२५ भाद्र २०७८, शुक्रबार

कविता : बेहक गुलाम नागरिक

बग्दाद र लेवनानका
वस्तिहरूमा
आकाशबाट बम खसाएर
बुलडोजरले जोत्ने
हुसेन र गद्दाफीलाई
सुलिमा चढाउने
उसको मानवअधिकारको
खाँटी परिभाषा ।
जान्दाजान्दै
तिमीलाई सत्तासंग
देश साट्न दिंदैनौं
बरू जीउमा
एकथोपा रगत रहेसम्म
देशकोअस्मिता रक्षार्थ
लडेर मरौंला
तर
अर्को अफगान बनाउने
हामी मञ्जुर छैनौं ।। १ ।।

सिरिया र काबुलका
वस्तिहरूमा
मिसाइल र रकेटले
आगो लगाएर
खरानी बनाउने
उसको लोकतन्त्रको
खाँटी परिभाषा !
थाहा हुँदाहुँदै
तिमीलाई सत्तासंग
देश साट्न दिंदैनौ
जीउमा एकथोपा
रगत रहेसम्म
देशको स्वाभिमानको रक्षार्थ
बरू लडेर मरौंला
तर
अर्को अफगान बनाउन
हामी मञ्जुर छैनौं ।। २ ।।

प्यालेस्टाइन र कम्बोडिया
चिली र निकारागुवाका
वस्तिहरूलाई
बम बारूदले
सोत्तर बनाएर
शान्ति र बिकासको
अनुपम उपहार बाँड्ने
उसको रणनीतिलाई
चिन्दा चिन्दै
तिमीलाई सत्तासंग
देश साट्न दिदैनौ
जीउमा एकथोपा
रगत रहेसम्म
बरू रणमा
लडेर मरौंला
तर
अर्को अफगान कनाउन
हामी मञ्जुर छैनौं ।। ३ ।।

हो , बुद्ध भूमिलाई
युद्ध भूमि बनाउने
उसको शकुनि चालमा
नाच्नेहरूलाई
नाच्न देउ
दियालो बालेर चलेको
मेरो वस्तिलाई
चाहिंदैन उसको
झिलिमिली बिजुली
बरू हामी अँध्यारोमा
बस्न मञ्जुर छौं ।। ४ ।।

सडक चौडा बनाएर
त्यही सडकमा
उ लेख्ने छ
हामीलाई निशेध !
गुडाउने छ उसले
आफ्नै
युद्धपोत र बख्तरबन्द
गाडीहरू ,
हो , चरचर फाट्लान
रक्ताम्य होलान्
मेरा नाङ्गा कुर्कुचाहरू
चाहिंदैन उसको
कालोपत्रे सडक
बरू
मेरै गाउँको
गोरेटो ठिक छ
हजार माइल हिड्न
हामी मञ्जुर छौ ।। ५ ।।

त्यसैले
कमरेड प्रचण्ड !
यतिखेर
तिमी अडियौ भने
देश पनि अडिने छ
अनि हामीसंग
स्वाभिमानको हुनेछ
तिमी पग्लियौ भने
देश पनि पग्लिने छ
त्यसपछि
हामी बन्नेछौं
यो धर्तीका
बेहक गुलाम नागरिक ।। ६ ।।