‘पीडा भित्र रमाएको पल’

–धिरेन ‘अनुपम’

No description available.

एक महिना अघि फेसबुकका भित्ताबाट एककान, दुईकान हुँदै सुचना मैदान भयो । नारा थियो ‘हाम्रो अभियान , सल्यान कला साहित्यको उत्थान’

‘‘शेर सिमाना’’

सुर्खेत, सल्यान जाजरकोट र रुकुम पश्चिम गरि चार जिल्लाका २० श्रष्टालाई जोडेर सल्यान कला साहित्य परिषदको आयोजनामा र जाजरकोटी साहित्य आवाजको सक्रिय समन्वयमा चार जिल्लाका पाँच पाँच गजलकारहरुका गजलका शेरहरु सिमानामा सुन्ने कार्यक्रम तय भयो । ब्यानर सार्वजनिक पनि भयो । सबै सायरहरुले आआफ्नो वालबाट ब्यानर पनि सार्वजनिक गरे ।

जाजरकोट, सुर्खेत र सल्यान सिमाना जोडिएका जिल्ला भएता पनि सबैलाई सबै जिल्लाको भुगोल थाहा नहुन सक्छ । अक्सर जाजरकोट र सल्यान पश्चिम क्षेत्र मेरा पानी पधेंरा जस्तै भएका छन् । धेरै जसो कामको सिलसिलामा म भेरी नदीको तिरै तिर भेरीका छालहरु गन्दै बाईकमा घुइँकि रहेको हुन्छु, जाजरकोट छेडाबाट दक्षिण दिशा बहने हावाको कावा खाँदै । यस बर्ष पानी हिउँदमै धेरै परेको थियोे । असार महिनाको पहिलो साता भरिनै पानी परेपछि त्यसपछि पानी पर्ने छाटकाँट देखिएन ।

असारको पहिलो साता यता पानी परेन खडेरीकै मौसम रहन गयो । नदी नाला बढेका थिएनन् र मुल पनि फुटेनन् । मुल नफुटे पछि नदी नाला बढ्ने कुरा पनि भएन । आकाश बाट झरी परे पछि न हो मुल फुट्ने पनि । लोकेश जलन बेला बेलामा जाजरकोट मनाघाटको अवस्थाको बारेमा कुरा गरिरहनु हुन्थ्यो मैले त्यता कार्यक्रम नराखौं मनाघाट सिमानामा पनि पर्दैन बरु शिवालय राखौं भनेर सल्लाह दिन्थे ।

लेकमा बादलको काँटो लागे पछि मोर्क खोला, रिठे खोला र खार खोला बौलाहाको भेषमा दन्किएर आएको र धनजनको क्षति समेत गरेको तितो यथार्थ आँखाले देखेको पंतिकारको अनुभव हो । मोर्क खोलामा आफ्नै मालवाहक ट्रक फसेपछि जामुनि बजारबाट जेसिबी ल्याएर एक मुक्का ट्रकलाई धकेलेर खोलामात्रै नघाएको सत्रहजार तिरेको पंतिकारले पुरानो तितो अनुभव अहिले पनि भुल्न सकेको छैन ।

रिठेखोला रिठाको डल्लाझैँ उर्लेर आउँदा घण्टौ पछिको प्रतीक्षा पश्चात् बाईकलाई बोकेर खोलो तराएको अनुभव पनि नभएको होइन । आखिर जति सुझाब दिए पनि जसरी उदाहरण दिएर भने पनि मेरो सुझाब साथिहरुलाई लागेन । समयलाई खडेरीकै रुपमा बुझे । आखिर कार्यक्रम मनाघाट नै हुने निश्चित भयो । विहान पख खोचमा रहेको मनाघाट देखे पछि लोकेश जलन भन्दै थिए गुरु मनाघाट त हाईबे नजिकै होला सोचेको थिए बिकट ठाउँ रहेछ, म त पहिलो पटक यहाँ आको । यसरी त पश्चिम जाजरकोटको मनाघाट सुन्दर ठाउँ हो बाटोघाटो, यातायात र सुचना सन्चारको पहुँच राम्रो नहुँदा मनाघाट नगरपालिको केन्द्र जस्तो लाग्दैन । फोन लगाउँदा सयौं पटक मोबाइलका बटनहरु दबाउँनु पर्छ । बटन दबाउँदा दबाउँदा फोन सम्पर्क नभए पछि मोबाइल नै फुटालौं झै झोक चल्छ ।

