२७ भाद्र २०७८, आईतवार

बारेकोटमा सामुदायिक खाद्य बैंक सञ्चालन


बारेकोट । बारेकोट गाउँपालिकाको समन्वय र विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटले स्थापना गरेको सामुदायिक खाद्य बैंकबाट अनौपचारिक रुपमा कार्य सञ्चालन सुरु गरिएको छ ।

बारेकोट गाउँपालिकाका प्रमूख प्रशासकिय आधिकृत गोविन्दबहादुर सिंह र विश्व खाद्य कार्यक्रमका फिल्ड संयोजक कृष्ण थापाले सयुक्त रुपमा सामुदायिक खाद्य बैंकमा खाद्य भण्डारण गरी गाउँपालिकाका अति विपन्न तथा जोखिममा परेका तीन जना वडा नं ५ का मोतीलाल कामी, मिना कामी र वडा नंं २ की पशुपति रोकायलाई बैंक मार्फत प्रति व्यक्ति ३० के.जी खाद्य सहयोग गरिए सँगै बारेकोट गाउँपालिकामा सामुदायिक खाद्य बैंक अनौपचारिक रुपमा सञ्चालनमा आएको हो ।

प्राकृतिक जोखिमका कारण सृजित समस्याले उत्पन्न गर्न सक्ने खाद्य असुरक्षाको अवस्थालाई तत्काल समाधान गर्न तथा खाद्य असुरक्षाको जोखिममा रहेका अति विपन्न, दलित, जनजाती, एकल महिला र अन्य नागरिकलाई संविधानले प्रदत्त गरेको खाद्य अधिकार समेतलाई सम्बोधन गर्ने गरी बारेकोट गाउँपालिकामा सामुदायिक खाद्य बैंक स्थापना गरिएको हो ।

सामुदायिक खाद्य बैंकको दिगो सञ्चालन तथा व्यवस्थापनका लागि गाउँ कार्यपालिका बाट “सामुदायिक खाद्य बैंक स्थापना, सञ्चालन तथा व्यवस्था कार्यविधी २०७८” पारित गरिएको प्रमूख प्रशासकिय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिए ।

कार्यविधीले निर्देशित गरे बमोजीम आगामी दिनमा सामुदायिक खाद्य बैंकमा खाद्य व्यवस्थापनका लागि व्यक्तिगत चन्दादाता, संस्थागत चन्दादाताहरुबाट पनि सहयोगको लागि अपिल गरिने साथै गाउँपालिकाले पनि बार्षिक रुपमा बजेट व्यवस्थापन गरी सामुदायिक खाद्य बैंकलाई निरन्तरता दिइने गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले बताए ।

मौसममा सुधार आई यातायात नियमित भए पश्चात सम्पूर्ण सरोकारवालाको उपस्थितिमा सामुदायिक खाद्य र्बैकको औपचारिक उदघाट्न गरिने पनि उनले बताए । हाल बारेकोट गाउँपालिकाको विभिन्न ठाँउमा आएको पहिरोले यातायात अबरुद्ध भएको छ ।

गाउँपालिकामा खाद्य बैंक स्थापना भए सँगै प्राकृतिक विपदका कारण हुन सक्ने शिघ्र खाद्य असुरक्षाको अवस्थालाई तत्काल समाधान गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

सम्भवत नेपालमै पहिलो पटक बारेकोट गाउँपालिकाले सामुदायिक खाद्य बैंकको अवधारणा अघि सारेको छ । यस अभियानमा विश्व खाद्य कार्यक्रम र पाँचतारा युवा संरक्षक मञ्चको निरन्तर प्राविधिक सहयोग गर्दै आएको छन् ।