८ भाद्र २०७८, मंगलवार

त्रिकोणात्मक सिरिज खेल्न नेपाली क्रिकेट टिम ओमान प्रस्थान

काठमाडौं । आइसीसी विश्वकप क्रिकेट लिग टु अन्तर्गत नेपाल, अमेरीका र ओमान सम्मिलित एकदिवसिय त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टोली आज (विहान) ओमान प्रस्थान गरेको छ ।

सेप्टेम्बरमा हुन आइसिसि विश्वकप क्रिकेट लिग टु को त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली आज सलाम एयरबाट ओमान प्रस्थान गरेको हो ।

नेपाल क्रिकेट संघ (क्यान) ले सिरिजकै लागि गत शनिबार घोषणा गरेको १७ सदस्यी खेलाडी र पाँच अफिसियल्सलाई आईएमई ट्राभल्स प्राइभेट लिमिटेडले विदाई गरेको हो ।
टोलीलाई आईएमई ग्रुपका प्रवन्ध निर्देशक हेमराज ढकालले विदाई गरे । १७ सदस्यीय नेपाली टोलीमा रोहित कुमार पौडेल लामो समयपछि सिनियर टोलीमा कमब्याक गरेका छन् भने शरद भेषवाकर र विक्रम शोबले टोलीमा पुनरागमन गरेका छन । गुल्सन झाले राष्ट्रिय टोलीबाट पहिलो पटक भ्रमणको मौका पाएका छन् ।

त्रिकोणात्मक सिरिजमा नेपालले ओमान र अमेरिका सँग २÷२ खेल खेल्ने छ । क्रिकोणात्मक सिरिज पूर्व नेपालले पपुवा न्युगिनी (पिएनजी) सँग भदौ २० गते र भदौ २३ गरी दुई एक दिवसीय खेल खेल्ने तालिका रहेको छ । ओमानमा नै हुने पिएनजीसँगको खेलपछि पछि नेपाली टोलीलले त्रिकोणात्मक सिरिज खेल्नेछ ।

आइसीसी विश्वकप क्रिकेट लिग टु मा नेपालले अहिलेसम्म चार खेल खेलेको छ । जसमा दुई जित निकाल्दा दुई खेलमा नजित सुम्पिएको छ । घरेलु मैदानमा ओमान र अमेरिकासँग नेपालले ४ खेल खेलिसकेको छ ।

लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ । पिएनजीले ८ खेल खेल्दा अंकको खाता खोल्न सकेको छैन् ।