यी गतिबिधिले राज्यको नजर अहिले सम्म नपुगेको आभाष हुन्छ । सबै गाउँपालिका नगरपालिकाका भवनहरु निर्माण भएर पनि संचालनमा आईसके मनाघाटले अहिले सम्म आफ्नो निजी भवन बनाउन सकेको छैन । जुङ्गाको लडाइमा नगरपालिकाको भवन नभएको तितो यथार्थ त्यहाँकै स्थानिय बासीहरुबाट बुझियो । नेताहरुको यस्तो बानिबेहोरा देख्दा हाम्रो देश कहिले युरोपको दाँजोमा पुग्ला भन्ने महत्वकांक्षी आस गर्नु सिवाय अरु केही देखिदैन ।

देश , समाज, गाउँघर बनाउन ब्यक्तिगत स्वार्थ भन्दा माथी जनप्रतिनिधिहरु नउठे सम्म यो सम्भव पनि छैन । छेडागाड नगरपालिकाको भवन मात्रै होईन नबनेको, जुङ्गाको लडाइमा यस्ता भवनहरु नेपालमा नबनेका थुप्रै होलान । रकम फ्रिज भएर गए पनि यिनको गोजीबाट गएको भए पो जनप्रतिनिधिलाई दुःख महसुस हुने थियोे । राज्यको ढुकुटीबाट फ्रिज हुने रकम यिनलाई बाल मत्लब भएन ।

समय आज भोलि पर्सि गर्दै नजिकिँदै थियोे । साथिहरुका फोन त आई नै रहन्थे । हामी सुर्खेती सायरहरु जम्मा हुने पनि चिया नास्ता गर्ने अड्डाहरु छन् । अक्सर हामी जम्मा भईनै रहन्छौ । गुरुङ होम स्टेमा चियाको चुस्किमा सिगरेटको लामो धुँवाको धस्रो ढोका तिर फाल्दै विरहिले भन्यो दाजु जाजरकोट तपाईं जानेकी नाई ? मैले प्रतिउत्तरमा जवाफ फर्काए सायद म जान भ्याउँदिन होला काठमाडौं जानू छ । ट्रेमा चुरोटको खाग फाल्दै चुरोटको ठुटो ठोस्यो । आँखामा आँखा मिलाउदै दायाँ हातको हत्केलाले ओल्लो र पल्लो गाला सुमसुमाउदै चिउडो मुसार्यो ।

उस्का आँखाहरु भाव शून्य देखिए उ केही बोलेन । जसरी युद्ध हार्ने सिपाहीहरुले दुइहात माथि उठाएर आत्म समर्पण गर्छन उसैगरी दुई हात माथि लिदै कृष्ण ‘विरहि’ले पछाडि तिर टाउको झुकाउँदै ढाड तन्कायो । पर कुनातिर कफि पिउदै गरेका परम मित्र महेन्द्र चन्द ‘महासागर’ले त्यस्तो कहाँ हुन्छ गुरुदेब के भन्नू भएको थियो । ‘बिरही’ले हतार हतार गर्दै प्याच्च भनी हाल्यो दाइ नगए हामी कोही नजाने । यहि कुरा महेशले पनि फोनमा भनेको थियो दाजु तपाईं नगएपछि हामी कोही नजाने । काठमाडौं जानैपर्ने मेरो बाध्यता कि हरिश लाई थाहा थियो कि मित्र ‘महासागर’ लाई ।

