८ आश्विन २०७८, शुक्रबार
ताजा खबर
  

पढाईकै लागि विहान तीन बजे घर छोडे : महेन्द्र सिंह

जाजरकोटको बारेकोट गाउँपालिका २ मा वुवा मानबहादुर सिंह र आमा कृष्णादेवी सिंहको कोख बाट वि.स. २०३८ फागुन २८ गते जन्मिनुभएका महेन्द्र सिंह प्रेस काउन्सिल नेपालको बर्ष पुरुस्कार २०७८ बाट सम्मानित हुनुभएको छ । २०७१ साल असार २३ गते प्रशासन सहायक पदमा प्रेस काउन्सिल नेपालको सेवा प्रवेश गर्नुभएका सिंह बुधबार सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बाट सम्मानित हुनुभएको छ । रत्नराज्यलक्ष्मी क्याम्पसबाट पत्रकारितामा स्नातक तह उतीर्ण गर्नुभएको छ । प्रवेशिका परीक्षापछि २०५६ सालदेखि सक्रिय पत्रकारिता गर्नुभएका सिंहसंग एक दशक लामो पत्रकारिताको अनुभव रहेको छ । उनै सिंह संग हाम्रो पहुँच डटकमले गरेको संक्षिप्त कुराकानी प्रस्तुत छ ।
१. स्वागत छ ?
हार्दिक धन्यवाद यहाँलाई ।
२. तपाईको बाल्यकाल कसरी वित्यो ?
वीरेन्द्र ऐश्वर्य मावि बाट आधारभूत तह अध्ययन गरेँ । सधैं अद्वितीय हुन्थे । बुवामुवाको सम्बन्ध बिग्रेपछि ४ भाइबहिनीमध्ये जेठो हुनुको कारणले घरायसी जिम्मेवारी बढ्यो । पारिवारिक तनाव र संघर्षबीच पनि पढाईप्रति त्यत्तिकै अब्बल थिएँ । ६ कक्षा पढ्दै गर्दा ठूलो मुवापट्टी भाउजूको असामयिक निधन भयो । यसकारण ६ महिना स्कुल छुट्यो ।

तथापि वार्षिक परीक्षामा संलग्न भएँ । नतिजा प्रथम नै आयो । पढाईप्रतिको मोह अझै बढ्यो । राम्रो स्कुल पढ्नुपर्छ भन्ने चाह बढ्यो । ममा सानैदेखि बिद्रोही स्वभाव थियो, आफैं पढ्न पर्छ, केही गर्नुपर्छ, आफ्नै खुट्टामा उभिनुपर्छ ।

घरबाट भाग्ने योजना बनाएँ । २०५४ सालको चैतमा एकाबिहानै ३–४ बजेको समयमा घर छोडेँ । ९ कक्षाका पुस्तक, लगाउने कपडा सहित ३ हजार खल्तीमा राखेर सल्यान आएँ । जनता मावि रागेचौर सल्यानमा भर्ना भएँ । सयौं विद्यार्थीबिच दश कक्षाको टेष्ट परीक्षामा प्रथम नै भएँ ।

३. तपाई कसरी पत्रकारितामा आउनुभयो ?
५–६ कक्षा पढ्दाताका यज्ञबिक्रम शाही(पैँक) को ‘बाँच्ने रहरहरू’ पढ्ने मौका मिल्यो, हाम्रो जिल्लामा पनि पुस्तक लेखक रहिछन् भनेर चकित परेँ । पत्रकारिता गर्नुपर्छ भनेर उत्प्रेरित भएँ । प्रवेशिका पछि नेपालगन्ज झरेँ । दुःख–आपत पर्दा कालापार गएर कमाइन्छ भनेरै नेपालगन्ज रोजेँ । त्यतिबेला बाँकेमा दैनिक पत्रपत्रिका थिएनन्, २०५८ मा ‘नेपालगन्ज एक्सप्रेस’ दैनिक थालनी भयो, स्थानीय उज्यालो साप्ताहिकमा समाचार लेख्न थालेँ ।

महेन्द्र बहुमुखी क्याम्पसका सहपाठी साथीहरू नव परिवेश नामक बुलेटिन निकाल्न थाल्यौं । जागिर खानेभन्दा जाजरकोटकै लागि भएपनि पत्रिका निकाल्ने योजना बनाएँ । दुई वर्षपछि २०५९ देखि ‘जाजरकोट सन्देश’ निस्क्यो । दुई वर्ष सम्म ढुक्कसँग चलाउँछु भनेर कस्सिएको २०६८ सालमा आएर बन्द भयो ।

