७ आश्विन २०७८, बिहीबार
ताजा खबर
  

नेकपा (एकीकृत समाजवादी) जाजरकोटले गर्याे सडक मर्मत

खलंगा । नेकपा (एकीकृत समाजवादी) जाजरकोटले पहिरोका कारण अबरुद्ध भएका सडकहरु मर्मत गरेको छ । लगातारको वर्षाद पछिको पहिरोले अवरुद्ध भएका सडकहरु मर्मत गरि यातायात सेवा सुचारु गरिएको पार्टी जिल्ला संगठन कमिटीका उपाध्यक्ष कमान खड्काले जानकारी दिए ।

वर्षादका कारण पहिरोले जिल्ला सदरमुकामको ठाँटी नजिक सडक बगाउदा शान्ति चौतारा–रिम्ना सडक खण्ड अबरुद्ध भएको छ । त्यसको बैकल्पिक मार्गको रुपमा रहेको जाजरकोट–डोल्पा सडकको बोहरा जिरो प्वाइन्ट देखि कालेगाउँ सम्मको सडक पनि पहिरोका कारण अवरुद्ध भएपछि यातायात सेवा ठप्प भएको थियो । सो सडक सुचारु गर्ने पार्टीको निर्णय अनुसार आफ्नो निजि डोजर प्रयोग गरेर सडक मर्मत गरी यातायात सेवा सुचारु गरिएको उपाध्यक्ष खड्काले बताए ।

सरोकारवाला निकायहरुले सडक मर्मतका लागि समयमै ध्यान नदिएको र पूर्वी जाजरकोट, रुकुम, डोल्पा लगाएतका ठाउँबाट सुर्खेत, नेपालगञ्ज काठ्माडौं आवत जावत गर्ने सयौं यात्रु तथा सवारी साधन अलपत्र परेकोले पार्टीले सडक मर्मत गरिदिएको नेता खड्काको भनाई छ । उक्त सडकको विभिन्न ५ ठाउँमा गएको पहिरो हटाउन ४ घण्टा डोजर प्रयोग गरिएको छ । सडक अवरुद्ध भएपछि हिजो देखि अलपत्र परेका यात्रुहरुले यातायात सेवा सुचारु भएपछि नेता खड्का तथा नेकपा (एस) जाजरकोटलाई धन्यवाद दिएका छन ।

त्यस्तै कालेगाउँ स्याला पावरहाउस जोड्ने सडक पनि मर्मत गरिएको छ । उक्त सडकका विभिन्न ठाउँमा आएको पहिरोले पैदल आवत जावत गर्न समेत समस्या भएको जनगुनासो आएकोले व्यक्तिगत खर्चमा सडक मर्मत गरिएको नेता खड्काले बताए । जनताको सेवा नै पार्टी तथा आफ्नो उद्देश्य रहेकोले सके सम्मको सहयोग गर्न तत्पर रहेको खड्काको भनाई छ ।

उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य समेत रहेका खड्काले यस अघि जाजरकोट जुम्ला सडक खण्ड अन्तरगत खलंगा देखि पाँचकाटिया सम्म व्यक्तिगत रुपमा मर्मत गरेर यातायात सेवा सहज बनाइदिएका थिए । नेता खड्का जिल्लावासीहरुको हरेक समस्यामा सहयोग गर्दै आएका छन ।