प्रिय मित्र र प्रिय भाइहरुले म प्रति देखाएको प्रेमले काठमाडौं आउने कामले केही दिन सम्मको लागि विश्राम लियो । कार्यक्रम हुने पुर्वसन्ध्या अघि म सल्यान आउने कामले सल्यान काप्रासम्म गएको थिए । त्यसै दिन सल्यानको काम सुझाएर म बाँके लागेको थिए । बाँके नपुग्दै जाजरकोटबाट समुहका पदाधिकारीहरुले जाजरकोट खलंगा तुरुन्त आउने खबर गर्नुभयो । एक दिनको बाँके बसाइँ पश्चात म तु खलंगा फिर्ता भए । खलंगाको अफिसियल काम हतार पतार गरेर जसरी पनि सुल्झाए । बाइकको यात्रा बस्नेलाई राम्रो नै लाग्छ तर बाईक राइडरलाई भने लामो यात्राले हैरान बनाउछ । म गले गोरुझै लखतरान थाकेर रुममा विश्राम लिइ बसेको थिए । यस्तै साँझ पाँच बजे तिर हुनुपर्छ ।

जाजरकोटी साहित्य आवाजका अध्यक्ष भाइ भावुक ‘रिदम बाबु’ले फोन गर्यो दाजु पत्रकार महासंघ जाजरकोटको अफिस नजिक आउनु पर्यो । बोलाए पछि नजाने कुरा पनि भएन । म पुग्दा माया, कृष्ण, सपना, कालीबहादुर र रिदम जम्मा हुनुभएको रहेछ । केही भलाकुसारी पश्चात् चिया पिउन माथि लबकुश होटेलमा शरण लियौं । भोक लागेर पनि होला कालो चियाको स्वाद निकै मीठो लाग्यो । चिया पिइवरी पश्चात् कृष्ण, सपना र माया जी आफ्नो गन्तव्य स्थान लाग्नु भयो । काली, रिदम र म त्यही बस्यौं । रिदमले सोमरस लिने आग्रह गरेपछि मैले नकार्न सकिन । बाईक राईडिङले जिउ सार्है दुखेको । मधुरसका प्यालमा चुस्की लगाएर थकावट भुल्ने ईच्छा जागृत भयो । हामी तिनै जना मधुरसका प्यालामा रमायौ ।

व्यबसायको बृद्धिबिकास गर्ने हात साहुजीको पनि रहन्छ तर साहुजीको व्यवहार त्यती ब्यापारिक भने मलाई लागेन कसोकसो ठर्रो लाग्यो । भोलि छेडागाडमा हुने कार्यक्रमको केही कुराकानी पश्चात हामी पनि आआफ्नो बाटो लाग्यौं । सुर्खेतबाट महेन्द्र जी र घनश्याम, विरही र सावित्री स्वप्निल , मौसमजी र दिपक दुर्लभ , महेश के र सृर्जना आउने तय भएको थियोे । साथिहरुको कोर्डिनेसनमा प्राविधिक गड्बडी भएपछि धनश्याम र सृर्जना मध्य कुनै एक छुट्ने अवस्था देखिएपछि सुर्जना र घनश्यामको तारन्तारको फोनले मेरो टाउको दुखाईको बिषय नै बन्यो । मेरो एउटा मात्रै मक्सद थियो बाचक श्रष्टाहरु छुट्नु हुदैन ।

महेशले घनश्यामलाई ल्याएर आउने कुराकानी पश्चात् सृर्जनालाई हाइवे रोडमा आएर बाईक संग लिफ्ट मागेर सल्लीबजार, राकम या छेडा चौर सम्म आउन सल्लाह दिए । सृर्जना त्यसै गरि पिकप भेनमा लिफ्ट मागेर आउँदैछु दाजु भन्ने फोन गाडीबाटै गरे पछि कुदुसम्म सोही भेनमा आउन भने । घडिले साझँको ५ः१५ बजाई सकेको थियो । छेडा चौर बाट मनाघाट जाने बाटो भन्दा मध्यपहाडी जाने बाटो राम्रो लागेर मैले मध्यपहाडी लोकमार्ग भएर पालेबाट र त्यसपछि मनाघाट जाने योजना बुनेको थिए । त्यो योजनाले गम खायो छिनछिनमा परिरहने पानीले बाटोको अवस्था गम्भीर रहेछ । कुदुबाट स्याउले सम्मको बाटाको अवस्था राम्रो रहे पनि स्याउलेबाट मनाघाट सम्मको बाटोको अवस्थाले बाजे बराजुको नै बिहे देखायो ।

