सल्ली–चौरजहारी सडक : ट्रयाक खोलेको २० बर्षमा स्तरोन्नति नहुँदा सास्ती

सल्यान । सल्यानको सल्लीबजारदेखि रुकुम–पश्चिम जोड्ने सडक खण्डको ट्रयाक खोलेको करिब २० वर्ष पुग्दा समेत सडकको स्तरोन्नति हुन सकेको छैन ।

दुई जिल्ला जोड्ने सडक स्तरोन्नति नहुँदा यस क्षेत्रका सर्वसाधरणले लामो समयदेखि जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । करिब ४० किलोमिटरको चौरजहारी–सल्ली सडकखण्ड वर्षा याममा अवरुद्ध हुने भएकाले यस क्षेत्रका बासिन्दा जाजरकोटबाट ६२ किलोमिटरको दूरीमा रहेको सडक प्रयोग गर्न बाध्य छन् ।

सडक स्तरोन्नति रुकुम पश्चिमको चौरजहारी अस्पतालबाट रेफर गरिएका बिरामीहरुको ज्यान समेत जोखिममा पर्ने गरेको स्थानीय आशीष आचार्यले बताए । कुमाख गाउँपालिका सल्यान, रुकुम पश्चिमको चौरजहारी नगरपालिका, चौरजहारीका व्यावसायीले लाखौं रकम खर्च गरे पनि सडक बाह्रै महिना चल्न नसकेको चौरजहारी उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष तेजबहादुर विष्टले बताए ।

सल्ली–चौरजहारी सडक जोखिमयुक्त हुँदा कोभिड १९ कोरोना भाइरसबाट संक्रमित सल्यान वनगाड कुपिन्डेका ११ जना युवा चौरजहारीको आइसोलेसनमा उपचार गर्न आउन करिब ६ घण्टाको पैदल हिँडेर पुगेका थिए ।

सल्यान थारमारे बडागाउँ चौरजहारी सडकखण्ड पनि वर्षातका कारण अवरुद्ध बनेको छ। रुकुम पश्चिमलाई जोड्ने दुईवटै बाटो अवरुद्ध हुँदा स्थानीयबासी यातायात सेवाबाट बञ्चित भएका छन् । सडक स्तरन्नतिका लागि ९ किलोमिटर सडक अहिले कालोपत्रे भइरहेको र बाँकी सडकका लागि पनि ठेक्का प्रक्रियामा पुगेको कर्णाली प्रदेश सरकारले जनाएको छ ।

तपाईको प्रतिक्रिया