२६ भाद्र २०७८, शनिबार

मकै जोगाउन रातभर जाग्राम


मुगु । मुगुका अधिकांश बस्तीमा दुम्सीलगायत अन्य वन्यजन्तुले अन्नबाली सखाप पार्न थालेपछि स्थानीयहरू रातभर जाग्राम बस्न बाध्य छन् । सोरु गाउँपालिकाको लिब्रु, फोतु, सोड्डा, रावलबाडा, बागेलगायत बस्तीमा दुम्सीले बदाम, चिनो, कागुनो, फापर, कोदो, मास, सिमी, आलु, घैयालगायत बाली मास्न थालेपछि जोगाउन रातभर जाग्राम बस्नुपर्ने बाध्यता भएको हो ।

दुम्सीबाट अन्न जोगाउन पालो लगाएर रातिमा पहरा बस्न थालेको सोरु गाउँपालिका–४ माथिलिब्रुका सिंहबहादुर शाहीले बताए । ‘हातमा टर्चलाइट लिएर खेतबारीको छेउछाउ बस्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘दुम्सी आउने बाटो पहिल्याएर पासो थापे पनि नियन्त्रण गर्न सकिएन ।’ वन्यजन्तुको हूल बारीमा पस्ने डरले कहिलेकाँही थाल र टिन ठटाएर बस्नुपर्ने उनको भनाइ छ । उनले दुम्सीको डरले खेतबारी बााझै राख्नुपर्ने बाध्यता भएको गुनासो गरे ।

स्थानीय सामुदायिक वनमा वन्यजन्तुका लागि उपयुक्त आहारा नभएपछि खेतबारीमा पल्किएको फोतुगाउाका नन्दवीर नेपालीले बताए । दिनभरि चरा, कुकुर र बाँदरले दुःख दिने गरेका छन् । रातिको समयमा दुम्सी, बँदेल, भालु र स्यालले अन्नबाली मास्ने गरेको उनले बताए । ‘एक त अन्नबाली उत्पादनै हुन्न,’ उनले भने, ‘त्यसमा पनि वन्यजन्तुले दुःख दिने गरेका छन् ।’ उनका अनुसार अधिकांश किसान खेतबारी वरिपरि अस्थायी टहरो बनाएर अन्नबाली कुर्ने गरेका छन् । उनले जंगल नजिकमा खेतबारी भएका किसानले अन्नबाली लगाउन छोडेको बताए ।

जेठ÷असार लगाएको अन्न भित्र्याउनै मुस्किल हुने गरेको खत्याड गाउँपालिकाका चिनबहादुर रोकाले बताए । ‘दिउँसोमा चहलपहल हुने भएकाले वन्यजन्तु बारीमा पस्न डराउँछन्,’ उनले भने, ‘रातिको समयमा हुल बाँधेर वन्यनजन्तु बारीमा पस्ने गरेकाले पालो लगाएर पहरा दिन बाध्य छौं ।’ उनले खेतबारीमा आगो बालेर पनि वन्यजन्तु धपाउने प्रयास गरिएको बताए । उनका अनुसार ५ वर्षयता अन्नबालीमा वन्यजन्तु आउने क्रम बढेको छ । बर्षेनि वन्यजन्तुले बालीमा नोक्सानी पु¥याउन थालेपछि लिब्रु, फोतु, सोडडा, आल्लेखाडालगायत गाउँका किसानले अन्नबाली लगाउन छाडेको उनले जानकारी दिए ।