केही दिन अगाडि हालेको ग्राबेलको अत्तो पत्तो थिएन ,खाल्डा खुल्डी त्यसै माथि सिमसिमे पानी चक्का डुवाउने हिलाम्य बाटोले मगज नै खराब बनायो । दुःखको गहिराई जति कोट्टाए पनि कम हुदैन । रातले ६,७,८ गर्दै पौने नौं बजाई सकेको थियोे सृर्जना र म कुहिरोले गुजुम्म बनाएको भिरको बाटोमा यात्रा गर्दै थियौ उ भन्दै थिइ दाजु हामी घनाजंगलमा छौ क्या हो ? उस्लाई अफ्ठेरो नहोस भन्ने कुरालाई ख्याल गर्दै अब केही छिन पछि गाउँ आउछ १०÷१५ मिनेटमा अब हामी मनाघाट पुग्छौ भनेर म ढाँटी रहेको थिए । केही समय पछि बडो मुश्किलले पालेबाट सकुसल पुग्न सफल भइयौं । म कामको शिलशिलामा पालेबाट गए भने डाँडोको टुप्पोमा रहेको बहिनी जानकिकै होटेलमा बाँस बस्ने गर्छु ।

बिना सुचना यति अबेर राति म आएको देखेर जानकि झस्किन पनि । यति राती किन आउनु भयो दाइ ? जानकिले सोधिन । भोलि मनाघाट साहित्यिक कार्यक्रम छ त्यसैले आएको । भोक प्यास र थकानले डाँडो नागि सकेको थियो । फ्रुटि पिए पछि केही हल्ला महसुस गरायो । मित्र ‘महासागर’ले स्याउले खोला कटेर माथि भुरपोखराको थाप्लोमा पुग्दा फोन गर्नुभएको थियो । गुरुदेब आज जसरी पनि मनाघाट पुगेर रमाउनु पर्छ । उहाँले त्यति भने पछि हिलाम्य बाटोले उदेक बनाएको मन केही हलुङ्गो भयो । मोटरसाइकलको बेगलाइ छोेडेर चरिको बेगमा मन मनाघाट पुग्यो । चिसो मौसम , निस्फट अध्यांरो रात , डाँडाकाँडाका थुम्कालाई कुहिरोले घेरेर जताततै गज्यामगुजुम ढाकेको हुनाले सृर्जना र म कुहिरोको कागझै बाटोमै हराइ रहेका थियौँ उत्तिस, गुँरास र सल्लाका रुखबाट ठोकिएर आउने हावाले स्वर्गिय आनन्द दिलाएको थियोे । बेला बखत पछाडि फर्केर हेर्दा उसका सेता कपडाले मलाई झस्काउने गर्थ्यो ।

अक्सर चुँडेलहरु सेता कपडा लगाएर चल्ने बाईकमा हावाको गतिमा चढेर सवार गर्छन , सेता कपडा लगाएर बाटोमा उभिएर चुँडेलहरु चालकलाई हात दिन्छन भन्ने खबर साथिहरु सुनाउने गर्थे । सृर्जनाका सेता कपडाले मलाई तेही दृश्य दर्शाउँथ्यो । बाइकमा यत्रो अबेर राति महिलालाई राखेर मैले यात्रा कहिल्यै गरेको पनि थिएन । अक्सर अघिपछि महिलाहरुले हात दिएर लिफ्ट माग्दा पनि म बाइकमा लिफ्ट दिदैन । जेनतेन हिलाम्य दुई जोर शरीर लिएर राति ९ः ३० बजे मनाघाट पुग्यौं । ललित सिंह र रमेश चन्द कुसुम भने समयमै आइसक्नु भएको रहेछ । मानसरोबरका साहुजी कमरेड आयोग हामीलाई कुरीरहनु भएको थियो। छेडागाड नगरपालिकाले सुर्खेती १२ जना साहित्यकार लाई खाने बस्नेको जोहो मानसरोबर होटेलमा गरेको रहेछ सृर्जना र म त्यतै थन्कियौं ।

