रुकुम पश्चिमका सामुदायिक विद्यालयमा पठनपाठनको तयारी

रुकुम पश्चिम । विद्यालय बन्द भएको लामो समयपछि पश्चिम रुकुमका स्थानीय तह खोल्ने तयारीमा लागेका छन् । आठबीसकोट नगरपालिकाले १५ गतेदेखि विद्यालय सञ्चालनको निर्णय गरेको छ । बुधबार भएको प्रधानाध्यापकको बैठकले विद्यालय खोल्न सहमति गरेको हो ।

कोरोना संक्रमण घट्दै गएको र स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको निर्णय भएको जनविकास माविका प्रधानाध्यापक दीपकसंगम थापाले बताए । ‘हामी सबै विद्यालय खोल्ने कुरामा एकमत भएका छौं,’ उनले भने, ‘अब नयाँ शैक्षिक सत्रको पठनपाठन गर्ने निर्णय भएको छ ।’ कोरोना बढ्ने स्थितिमा बाहेक नत्र नियमित पठनपाठन गर्ने गरी निर्णय भएको उनले जानकारी दिए ।

मुसीकोट नगरपालिकाले पनि १३ गतेदेखि पठनपाठनको सहजीकरण गर्ने निर्णय गरेको छ । गत शुक्रबार बसेको प्रधानाध्यापकको बैठकले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर पठनपाठन सुरु गर्ने गरी निर्णय गरेको थियो । कोरोना संक्रमण दर घटेकाले सकेसम्म दूरी कायम गरी स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर विद्यालय सञ्चालनको निर्णय भएको नगरपालिकाले जनाएको छ । लामो समय विद्यालय जान नपाएपछि पठनपाठनको मेलो नै बालबालिकाले बिर्सन थालेको अभिभावक यज्ञबहादुर ओलीले बताए । उनले संक्रमण न्यूनीकरण कसरी हुन्छ, त्यसरी नै पढाइ गर्न जरुरी रहेको बताए ।

मुसीकोट नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बिनाराम खड्काले अवस्थाको विश्लेषणअनुसार नै पठनपाठनलाई अघि बढाउने तयारी भइरहेको बताए । ‘अन्य वैकल्पिक विधि पनि प्रभावकारी देखिएनन्,’ उनले भने, ‘सुरक्षाका सबै मापदण्ड पालना गरी पठनपाठन सुरु गर्ने तयारी थालेका छौं ।’

चौरजहारी नगरपालिकाले पनि पठनपाठनको सहजीकरण गर्ने निर्णय गरेको छ । जिल्लाका तीन गाउँपालिकाले भने यस विषयमा निर्णय गरेका छैन । अब हुने कार्यपालिका बैठकमार्फत यस विषयमा निर्णय हुने गाउँपालिकाले जनाएका छन् । बाँफिकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत ज्ञानबहादुर खड्काले ११ गते हुने कार्यपालिका बैठकले यसबारेमा निर्णय गर्ने बताए । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले स्मार्ट लकडाउनको कार्यविधिअनुसार कार्यविधिभित्र पर्ने विद्यालयलाई पठनपाठन गर्न÷गराउनका निम्ति स्थानीय तहसँग समन्वय गरिरहेको बताए ।

तपाईको प्रतिक्रिया