
पश्चिम जाजरकोटको जुनीचाँदे गाउँपालिकाका बालक ः स्कुल नखुलेपछि दाउरा बोक्दै
जाजरकोट । बारेकोट गाउँपालिका –२ की विमला विकको समय दैनिक बिहान बेलुका बाख्रालाई चरिचरन क्षेत्रमा लैजाने र ल्याउँदैमा बित्छ । उनी अहिले कक्षा ८ मा पढ्छिन् । शहर बजारमा अनलाइनबाट कक्षा लिएको कुरा सुनेपछि उनको मन भक्कानिएर आउँछ तर विमलाको घरमा मोबाइल चार्ज गर्ने सम्मको विद्युत् छैन । गाउँमा सोलारबाट चार्ज गरेर ल्याएको मोबाइल मार्फत साथीहरूलाई फोन गरेर पढाइका विषयमा बुझ्नुबाहेक विमलाले केही गर्न सक्ने अवस्था नभएको बताउँछिन् ।
उनी भन्छिन्, ‘गाउँमा विद्युत्, इन्टरनेट तथा टिभी केही पनि छैन, कसरी वैकल्पिक उपाय अपनाएर पढ्नू । बाख्रा चराउन जङ्गल गएर पढाइ चौपट भयो ।’ उनी जस्तै जुनीचाँदे गाउँपालिका ५ गर्खाकोटका रामबहादुर बस्नेतको पीडा पनि कम छैन । दैनिक आमाबुवासँग घरको काम गर्नेदेखि पशुचौपायालाई घाँस जम्मा गर्नु नै उनको दैनिकी बनेको छ । उनको गाउँमा एक बर्ष अघिसम्म फोनको टावर थिएन, बल्ल नमस्तेको टावर निर्माणपछि साथीभाइ तथा शिक्षकसँग सम्पर्क गर्ने वातावरण सिर्जना भएको छ ।
विद्युत् नहुँदा भर्खरै किनेर ल्याएको मोबाइलसमेत चार्ज गर्न विद्यालयमा जानुपर्ने बाध्यता रहेको उनले बताए । शहर बजारमा टिभी र अनलाइनमार्फत कक्षा सञ्चालन भए पनि गाउँमा त्यो शिक्षाको प्रभाव कुनै पनि नपरेको उनको भनाई छ । सदरमुकाममा विद्युत्को केन्द्रीय लाइन विस्तारसँगै इन्टरनेट सेवा हुँदा विद्यार्थीहरुले प्रविधिको भरपूर मात्रामा सदुपयोग गरे पनि दूरदराजमा बस्ने विद्यार्थीहरु भने पशुचौपायाको भरपर्दो आहार खुवाउने साथी भएको विद्यार्थीहरु बताउँछन् ।
‘गाउँमा घुम्दा कोरोनाको डर, कुनै काम नगरेर घरमा बस्न पनि समस्या छ, त्यसैले सकेको काम गर्नुपर्ने बाध्यता छ’ कुशे गाउँपालिका ५ का शिवराज शाहीको भनाई छ । उनीहरु मात्र होइन् जाजरकोटका प्रत्येक स्थानीय तहका बालबालिकाहरुको दैनिकी गोठालो लागेरै वित्ने गरेको छ । ईन्टरनेटले काम गर्दैन, बादल लागेको वेला फोनले समेत काम गर्ने गरेको छैन कसरी विद्यार्थीलाई पढाउने ? वीरेन्द्र ऐश्वर्य उच्च माद्यामिक विद्यालय लिम्साका शिक्षक कालीप्रसाद थापाले बताए । सरकारले दुर्गमका विद्यार्थीका लागि ठोस निर्णय गर्न नसक्दा लाखौ विद्यार्थीको भविष्य अन्यौलमा रहेको स्थानीय वुद्धिजिवीको भनाई छ ।
















































। ६ भाद्र २०७८, आईतवार