वडाध्यक्ष कुटपिट काण्ड : ‘अंकलले सम्झाउनु भएको हो, कुटपिट गर्नु भएको होईन’ (भिडियो सहित)

अंकल गए जान्छु नत्र हिरासत मै बस्छु

खलंगा, २३ साउन । गत साउन १८ गते जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले स्थानीय एक यूवकलाई कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा एकाएक भाईरल बन्यो । राष्ट्रिय देखि स्थानीय मिडियाले प्राथमिकताका साथ उक्त समाचार प्रकाशन गरे । घटनाको वास्तविकता नबुझेर वडाध्यक्षको चरित्र हत्या गर्ने गरी प्रकाशन गरेको समाचार प्रति ध्यानआकर्षण भएको भन्दै वडा कार्यालयले प्रेस विज्ञप्ती जारी ग¥यो ।

त्यो घटना साउन १५ गतेको भएपनि सामाजिक सञ्जाल र केही मिडियाले १८ गते मात्रै प्रसारण गरेका थिए । भिडियोमा वडाध्यक्षले यूवकलाई डोरीले बाँधेर कुटपिट गरेको प्रस्ट देखिन्छ । यर्थात नबुझेर ४ मिनेट ५६ सेकेन्डको भिडियोको आधारमा धेरै मिडियाले समाचार प्रकाशन गरे ।

भिडियो प्रकाशन हुनुभन्दा पहिले प्रहरीको रोहवरमा पीडित भनिएका यूवक सर्पे दमाईले आफ्नो गल्ती भएको स्वीकार गरेका थिए । सबैको रोहवरमा मिलापत्र गरी सर्पेले सबै गल्ती स्वीकार गरेको स्थानीय वेदबहादुर शाहीले बताए । तर भिडियो जव भाईरल बन्यो त्यसपछि एकाएक महोल तातियो । भिडियो प्रकाशन पछि २१ गते प्रहरीले वडाध्यक्षलाई प्रकाउ ग¥यो ।

पक्राउपछि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा अनुसन्धान भईरहेको छ । पीडित भनेका सर्पे दमाईले ‘अंकलले सम्झाउनु भएको हो, मलाई कुटपटि गर्नुभएको होइन्’ भनेका छन् । शुक्रबार भेरीमालिकाकर्मी संगको कुराकानीमा दमाईले भने, ‘गाउँमा दलित समुदायको धेरै पढेको भनेको वडाध्यक्ष नै हुनुहुन्छ, त्यसदिन म साथीहरुको लहलैमा लागेर रक्सी खाएर नानथरी गाली, गलौज, ढुंगामुढा गर्दै थिए ।’

‘वडा कार्यालयमा अपशब्द प्रयोग गर्दै, स्थानीयलाई ढुंगाले समेत धपाएको रहेछु, घरमा वुवालाई समेत हातपात गरेको रहेछु, त्यसपछि वडाध्यक्ष अंकल आएर मलाई सम्झाउनुभएको रहेछ, अझ रक्सीको मातमा मातिएपछि आमावुवाको सल्लाहले मलाई एक दुई झापट लगाउनुभएको साँचो हो ।’

दलित समुदायलाई हेप्ने र हाम्रो चरित्र हत्या गर्ने नियतले विपक्षले भिडियो भाइरल गरेको प्रति आपत्ती रहेको उनको भनाई छ । ‘यदि वडाध्यक्ष अंकललाई यहाँ बाट छोडे भने म जान्छु नत्र म पनि हिरासतमा बस्छु, झुटो प्रचार र फसाउने नियतले हामी माथि यत्रो गरिएको हो ।’ यस्तै पीडित सर्पेका वुवा रंङ्गे दमाईले वडाध्यक्षलाई फसाउने नियतले भिडियो प्रकाशन गरेको बताए ।

उनले भने, ‘जुनीचाँदेमा रामबहादुर जस्तो वडाध्यक्ष अरु कोही छैन्, हामीले नै छोरालाई सम्झाई दिनु भनेर हातपात गरेका हुन् ।’ वडाध्यक्षलाई तत्काल रिहाई गरिदिन समेत जोडदार माग गर्दछु समेत भनेका छन् ।

वास्तविकता माथि मिडियाको प्रहार

गत साउन १५ गते शुक्रबार करिब दिनको ३ बजेको थियो । जाजरकोटको जुनिचाँदे गाउँपालिका वडा नम्बर २ को कार्यालय मजकोटमा सामाजिक सुरक्षा भत्ता वितरण भइरहेको थियो । उक्त स्थानमा वृद्धवृद्धा, बालबालिका, अपाङ्गहरुको लाइन नै थियो ।

अझै भन्दा घुइँचो नै । त्यतिबेला नै एक्कासी वडाध्यक्ष नेपालीका छिमेकी रङ्गे दमाईका छोरा १८ वर्षीय सर्पे दमाईले जाँडरक्सी सेवन गरेर वडा कार्यालय अगाडि प्रवेश गरे ।

