वर्षाको भलले बगायो ठुला सडक, करोडौँ रकम स्वाहा !


जाजरकोट । जिल्लाका स्थानीय सरकारले डोजर लगाएर बनाएका दर्जनौँ सकड बर्खायामको भलले छियाछिया पारिदिएको छ । जमिन नै कमजोर हुने गरी जिल्लाका सात स्थानीय सरकारले निर्माण गरेका सडक वर्षाको भलले कतै भत्काएको छ भने कतै बाटो पुरिदिएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन बिना खनिएका यहाँका सडकले दर्जनौँ गाउँसमेत जोखिममा पारेको स्थानीयवासी बताउँछन् । छेडागाड नगरपालिकाले खनेको आन्तरिक सडकहरु वर्षाको भलले बगाउँदा अहिले यातायातका साधन सञ्चालन हुन सकेका छैनन् ।

उक्त नगरपालिकाले वडा ७ र ८ वडामा मात्र सडक निर्माण नभएको र अन्य सबै वडामा सडक सञ्जालले छोएको नगरपालिकाले जनाएको छ । सडक निर्माण गरिएका केही ठाउँमा अहिले यातायात सेवा बन्द भएको छ । वर्षाको भलले सडक अवरुद्ध बनाएपछि सडकमा यातायात सञ्चालन हुन नसकेको हो ।

शिवालय गाउँपालिकाभित्र आन्तरिक रुपमा सञ्चालनमा रहेका केही सडक अवरुद्ध भएकाले अहिले यातायातका साधनहरु चल्न सकेका छैनन् । त्यस्तै जुनिचाँदे गाउँपालिकाभित्र गत बर्ष २० किलोमिटर सडक निर्माण गरेको थियो । अहिले सडक अवरुद्ध भएसंगै यातायातका साधनहरु सञ्चालन छैनन्् । नलगाड नगरपालिकाका अधिंकाश ठाउँमा बनाएका नयाँ सडक भत्किदा त्यहाँ अहिले यातायात सञ्चालनमा छैनन् ।
सडक विभागले निर्माण गरेको नलगाडको वडा ८ स्थित मन्मै–हल्चौर सडक, कायखेत–हल्चौर सडकमा यातायात चल्न सकेको छैन् । यी सडकमा हिउँदयाममा नै यातायातका साधनहरु सञ्चालन गरिएको थियो । सडकको मापदण्डभन्दा बाहिर गएर निर्माण गरिएका कारण यातायातका साधनहरु सञ्चालन हुन नसकेको जानकारहरु बताउँछन् । बारेकोट गाउँपालिकाले यो वर्ष पनि सडकलाई पहिलो प्राथमिता राखि निर्माण गरिएको थियो ।

तर निर्माण गरिएका सडक धमाधम भत्किएर नागरिकलाई पैदल हिड्न निकै समस्या भएको छ । कुशे गाउँपालिका सबै वडामा यातायातको पहुँच पुगे पनि बर्खायाममा सबै सडक अवरुद्ध भएका छन् । वर्षाको भलले सबै सडकमा क्षति पुगेको हो । भेरी नगरपालिका भित्रका अधिकांश स्थानीय सडक पनि अवरुद्ध छन् । नयाँ निर्माण गरिएका सबै सडक अवरुद्ध भएको भेरी नगरपालिकाले जनाएको छ ।

बर्षाै सम्म करोडौँ लगाएर निर्माण गरिएका सडक अवरुद्ध भएपछि निर्माण गरिनुको कुनै सार्थक नभएको स्थानीयहरुको भनाई छ । सडक निर्माण गर्दा आवश्यक मापदण्ड पुर्याएर मात्रै गुर्न उपयुक्त छ ।

तपाईको प्रतिक्रिया