सुर्खेतबाट आउने साथिहरुको कुनै अत्तोपत्तो थिएन । फोन लगाउने प्रयास जति गरे पनि सबै प्रयासहरु निअर्थका हुन्थे । घडिले ११ बजाई सकेको थियो साहुजी साहुनी निकै आत्तिनु भएको थियो । कमरेड आयोग सर नजिक आएर भन्नू हुन्थ्यो सर अझै साथिहरु आउनु भएन त के गरौँ ? म अब आउनु हुन्छ, अब आउनु हुन्छ भन्दै ढाँटी रहेको थिए । एक्कासी पुलको अगाडि बाईकहरुका लाइटले मनाघाटनै झलमल्ल भयो । आयोग सरको होटेल पनि पुलको मुखमै भएकोले आयोग कमरेडलाई रिसिभ गर्न भने सबै बाइकलाई साँगुरो एकै ठाउँमा थन्काउने काम भयो । साथिहरु एकै साथ पुगे पछि साहुजी साहुनी पनि खुसी हुनु भयो म पनि ढुक्क भए पकाएर राखेको मासुभात अब खेर जाने भएन भन्दै ।

साथिहरु थाकेको हुनाले मधुरसको प्यालामा रमाउने योजना बन्यो, खाईबरी पश्चात महफिल पनि जम्यो । धेरै दिन पछिको भेटघाट भएर होला रमेश कुसुम निकै खुशी देखिनु हुन्थ्यो । हामी मनाघाट पुग्दा उहाँ र ललित जी निदाइ सक्नु भएको थियोे साथिहरु पुगेपछि उहाँ निन्द्रादेवीको काखलाई छोडेर महफिलमा गजल सुनाउन हत्तारिएर आउनु भएको थियो । आखिर जिन्दगी भित्रको एक मजा यो पनि त हो । गजल सबैले सुनाए पछि सुत्ने कामले पुर्णता पाउनु पर्थ्यो हामी सबै आआफ्नो कोठा तिर लाग्यौं मलाई साहुजी ( क. आयोग) सरले छुट्टै कोठाको ब्यबस्था गर्नु भएको थियो । मित्र महेन्द्र चन्द ‘महासागर’ र म नेपाली गजल र साहित्यको बारेमा छलफल गर्दै करिब राति दुई बजे तिर निदायौं होला ठ्याक्कै घडि भने हेरिएन । चराचुरुङ्गी को च्वाइ चुई कतै थिएन । भुसुकै निदाएको थाहानै भएन

उज्यालो भइसकेको रहेछ हामी मस्त निद्रामै थियौँ । कुखुरा, चराचुरुङ्गी र मान्छेको चहलपहलले उज्यालो भएको संकेत गरेता पनि आखा खुल्न सकेका थिएनन्। पिसाबले च्यापेपछि माथि घरको छतबाट सु गर्नु पर्ने सोचले बडो मुस्किलले आखा खोलियो । झ्यालबाट पुरै घाम बिस्तरामा असरल्ल छरिएर जताततै उज्यालो थियो । छत बाट ‘सु’ गरेर फेरि निदाउने सपना भने चक्नाचुर भयो । अब उठेर विहानको नित्य कर्म गरेर फ्रेस हुनुको बिकल्प थिएन । कार्यक्रम चाडै सकेर चाडै सुर्खेत पुग्ने सपना बाहेक अर्को सपना थिएन । साथिहरु अध्यारोमा ज्यान हत्केलामा बोकेर मोर्क र खार खोलामा बाइकलाइ भिरको बाटो हुदै झुलुङ्गे पुल तरेर आएका कुरा सुनाउदा भोलि कसरी जाने यहि कुरा महफिलमा सुन्नाउदा आङ जिरिङ हुन्थ्यो ।