सर्पे कार्यालय प्रवेशसँगै मदिराको तालमा ढुङ्गामुडा गर्न थाले । उनलाई कसैले नियन्त्रणमा लिन सकेनन् । तत्काल अंकल भएको नाताले वडाध्यक्ष बाहिर आएर उनलाई नियन्त्रणमा लिन प्रयास गरेको स्थानीय बताउँछन् । वडाध्यक्षलाई रङ्गेकी श्रीमती चन्द्रा दमाई आएर भनिन्, ‘घरमा बाबुलाई कुटेर आएको छ । यसलाई हामीले केही गर्न सकेनौं । हजुरले केही गरिदिनु प¥यो’ भनिसकेपछि वडाध्यक्षले आफ्नो भतिज पर्ने सर्पेलाई नियन्त्रणमा लिन डोरीले बाँधेको स्थानीय बताउँछन् । युवाले मदिराको तालमा भत्ता बुझ्न आएका वृद्धवृद्धा, बालबालिका बीचमा अपशब्द बोलिरहेका थिए ।

घटनाका प्रत्यक्षदर्शी स्थानीयका अनुसार वडाध्यक्ष नेपालीले रक्सीले मातिएका उनलाई नियन्त्रणका लिनका लागि डोरीले बाँधेका हुन् । यसरी बाँध्नुको कारण उनले अरुमाथि आक्रमण नगरुन र थप ढुंगामुढा गर्न नपाउन भन्ने उद्धेश्य रहेको वडाध्यक्ष बताउँछन् । तर यति गर्दा पनि उनले छाडा शब्द बोल्न नछाडेपछि वडाध्यक्षका साथै स्थानीयले युवामाथि रिसकै आवेगमा कुटपिट गरेको भिडियोमा देख्न सकिन्छ । एउटा जनप्रतिनिधि भइसकेपछि स्थानीयलाई कुटपिट गर्ने र बाँधेर यातना दिने कुरा कानूनको नजरमा अपराध हो ।

तर यो घटनाको रहस्य अर्कै छ । रक्सी खाएर वडा कार्यालयमा हो–हल्ला र झगडा गर्न थालेपछि सर्पेकी आमा चन्द्राले वडाध्यक्षलाई घरमा पु¥याइदिन आग्रह गरेकी थिइन् । तर रक्सीले मातेका उनलाई घर पुर्याउन सहज थिएन । उनी नजिक आयो कि ढुंगाले प्रहार गर्न खोज्थे ।

यदि उनले ढुंगा प्रहार गरेको भए, त्यहाँ अर्को घटना घट्न सक्थ्यो । त्यसैले उनलाई नियन्त्रणमा लिनु अनिवार्य थियो । स्थानीय रुपमा नियन्त्रणमा लिने उपाय उनकै साथमा रहेको डोरीलाई बनाइयो । पहिले बाँधियो, पछि छाडा शब्द बोल्न थालेपछि कुटपिट पनि गरियो । कुटपिट गर्दै गरेको भिडियोमा वडाध्यक्ष पनि सलंग्न देखिन्छन् । उनलाई बाँधेपछि घर लिनुभन्दा प्रहरीलाई जिम्मा लगाउने योजना बनाइएको वडाध्यक्षकै दाबी छ । उनले यसका लागि जिल्ला प्रहरी कार्यालय जाजरकोटमा फोन समेत गरे ।

प्रहरीले पनि आफूहरु नआउन्जेलसम्म नियन्त्रण गर्न आग्रह गरेका थिए । वडाध्यक्षकै आग्रहमा उनलाई बाँधिएको हो । तर उद्धेश्य कुटपिट गर्ने भन्दा अर्को घटना नघटोस भन्ने रहेको पीडित युवाकै आफन्त र वडाध्यक्ष बताउँछन् । तर उनलाई कुटपिट गरेको भिडियो मात्रै बाहिरियो । त्यो पनि टाढैबाट । न सुरुवाती रुपमा उनको हर्कत भिडियोमा आयो ।

न त प्रहरी आएपछिकै वास्तविकता भिडियोमा समेटियो । खाली बाँधेर निर्मम रुपमा कुटपिट भइरहेको भिडियो मात्रै भाइरल बन्यो । स्थानीयका अनुसार डोरीले बाँधेर राखेको केही समयपछि प्रहरी आइपुग्यो । त्यतिञ्जेल उनलाई रक्सीले पनि छाड्दै गयो । उनी होसमा कुरा गर्न थाले । प्रहरीसँग वास्तविकता बताए । त्यो यातना नभई आफ्नो गल्तीकै कारण बाँधिनुपरेको उनले बताए ।

प्रहरी घटनास्थलमै पुगेपछि कानुनी रुपमा मुचुल्का उठाउनुपर्ने कारण कागज गराइएको पनि वडाध्यक्ष, पीडित युवा र उनका आफन्तको भनाइ छ । फेरि गल्ती नदोहोर्याउने शर्तमा उनलाई कागज गराएर आमा चन्द्राको साथमा घर पठाइएको प्रहरीको भनाइ छ । #भेरीमालिका#

तपाईको प्रतिक्रिया