१२ भाद्र २०७८, शनिबार

मुगुको सोरु गाउँपालिकामा अझै पेश भएन बजेट

‘विवादका कारण बजेट बाँडफाँट नहुँदा कुनै पनि योजनाको काम सुरू भएको छैन’

मुगु । सोरु गाउँपालिकामा चालु आर्थिक वर्षको बजेट पेस नहुँदा सेवा प्रवाह र विकास निर्माणका काममा अन्योल भएको छ । गत असार २० गते आठौं गाउँसभा उद्घाटनका क्रममा जनप्रतिनिधिबीच विवाद भएपछि गाउँसभा अन्योलमा परेको हो ।

विवादका कारण स्थगित भएको गाउँसभा कहिले बस्ने भन्नेबारे अझै निश्चित भएको छैन । बजेट बाँडफाँट नहुँदा वडादेखि गाउँपालिकास्तरमा छनोट भएका दर्जनौं योजनाहरू कार्यान्वयन भएका छैनन् । अहिले जनप्रतिनिधि र केही कर्मचारी जिल्लाबाहिर छन् । स्थानीय तह सञ्चालन ऐनअनुसार असार १५ गतेभित्र गाउँसभा सञ्चालन गरी आगामी आर्थिक वर्षको बजेट विनियोजन गरिसक्नुपर्ने वैधानिक व्यवस्था छ ।

बजेट पेस नहुँदा वडास्तरमा छनोट भएका योजना अघि बढाउन समस्या भएको वडा नं. २ का वडाअध्यक्ष ऐनबहादुर शाहीले बताए । ‘विवादका कारण बजेट बाँडफाँट नहुँदा कुनै पनि योजनाको काम सुरु भएको छैन,’ उनले भने, ‘कर्मचारीले जेठदेखि तलब पाएका छैनन् ।’ बजेट पेश नहुँदा सबैजसो विषयगत शाखा र वडा कार्यालय कामविहीन बनेको उनले बताए ।

जिल्लाका मुगुमकार्मारोङ, खत्याड गाउँपालिका र छायानाथरारा नगरपालिकाले भने चालु आर्थिक वर्षको बजेट पास गरी योजना सम्झौताको काम सुरु गरेका छन् । विभिन्न कारणले बजेट बाँडफाँटमा ढिलाइ भएको अध्यक्ष लोकबहादुर शाहीले बताए । ‘केही जनप्रतिनिधि पनि जिल्लाबाहिर हुनुहुन्छ,’ उनले भने, ‘नयाँ प्रमुख प्रशासकीय अधिकृत आएपछि गाउँसभाको आयोजना गरी बजेट पेस गरिनेछ ।’
त्यस्तै सोरुमा ४ वर्षको अवधिमा ५ जना प्रमुख प्रशासकीय अधिकृत फेरिएका छन् । । राजनीतिक खिचातानीका कारण गाउँपालिकामा हरेक वर्ष प्रशासकीय अधिकृत फेरबदल हुँदा दैनिक, प्रशासनिक र विकास निर्माणका योजना प्रभावित भएका छन् । स्थानीय तह गठन भएको पहिलो वर्ष तीर्थराज शाही, दोस्रो वर्ष पशुराम उपाध्याय र तेस्रो वर्ष धान्ने बुढा गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रूपमा आएका थिए । यसअघिका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र मल्लको सरुवा भएपछि संघीय सरकारले लालबहादुर मल्ललाई प्रमुख प्रशासकीय अधिकृतमा खटाएको छ ।

राजनीतिक हस्तक्षेपका कारण गाउँपालिकामा हरेक वर्ष प्रमुख प्रशासकीय अधिकृत फेरबदल भइरहेको नायब सुब्बा धान्ने बुढाले बताए । ‘एक जना अधिकृतले राम्रोसँग काम गर्न नपाउँदै अर्को अधिकृत फेरिँदा कामकाज प्रभावित भइरहेको छ,’ उनले भने, ‘अधिकृतकै कारण विकास निर्माणका काममा पनि समस्या भइरहेको छ ।’

यसैगरी गाउँपालिकाले अझैसम्म गाउँपालिकाको केन्द्र तोक्न सकेको छैन । केन्द्रको टुंगो नलाग्दा भौतिक संरचना निर्माणका कामहरू लामो समयदेखि प्रभावित भएका छन् ।

अहिले सोरुकोटस्थित इलाका वन कार्यालयको जीर्ण एवं साघुँरो भवनबाट गाउँपालिकाको कामकाज सञ्चालन भइरहेको छ । वन डिभिजन कार्यालयले भने भवन खाली गरिदिन गाउँपालिकालाई पटकपटक आग्रह गरिरहेको छ ।