सल्यान बाट इन्द्रा बहिनी संग आउने टोली छेडा चउरबाटै पैदल हिडेर १२ बजे राति पुगेको कुरा बिहान नुहाउन जाँदा साथिहरु सुनाउथे । यो दुःख नभएर नेपाली गजल प्रति देखाएको मायामोहो हो भन्ने लाग्छ । ईतिहासले एकदिन जरुर तमाम इन्द्रा जस्तै बहिनिहरुको मुल्यकन गर्ने छ । कार्यक्रमको लागि दाङ्गबाट प्रस्तान गर्नुभएका परिषदका अध्यक्ष भरत रोकए एक्सनको कुनै अत्तो पत्तो थिएन । खोलामा पानीको बहाब बढेकाले गाडि हिड्ने बाटो बाट बाइक चलाएर पारि तार्ने उपाए थिएन । ब्यानरमा उल्लेखित समय अनुसार कार्यक्रम १० बजे शुरुहुने भनिएता पनि कार्यक्रम १० बजे शुरुहुने कुनै छाँटकाँट देखिएको थिएन । सायर दर्शकहरु जबै नगरपालिकाको सभाहलमा जम्मा भई सकेका थिए प्रमुख अतिथि समयमै नपुग्दा साथिहरु हैरान देखिन्थे ।

पुर्ण ‘समिर’ले फोनमा मेयर लालबहादुर महतारा ज्यु लाई बारम्बार सम्पर्क गर्ने कोसिस गरे पनि सबै कोसिस बालुवामा पानी हाले सरह बाहेक अरु कुनै उपलब्धी देखिको थिएन । सभाहलको भित्तमा बिग्रेको घडिले पनि १२ः४५ बजाई सकेको थियो । कुनै बेला बिग्रेका घडिले पनि सहि समय जनाउने रहेछ भन्ने कुरा आफ्नो नाडिको घडि हेरे पछि यो कुरा बल्ल थाहा भयो । टाढाका साथिहरु घर फर्किन हतारी रहनु भएको थियोे । कार्यक्रम संचालन भएर सकिने कुराको ठेगान थिएन । कार्यक्रम स्थलमा सबै साथिहरु जम्मा भईसकेका थिए । पुर्ण समीर र मेरो सल्लाह बमोजिम प्रमुख अतिथिको सिटलाई ऐजन ऐजन राख्दै कार्यक्रम उपप्रमुख सरिता वली बाट ब्यानर पढेर उद्घाटन गर्ने सल्लाह भयो। सोही अनुसार १स्१२ बजे उपप्रमुखबाट कार्यक्रम भने मुताबिक समुद्घाटन भयो ।

जाजरकोट बाट सुरु हुँदै सल्यानमा आएर श्रष्टाहरुका दुई दुइवटा गजल वाचनले बिराम लियो । जाजरकोट बाट राज समर्पण शाही, जनक चन्द ऋतु, सुर्खेतका सावित्री ‘स्वप्निल’ घनश्याम ‘ऋुतु’ , मौसम जी , सल्यान बाट इन्द्रा केसी , टोप घर्ती ‘अनुरागी’, ओम र सुनिलले लगाएत रुकुमका भाईहरुले आआफ्ना मर्म स्पर्सि उत्तेजक गजल सुनाउनु भयो । कार्यक्रम सन्चालन भएको केही समय पछि छेडागाड नगर प्रमुखको आगमन भयो । प्रमुख अतिथिको कुर्सी खालि नै थियो । कार्यक्रम सन्चालिका शान्ता बिसी ले खालि भएको सिटमा नगरप्रमुखलाई प्रमुख अतिथी आसन ग्रहण पश्चात् कार्यक्रमले रफ्तार लियो । सबैका सेरले जरुर केही न केही बोलेकै थिए । साबित्री स्वप्निलको वाचन कला र दर्शकको तालिको पर्राले निदाउनु भएका प्रमुख अतिथीको निद हराम गर्यो, उनी ब्युझन बाध्य भए ।

