ठाँटी– गैरीखाली सडकमा ठेकेदारको लाप्रवाही,सडक निर्माणको एक महिना नवित्दै भत्कियो


जाजरकोट, १३ साउन । कमजोर प्राविधिक स्टमेट र सरोकारवालाहरुको चरम वेवास्ताका कारण निर्माण भएको एक महिनामै ठाँटी – गैरीखाली सडक भत्किएको छ । पूर्वाधार विकास कार्यालय जाजरकोटले निर्माण गरेको ठाँटीबजार देखि गैरीखाली जाने सडकको पुरा साझा खण्ड सोमबार राती भत्किएको हो । सडक भत्किएपछि ठाँटीगैरीखाली सडकका साथै जाजरकोट डोल्पा सडकमा समेत असर परेको छ ।

कुल बजेट ७५ लाख भएपछि इवीडमा घटीघटाउ गर्दा अनमोल निर्माण सेवाको फर्मले भ्याट सहित ४० लाख लागतमा उक्त सडक निर्माण गरेको हो । सडक भत्किएपछि वस्ती समेत जोखिममा परेको छ । बर्षातका कारण कमजोर जग र गुणस्तरहिन निर्माण भएको उक्त सडकको १० मिटर लम्बाई सम्म भत्किएको छ । भने ५० मिटर सम्म चर्किएर भत्किने अवस्थामा पुगेको छ ।

नयाँ बनेको सडक संगै पहिले बनेको सडक पनि भत्किने अवस्थामा पुगेको र जसले केही घरहरु र तल्लो सडकलाई समेत क्षति पुर्याउने देखिएको स्थानीयको भनाई छ । कर्णाली प्रदेश सरकारको बजेटमा गत असार महिनामा सडक निर्माण भएर रकम भुक्तानी भएको उक्त सडक निर्माण भएको एक महिना नपुग्दै भत्किएको हो ।

सडक निर्माणका वेला पूर्वाधार विकास कार्यालय र सम्बन्धीत नगरपालिकाले समेत प्राविधिक रुपले गतिलो अनुगमन गर्ने र ध्यान दिने काम नगरेका कारण बनेको एक महिनामै भत्किएको स्थानीयवासीको गुनासो छ । आफ्नो क्षेत्रमा पुर्वाधार निर्माण हुदाँ सम्बन्धीत वडा कार्यालय र नगरपालिकाले आवश्यक चासो र ध्यान दिनुपर्ने भएपनि यस तर्फ कसैले ध्यान नदिएको उनीहरुको गुनासो छ ।

सडक तथा अन्य पूर्वाधार निर्माणलाई स्थानीयवासी र सरोकारवाला निकायहरुले रुचि पूर्वक ध्यान दिएर अनुगमन नगर्दा धेरै संरचनाहरु गुणस्तरहिन बन्नुका साथै छिटै भत्किने र प्रयोग विहन हुने गरेका छन् ।

सडक निर्माण भईसकेपछि बजारमा ढल निकास तथा बर्षाको पानीको उचि व्यवस्थापन नभएका कारण बनेका सडक भत्किएको निर्माणको जिम्मा लिएका व्यसायीहरु मध्येका अर्जुन पुनले बताए । उनले बजारको दल निकास र बर्षाको पानी व्यवस्थापनमा स्थानीय सरकारले उचित ध्यान दिनुपर्ने बताए ।

निर्माण भएको एक बर्ष सम्म भत्किएर या विग्रिए निर्माण व्यवसायी नै जिम्मेवारी हुने भएकोले अव उनीहरुले नै सडक पुननिर्माण गर्नुपर्ने पूर्वाधार विकास कार्यालय जाजरकोटका प्रमुख प्रविन कार्कीले बताए । सडकको अवस्था भत्किने जस्तो नभएपनि बर्षातका कारण भत्किएको हुन सक्ने प्रमुख कार्कीले बताए ।

सदरमुकाम खलंगाका विभिन्न वस्तीहरुमा सडक निर्माण गर्दा गतिलो ढल निकास र बर्षातको पानी व्यवस्थापन तर्फ कुनै गतिलो योजना नभएका कारण वस्ती र सडक सधैं जोखिममा परेको स्थानीय दुर्गाबहादुर श्रेष्ठले बताए । उनले वडा तथा नगर सरकारले यस तर्फ गम्भीर रुपले सोचेर खलंगाको वस्ती तथा सडकहरुको सुरक्षा तर्फ ध्यान दिन अति जरुरी रहेको बताए ।

तपाईको प्रतिक्रिया