
फाईल तस्विर
जाजरकोट, १७ साउन । बारेकोट गाउँपालिका स्थित वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत महेन्द्र नेपालीलाई आजभोलि दिन कटाउन मुस्किल भएको छ । कोरोना महामारीका कारण गत चैतदेखि विद्यालय बन्द भएपछि उनी लामो समय घरायसी काममा व्यस्त बने । विद्यालयले अनलाइन कक्षा सञ्चालन नगरेपछि उनलाई समय कटाउनै मुस्किल भएको हो ।
लामो समयदेखि पठनपाठन बन्द हुँदा दुर्गम गाउँका विद्यार्थी फुर्सदिला बनेका छन् । शिक्षा विकास तथा समन्वय इकाइका अनुसार जाजरकोटमा विद्यालय तहमा झन्डै १४ हजार विद्यार्थी अध्ययनरत छन् । ‘अहिले त गत वर्ष पढेको सबै कुरा बिर्सियो,’ नेपालीले भने, ‘अनलाइन कक्षा पनि छैन, विद्यालय पनि खुल्दैन ।’ सदरमुकाममा रहेका केही विद्यालयका विद्यार्थीले अनलाइन कक्षा पढ्न सञ्चालन गरे पनि ग्रामीण क्षेत्रका विद्यार्थी लामो समयदेखि पठनपाठनबाट वञ्चित छन् ।
‘गाउँमा नेट चल्दैन, कसरी अनलाइन पढ्ने ?,’ उनले भने, ‘पढाइ भएको भए कम्तीमा गृहकार्यको बहानाले घरमा पढिन्थ्यो ।’ कोरोना महामारीका कारण दुई वर्षदेखि बालबालिकाको पढाइ बिग्रिएपछि अभिभावक समेत चिन्तित छन् । पठनपाठन नभएपछि ग्रामीण क्षेत्रका अभिभावकले बालबालिकालाई घरायसी काममा लगाउन थालेका छन् । ‘कहिले स्कुल सञ्चालन होला भनेर दिन गन्दै बस्नुपरेको छ,’ कुशे गाउँपालिका ५ का शेरबहादुर पुनल भने, ‘बच्चाहरू घरमा पढ्न मान्दैनन्, स्कुल खुल्ने टुंगो अझै छैन ।’
विद्यालय नखुल्दा बालबालिकाको बानीसमेत बिग्रिएको उनले बताए । जिल्लामा गत वर्ष असार १ गतेदेखि नयाँ शैक्षिक शत्र सुरु भएको थियो । तर यो वर्ष जिल्लाका कुनै पनि स्थानीय तहले विद्यालय सञ्चालनको निर्णय गरेका छैनन् । सबै विद्यार्थी र शिक्षकलाई कोरोनाविरुद्धको खोप लगाएर मात्र विद्यालय सञ्चालन गर्नुपर्ने शिक्षक महासंघ जाजरकोटले जनाएको छ ।
कुशेमा वैकल्पिक सिकाई
कुशे गाउँपालिकाले कोभिड–१९ को महामारीका बेला शिक्षण सिकाइमा परेको असरलाई कम गर्न वैकल्पिक शिक्षाका रूपमा गृह विद्यालयको अवधारणा अघि सारेको छ । यसका लागि गाउँपालिकाले विद्यालयलाई २५ बुँदे परिपत्र गरेको जनाएको छ ।
बिहीबार कुशेमा आयोजित शिक्षा संवाद कार्यक्रममा गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले वैकल्पिक शिक्षणका लागि अभिभावक तथा शिक्षकहरूलाई अभिमुखीकरण, विद्यालयमा दरबन्दी थप गर्ने जस्ता कार्य गरिएको बताए ।
‘कोभिडका बेला हाम्रो पालिकामा पनि विद्यालयको पठनपाठन प्रभावित भयो, अहिले पनि विद्यालयहरू सञ्चालन हुन सकेका छैनन्,’ उनले भने, ‘हामीले वैकल्पिक रूपमा शिक्षाका लागि गरिएका कतिपय प्रयासहरू सञ्चारको अभावमा सफल हुन सकेनन्, दुर्गम क्षेत्रमा सञ्चारको अभावले वैकल्पिक शिक्षामा चुनौती आउने गरेको छ ।’
उनले आफ्नो स्थानीय तहमा शिक्षा नीति बनाएर वैकल्पिक शिक्षाको विषय समावेश गरेको बताए । दुर्गम क्षेत्रमा सञ्चारको आधुनिक प्रविधि, विद्यालयमा जनशक्तिको अभाव, परिवारमा शिक्षित व्यक्तिको अभाव जस्ता कारणले वैकल्पिक शिक्षण प्रभावकारी बन्न सकेको छैन ।
शिक्षा पत्रकार समूह र सेभ द चिल्ड्रेनले आयोजना गरेको शिक्षा संवादमा वक्ताहरूले कोभिडका कारण पढाइ प्रभावित भएको बताए । संवादमा सहभागी गाउँपालिकाका शिक्षा शाखा प्रमुख जनकबहादुर शाहले गाउँपालिकाभित्रका ४ सय घरमा शिक्षक राखेर वैकल्पिक शिक्षण सिकाइ सञ्चालन गरिएको बताए ।
घरमै पुगेर बालबालिकालाई पढाउन बालविकास कक्षा शिक्षकलाई अभिमुखीकरण, स्वअध्ययन सामग्री निर्माणजस्ता वैकल्पिक सिकाइ गरिएको उनको भनाई छ । ‘अब गाउँपालिकाले आफ्नै रेडियो स्थापना गरेर त्यसबाट वैकल्पिक शिक्षा दिने योजना बनाएको छ,’ उनले भने ।
निजी विद्यालयको होम ट्यूसन
सदरमुकाममा रहेका केही निजी विद्यालयले होम ट्यूसनको व्यवस्था गरेका छन् । लामो समय देखि बन्द रहेका विद्यालयमा अझै पनि सञ्चालनका लागि स्थानीय सरकारले कुनै पहल नगर्दा होम ट्यूसनको व्यवस्था गरिएको निजी विद्यालयको छाता संगठन प्याप्सनले जनाएको छ ।
विद्यालय बन्द भएपछि विद्यार्थीहरुको पढाईमा ध्यान नजाने, सामाजिक सञ्जाल, लगायतका अन्य प्रविधिमा व्यस्त हुने भएकोेले यस्तो अवस्थामा होम ट्यूशनको सञ्चालन गरिएको जनाइएको छ ।
















































। १७ श्रावण २०७८, आईतवार