
जाजरकोट, ३ भदौं । छिन्चु–जाजरकोट सडक अन्तर्गत पासागाड खोलाको पुल आठ वर्षदेखि अलपत्र परेको छ । गलत डिजाइनका कारण लामो समयदेखि पुल निर्माणको काम रोकिएको हो ।
सडक विभाग र आईएमईआरसी कन्सल्टेन्सी, ललितपुरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । पासागाड बाहेक छिन्चु–जाजरकोट सडकको सबै खोलामा पुल निर्माण भइसकेका छन् । सदरमुकाम खलंगासँगै जोडिएको खोलामा पुल नबन्दा बाहिर जाने जिल्ला भरिका यात्रुले वर्षायाममा ठूलो सास्ती भोग्नु परिरहेको यात्रुको भनाई छ ।
पुल नहुँदा वर्षेनि वर्षायाममा सडक अवरुद्ध हुने गरेको छ । रू. ३ करोड लागतको पुल निर्माणका लागि आठ वर्षअघि लुम्बिनी÷ आशिष जेभीले सडक विभागसँग सम्झौता गरेको थियो । पुल निर्माणस्थलको भौगोलिक अवस्था र डिजाइनबीच तालमेल नमिल्दा पुल निर्माण गर्न नसकिएको निर्माण कम्पनीले बताएको छ ।
परामर्शदाता कम्पनी आईएमईआरसी कन्सल्टेन्सीलाई रू. ७ लाखमा पुल डिजाइनको जिम्मा दिइएको थियो । अख्तियारी नहुँदा कम्पनीलाई कारबाही गर्न नसकिएको सडक डिभिजन कार्यालयको भनाई छ ।
‘पुलको डिजाइन एक र निर्माणस्थलको लोकेसन अर्को हुँदा पुल निर्माणमा समस्या भएको बताइएको छ । परामर्शदाता कम्पनीले ४६ मिटर लम्बाइको पुल डिजाइन गरेको छ । तर यहाँ २५ मिटरभन्दा बढी पुल बनाउने ठाउँ छैन ।
७ वर्षअघि निर्माण कम्पनीले साइट हेर्ने क्रममा गलत डिजाइन भएको पत्ता लागेको थियो । तर अहिले सम्म कुनै निर्माणको पहल नभएको र बर्खामा वारपार गर्न निकै समस्या भएको स्थानीय प्रतिक परियारले बताए ।
















































। ३ भाद्र २०७८, बिहीबार