४. तपाईले जनयुद्धकालदेखि पत्रकारिता सुरु गर्नुभयो त्यस समयको पत्रकारितालाई कसरी सम्झनुहुन्छ ?
जाजरकोटमा छापाखाना नहुँदा नेपालगन्ज हप्तैपिच्छे अपडाउन गर्नुपर्ने हुँदा चुनौती थियो ।

अहिलेको जस्तो सहज यातायात, टेलिफोन थिएन् । इन्टरनेट र मोबाइल पनि २०६२–६३ पछि आयो । युद्ध भयानक हुन्छ । त्यतिबेला छिन्चुदेखि नै जाजरकोटसम्म कयौंपटक पैदल हिंड्नपर्यो ।

हररे–देउरालीमा बाटो अवरोध हुँदा २–४ पटक त चिसापानीदेखि नै हिंडेर जाजरकोट पुगेका थियौं । बोटेचौर–मेहेलकुना क्षेत्रमा बाटोमा तार–एम्बुस थापिएका हुन्थे।

२०६३ साल फागुन ११ गते, मधेसी जनअधिकार फोरम एक जत्थाले मरणासन्न हुनेगरी कुटपिट गरि सञ्चार सामग्री डिजिटल क्यामेरा, मोबाइल, पर्ससहित सामान लुटे । २०६२ मा सेपुखोलाबाट बिद्रोही समूहले अपहरण गरे ।

प्रशासनले शाहीकालमा स्पष्टीकरण सोधेर मानसिक तनाव दियो । कुटपिटको असर देखिएपछि २०६४ सालदेखि २०६८ सम्म लखनउमा नियमित उपचार गर्नुपर्यो । आफूलाई कमजोर, अशक्त फिल भएपछि जागिर खाने सोच पलायो । राजधानी गएँ ।

पत्रकारिता क्षेत्रको नियमनकारी निकाय काउन्सिलमा एउटा पदमा भ्याकेन्सी खुलेको रहेछ । पहिलो पटक मै लोकसेवाले लिएको खरिदार तहको परीक्षा पास गरेँ । साथसाथै, जेहेन्दार छात्रवृत्ति पाएर भक्तपुरको बागेश्वरी कलेजबाट पत्रकारिता विषयमा प्रवीणता सक्नुको साथै रत्नराज्यलक्ष्मीबाट स्नातक पनि सकेँ ।

५. प्रेस काउन्सिल बर्ष कर्मचारी पुरस्कार बाट पुरुस्कृत हुदाँ तपाईलाई कस्तो अनुभुति भएको छ ?
उत्कृष्ट कार्य गरेबापत दिइने यो पुरस्कार पाउँदा खुशी छु । यसबिच तीन वर्ष अध्यक्षको सचिवालयमा निजी सचिवको जिम्मेवारीमा बसेँ ।

४ वर्षदेखि प्रशासन महाशाखा रही कार्य गर्दै आएको छु । थुप्रै काम भयो । अनुभव प्राप्त भयो ।

६. पत्रकारिता के हो, के होइन ? तपाईको बुझाईमा ।।
आवाजविहिनहरूको आवाज बुलन्द गर्ने, समाचार खोज गर्ने पवित्र कर्म पत्रकारिता हो, यो विशुद्ध स्वतन्त्र, निष्पक्ष हुनुपर्छ । यद्यपि हामी पत्रकारितालाई राजनीतिक अभ्यास, अवसरको रूपमा दुरुपयोग गरिरहेका छौं ।

जागिर खाएरपनि पार्ट टाइम पत्रकारिता गरिरहेका छौं । लोकतन्त्र छ तर व्यवस्थापन राम्रो छैन । पत्रकारिताको पनि निश्चित सीमाहरू छन् । कानुनी व्यवस्था, मूल्यमान्यता, पत्रकार आचारसंहिताको अधिनमा रही गरिने कर्म नै पत्रकारिता हो ।

७. अन्तमा के भन्नुहुन्छ ?

यो अवसरको लागि हाम्रो पहुँच डटकम लाई धन्यवाद ।।

सिंह हाल प्रेस काउन्सिल नेपालमा  वरिष्ठ प्रशासन सहायक पदमा कार्यरत हुनुहुन्छ ।