नगर प्रमुख, लालबहादुर महतारा उप प्रमुख सरिता वली , पुर्ण समीर, लोकेश जलन र सभा अध्यक्ष भरत रोकाए ‘एक्सन’ को संक्षिप्त मन्तव्य पश्चात कार्यक्रमले बिट मार्यो । कार्यक्रम निर्धारण गरियको समय भन्दा निकै अबेर सकियो । छुटिने बेला मेयर साब र दिदी सरिता वली भन्दै हुनु हुन्यो सर कमजोरी भयो । कार्यक्रम यस्तो हुन्छ भन्ने थाहानै भएन असुबिधा भयो होला नराम्रा कुरालाई यही छोडेर राम्राकुरा मात्रै लिइ दिनुहोला । यसरी त बाटो घाटो यातायात ले हामिलाई मात्रै असहज बनाएको होइन यो समस्या सम्पुर्ण जाजरकोटीहरुको हो । खान बस्न राम्रै ब्यबस्था गर्नु भएकोमा छेडागाड नगरपालिका धन्यबादको पात्र मात्रै होइन छेडागाड नपा बाट अरु स्थानिय निकायले पनि साहित्यिक अनुष्ठान आयोजना गर्ने ईच्छा शक्ति राख्नु पर्छ । घडिको सुइरोले ४ बजाइ सकेको थियो । सुर्खेती टिमले बाईक स्टार्ट गरेर पालै पालो नदि तार्यो । खार खोलाबाट बाईक तार्न नसकिने देखे पछि भिरमा डोराएर बाइक निकाल्ने योजना अनुसार हामी झुलुङ्गे पुलमै बाईक कुदायौं ।

पुल क्रस गरेपछि पुलको पारिको मुखबाट मैले बाईक डोराए पछि बाट एमसी गुरुदेव र भाइ दिपक दुर्लभले सहयोग गर्नु भयो । कोही भाइ बहिनीहरु टिकटक र भिडियो बनाउन ब्यस्त रहे । सबै बाइक सकुसल सजिलो ठाउँमा अवतरण गराए पछि हाम्रो यात्रा खारखोलाबाट अगाडि बढ्यो मोर्क पुग्दा ४ः४५ भइ सकेको थियो । शिवालय काम गर्न जाँदा थाक मेटाउने मौसमजीको अड्डा बिजय होटल रहेछ त्यहाँ कुखुराको मासुको सेकुवा पाइने रहेछ । उहाँकै सल्लाह बमोजिम सुर्खेती जम्मै टिम त्यहाँ नास्ता गरेर अगाडि बढ्ने सहमति अनुसार हामिले सेकुवा अर्डर गर्यौं । न रमाउने साथिलाई छोडेर रमाउने साथिहरु मधुरसमा रमाइ हाल्यौं । सृर्जना दोहोरी गाउनमा माहिर रहि छे । खै कुन प्रसंगमा हो उस्ले दोहोरीको टुक्का भनिहाली । म भने लाटोले केरा हेरेझै ट्वाल्ल परेर हेरिरहे । कृष्ण, दिपक दुर्लभ, मौसमजी, आशिष, घनश्यामलाई भने तिमिहरुलाई दोहोरी गाउन आउदैन , उनिहरुले आउदैन भन्दै टाउको बटारे गले गोरुलेझै । टाउको दुख्यो भन्दै भित्तामा अडेस लगेर बसिरहेका मित्र महासागरलाई केहो गुरुदेव दोहोरी गाउनु पर्यो १ के मजाक गरेको थिँए उहाँलाई राम्रै दोहोरी आउने रहेछ । दुखेको टाउकोलाई भाडमा फालेर उहाँ र सृर्जनाको लामै दोहोरी चलिहाल्यो मादलको तालमा ।

