जुम्लाको स्याउ बजारमा निर्यात शुरु

जुम्ला । जुम्लामा उत्पादन भएको स्याउ नेपालका विभिन्न बजारमा पठाउन सुरु भएको छ । भदौको पहिलो सातादेखि स्याउ निर्यात गर्न सुरु भएको हो ।

स्याउ पाकेर खान लायकको भएपछि बजारमा बिक्रीका लागि निर्यात सुरु भएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयले सूचना जारी गरी निर्यातका लागि भदौको पहिलो सातादेखि खुला गरेको हो ।

स्याउ उत्पादनका लागि सहयोग गर्ने निकायबीच गुणस्तरीय स्याउ बजारमा पठाउनका भदौ पहिलो सातासम्म स्याउ बिक्रीका लागि सिफारिस नदिने निर्णय गरिएको थियो । कृषि फर्म सञ्चालन गरेका तथा स्याउ बगैंचा भएका किसानहरुले आफ्नो स्याउ बिक्रीका लागि सम्बन्धित स्थानियतहबाट सिफारिस लिनुपर्ने प्रावधान छ । जुम्ली स्याउको पहिचान बचाउन जुम्ली स्याउको लागो टाँसिएको कार्टन ब्यापारीलाई उपलब्ध गराइएको छ ।

स्याउ निर्यात खुला गरिएपछि अहिलेसम्म दुई हजार टनभन्दा बढी निर्यात भइसकेको कृषि विकास कार्यालयका प्रमुख बालकराम देवकोटाले जानकारी दिए । जुम्लामा उत्पादित स्याउ ए‚ बी र सी ग्रेडमा छुट्याइएको छ। जसमध्ये ए र बी ग्रेडको स्याउ निर्यात गरिएको छ । सी ग्रेडको जुम्लाका स्याउ प्रशोधन केन्द्रमा बिक्रीका लागि दिइने गरिएको छ ।

३१ हजार अनुदानका कार्टन वितरण

जुम्लामा उत्पादित स्याउ बजारमा पठाउन यस वर्ष ३१ हजार ८०० वटा कार्टन वितरण गरिएको छ । स्याउ सुपोरजन कार्यालय जुम्लाले १० दश हजार ८०० र कृषि विकास कार्यालयले २१ हजारवटँ वितरण गरेको हो ।

स्याउ जिल्ला बाहिर निर्यात गर्न सहज होस् भनी ५० प्रतिशत अनुदानमा किसानलाई कार्टन उपलब्ध गराइएको हो। स्याउ सुपोरजोन कार्यालयमा ५१६ उद्योगी, कृषि फार्म‚ सहकारी कृषक समूह सूचीकृत छन्।

जुम्लामा १५ हजार बगैंचा

जुम्लामा १५ हजार स्याउ बगैंचा भएको तथ्यांक छ । जिल्लाको कुल १८ हजार घरधुरीमध्ये करिब १५ हजार घरमा स्याउ बगैंचा स्थापना रहेको कृषि विकास कार्यालयले जनाएको छ ।

जुम्लाको ३ हजार ८०० हेक्टरमा स्याउ खेती हुन्छ। यस वर्ष व्यापारीले बगैंचामा नै पुगेर प्रतिकिलो ५० देखि ६० रुपैयाँमा स्याउ खरिद गर्दै आएका छन् । गत वर्ष करिब १२ करोड रुपैयाँ बराबरको स्याउ बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया