विद्यालयहरु खुल्ने क्रम बढ्दै, कोरोनाको जोखिम भने कायमै


जाजरकोट । कोरोना सङ्क्रमण घट्दै जाँदा विद्यालयहरु खुल्ने क्रम बढेको छ । स्थानीय सरकारले कोरोना सङ्क्रमणको अबस्था हेरेर स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै धमाधम विद्यालय खोल्न थालेका हुन् । झण्डै ६ महिना देखि घरमै रहेका बालबालिका पनि विद्यालय जान पाएर खुशी छन् । कोरोनाको दोस्रो लहर बढेपछि २०७७ चैत यता बन्द रहेका विद्यालय बिस्तारै खुल्न थालेका छन् ।

जाजरकोटमा पनि स्वास्थ्य साबधानी अपनाउँदै विद्यालयहरु खोल्न थालिएको छ । लामो समयपछि विद्यालय जान पाएर बालबालिका खुशी छन् । विद्यालय बन्द हुँदा साना बालबालिकाहरुले अक्षर चिन्न नै बिर्सिसकेका थिए भने अलि ठुला बालबालिकाहरु दिन भरी मोेबाईलमा ब्यस्त हुन्थे । तर विद्यालय खुलेर पठनपाठन शुरु भएपछि विद्यार्थी झैं अभिभावक पनि खुशी छन् ।

सरकारले जारी गरेको सूचना अनुसार स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पूरा गरेर विद्यालय खोलिएको विद्यालय प्रशासनहरुको दाबी छ । कोरोना सङ्क्रमणको अबस्था हरेर आफ्नो पालिका क्षेत्रको विद्यालय खोल्ने वा बन्द गर्ने अधिकार स्थानीय सरकारसँग छ । आफ्नो पालिका भित्रका विद्यालयका प्रधानाध्यापकहरु सँगको छलफल गरी सुरक्षाका मापदण्ड अपनाउने प्रतिवद्धता पछि, नेपाल सरकारको विद्यालय संचालन सम्बन्धी कार्यढाँचा २०७७ अनुसार पठनपाठन अनुमति दिईएको छ ।

जाजरकोटमा रहेका सामुदायिक र निजी विद्यालय खुल्न थालेका छन् । तर कोरोना विरुद्धको खोप नलगाएका कारण बालबालिका सङ्क्रमणको उच्च जोखिममा भएकाले उनिहरुको स्वास्थ्य सुरक्षाको विषय विद्यालय प्रशासन र अभिभावकका लागि चुनौतिपूर्ण देखिएको छ । जाजरकोटको बारेकोट पालिकाकाले धमाधम विद्यालय खोली पठन पाठन सुरु गरेको दुई हप्ता भन्दा धेरै भएको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका शिक्षक कालीप्रसाद थापाले जानकारी दिए ।

यस्तै, भेरी नगरपालिकाले पनि एक सुचना जारी गरी नगरपालिका भित्रका सामुदायिक र संस्थागत विद्यालय खोल्न आग्रह गरेको छ । जिल्लाका सात वटै स्थानीय तहका विद्यालय खोल्न सुरु भईरहेको शिक्षा यूवा तथा खेलदुक शाखाहरुले जनाएको छ । १८ बर्ष पुरा भएका नागरिकलाई कोरोनाको खोप भएपनि मुनिका बालबालिकाहरुलाई के गर्ने भन्ने चिन्ता अभिभावक शिक्षक सबैलाई चिन्ताको विषय बनेको छ ।

कोरोनाको खोप अनिवार्य
कोरोनाको खोप लगाएर मात्रै परीक्षा केन्द्रमा उपस्थित हुन विद्यालयले आग्रह गरेका छन् । आगामी ३० गते देखि सुरु हुने कक्षा १२ को परीक्षाका लागि जाजरकोटमा रहेका विद्यालयहरुले स्वास्थ्य सेवा कार्यालय संग सहकार्य गरी खोप लगाईरहेको भेरी ज्ञानोदय क्याम्पस जाजरकोटका उप प्राध्यापक पुर्णबहादुर सुनारले बताए ।

यता भेरी ज्ञानोदय क्याम्पसले पनि कोरोनाको खोप अनिवार्य लगाउन विद्यार्थीलाई आग्रह गरेको छ । त्रिभुवन माद्यामिक विद्यालय खलंगामा पनि कोरोना खोपको अभियान चलिरहेको छ ।

१८ बर्ष पुरा गरेका विद्यार्थीहरुलाई खोप लगाईन्छ भने त्यहाँ भन्दा मुनिका बालबालिकालाई निकै समस्या परेको छ । रोकिएका परीक्षामा सामेल हुन् अनिवार्य खोप लगाउनुपर्ने विद्यालयले सुचना जारी गरेका छन् ।

तपाईको प्रतिक्रिया