निकै रमाईलो भयो बिचमा महेस के पनि गेडा गनिगनि दोहोरी भन्न थाल्यो । सुरुवाति उठान फरक लयमा भने पनि अन्ततस् त्यही लयमा ल्याएर टुङ्गाउने गर्थ्यो । स्वर भने उस्को माथि मनाघाटबाट गड्याङ्गुडुङ्ग बगि आउने निस्याइलो छेडाखोलाको आवाज जस्तो थियो । दोहोरी जमेको देखे पछि मोर्क बजारका साहुजी साउनी सबै बिजय होटलमा जम्मा भए । रमाईलो निकै भयो रमाइलोले हिजोको थकानपुर्ण यात्राको तितो क्षणसबै भुलायो । आज सबै खुशी देखिनन्थे । ७ बजि सकेको थियो रातले जरा गाडि रहेको थियोे । हाम्रो यात्रा केही छिनको लागि तल बिच जंगल सालतडामा रोकियो । पाँच बाइकमा दस जना आज सुर्खेत जान सकिँदैन सल्लि बजार भन्दा यात्रा अगाडि बढ्दैन भोलि बिहानि सुर्खेत पुग्ने हो ,मेरो प्रस्ताब लाई कुनै साथिहरुले नकार्नु भएन हामी सबै साथिहरु महासागरको पचासको स्पिडलाइ फलो गर्दै हामी सल्लि बजार पुग्यौं । सल्लि बास बस्नु पर्यो भने अक्सर म फुलबारी होटेलमा बस्ने गर्छु ।

आजको लागि हाम्रो बास फुलबारी होटेलमै समेटियो । खाना पाकुनजेल रचना वाचन गर्ने कुरामा सबैको सहमति भयो मनाघाटमा वाचन गर्न नपाएका केही अनुहारले आज भने धित मरुन्जेल रचना सुनाए। टेबुल कार्यक्रमको सहजीकरण पंतिकारले नै गरेको हुनाले साइड टक गर्न पुर्ण बन्देज लगाइएको थियोे । आज पनि अबेर भइसेको थियो । आजको सुताई पनि निर्धारित समय अनुकुल भएन । कोही हलमा निदाए, महासागर विरही र म एउटै कोठमा कोचिन पुग्यौ स्वप्निल र एक पात्र अर्को कोठामा । बिरहीको घुराइ देखि परिचित पंतिकार आजमात्रै थिएन विरही पहिले देखीकै पुरानो सहयात्री हो ।

आज हैरान पार्ने भो केटाले भन्ने कल्पना गर्दा गर्दै उ भन्दा मनै अगाडि निदाएँछु बरु आजबाट घुराइको सुरुवात पंतिकारबाट भएको कुरा बिहान पख बाटो लाग्नु अघि साहुजीले चिया बनाएर दिन लाग्दा महेन्द्र गुरुदेवले सबैको सामु कुरा खुलाए मेरो हर्कतको बारेमा । महेश के को हतार के हो अझै बुझिएको छैन म यस हतार प्रति अझै सम्म अनबिज्ञ छु । उस्लाई अगाडि लाग्नै पर्ने पछाडिकालाइ उस्ले धुलोको स्वाद चखाउनै पर्ने । उ हिजोको नियम तोडेर आज पनि बर्खाको भेरी नदीको भेलझै समुद्र भेटाउने उधेश्य लिएर भेलकै वेगमा अगाडि हुइँकियो । पोखरे सम्म संगै संगै भए पनि त्यस पछि उस्ले हामीलाई भेटाउन दिएन। उ भेरी नदी पुगेर फोन गर्दा हामी राताचउरमा बिहानी पखको पारिलो घाममा चियाको चुस्किमा रमाउदै थियौ । सुब्बा कुना चेक पोष्ट पुग्नै लाग्दा बहुत बेजोडले बिपरित धुर्ब तिर हुइकिएर आएको ट्याक्टरमा गित बडो टाठो आवाजमा बज्दै थियो।

कहाँ छ र जिन्दगीको भर तिमी बिना ।
शून्य शून्य लाग्छ सहर तिमी बिना।

हामी पनि सुर्खेत पुग्दा हिँजो मेयर साब र उपमेयर दिदीले भनेका कुरालाई सम्झदै यात्राका दुःख दर्द सबै भुल्दै गितले भनेझै शून्य मन लिएर सुर्खेत उपत्यका छिर्यौं रमाइलो मान्दै ।

(साहित्यकार ‘अनुपम’ आधुनिक नेपाली गजल अभियान कर्णाली प्रदेशका संयोजक तथा मध्यपश्चिम गजल मञ्च सुर्खेतका अध्यक्ष हुन् । )

तपाईको प्रतिक्रिया