४ ताडीका धामी माने विश्वकर्माले भने, ‘कानुन नजान्नेका सहारा देउता हुन् ।’ उनले ढिलो भए पनि देवताले न्याय दिने विश्वास रहेकाले स्थानीयहरू अड्डा अदालतमा नजाने बताए ।

कालीकोटका अधिकांश ग्रामीण भेगमा अझै पनि मुद्दाको चलन नरहेको अधिवक्ता दमनराज बमले बताए । ‘सानातिना मुद्दा देवताका थानमा गएर मिलाइन्छ,’ जिल्ला बार इकाइका अध्यक्षसमेत रहेका बमले भने, ‘झन्झटिलो प्रक्रियाका कारण पनि अदालत जानेको संख्या निकै कम छ ।’

जिल्ला अदालतमा परेका मुद्दाको संख्या हेर्दा पनि न्यायालय आउनेको संख्या न्यून देखिन्छ । अदालतका स्रेस्तेदार प्रेमप्रकाश थापाका अनुसार आर्थिक गत आर्थिक वर्ष ०७७÷७८ मा २ सय ३५ मुद्दा परेकोमा १ सय ११ मुद्दाको फैसला भएको छ । गत वर्षका १ सय २४ मुद्दा फर्स्योट हुन बाँकी छन् । चालु आर्थिक वर्षमा ६४ थान मुद्दा परेको उनले जानकारी दिए ।

‘पुरानो पुस्ताले देवतामा बढी विश्वास गर्छन्,’ उनले भने, ‘नयाँ पुस्ताका व्यक्तिहरू न्यायका लागि अदालतमै आउँछन् ।’ उनले कोरोना महामारीका कारण गर्दा गत वर्ष सबै मुद्दा फर्स्योट हुन नसकेको बताए । उनका अनुसार अदालतमा सबैभन्दा बढी सम्बन्धविच्छेदका मुद्दा पर्ने गरेका छन् । कान्तिपुर बाट साभार गरिएको ।