जीर्ण बन्यो विद्यालय भवन‚ खुला चौरमा पठनपाठन

जाजरकोट । २१ वर्ष पहिले सर्वसाधारणको श्रमदानबाट निर्माण भएको भेरी नगरपालिका–५ साल्टकुरास्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालयको भवन जीर्ण भएको छ । सरोकारवाला निकायले भवनबारे ध्यान नदिँदा विद्यालय पढाउने थलोको रुपमा नभई धराप भएको स्थानीयवासी बताउँछन् ।

राजनीतिक खिचातानीका कारण विद्यालयको अवस्था नाजुक भएको स्थानीयवासीको पीडा छ । पाँचजना शिक्षक रहेको विद्यालयमा १ सय ५० जनाभन्दा बढी विद्यार्थी छन्। वर्षायाममा भवन भत्कने डरले खुला चौरमा पढनपाठन गरिरहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर चन्दले बताए ।

‘म अध्यक्ष वैशाखमा भएको हुँ, विद्यालय भवन निर्माणका लागि धेरै पटक नगरपालिका गए पनि मुस्किलले दुई लाख रकम बिनियोजन गरेको छ‚’ उनले भने‚ ‘दुई लाख रकम भनेको हातीको मुखमा जिरा जस्तै हो ।’

विद्यालय भवन धराप भएपछि विद्यार्थीहरु छिमेकी मष्टा आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालयमा जाने गरेको स्थानीय प्रकाश चन्दले बताए । लामो समय हिँडेर छिमेकी विद्यालयमा ज्यान बचाउनकै लागि जानु परेको विद्यार्थी अशोक चन्दले बताए । ‘पानी आए बाहिर पढ्न सकिँदैन, कक्षा कोठामा गए विद्यालय भत्किन्छ भन्ने डर छ‚’ उनले भने‚ ‘विद्यालयमा खानेपानी, शौचालय समेत छैन।’

६ कोठे जीर्ण भवनभित्र सबै काम गर्नु पर्दा हैरान भएको अध्यक्ष चन्दले बताए। भेरी नगरपालिकाका प्रमुख चन्द्रप्रकाश घर्तीले विद्यालयको समस्याबारे बुझ्ने बताए। उनले भने‚ ‘हामीले सबै विद्यालयमा रकम दिएको हो तर त्यो विद्यालय कसरी छुट्यो?’
                                                                    #हेमन्त केसी#

तपाईको प्रतिक्रिया