इतिहास झल्काउने संस्कृति संटकमा

आधुनिकता आयो, परम्परा हरायो

जाजरकोट, १२ साउन । एक ÷दुई दशक पहिले जाजरकोटका गाउँगाउँमा लोक संस्कृति निकै धन्किन्थे । परम्परागत संस्कृतिलाई समाजका हरेक गाउँमा प्रयोग गरिन्थ्यो । समाजको एक अभिन्न अंग थियो संस्कृति । संस्कृति इतिहास संग जोडिएको हुन्थ्यो ।

पुर्खाहरुको पौरख, रितिरिवाज र चालचलनको प्रर्याय ठानिन्थ्यो । तर पछिल्लो समयमा आधुनिकताको प्रवेश संगै परम्परागत संस्कृति हराउँदो अवस्थामा छ । बारेकोट गाउँपालिका १ का लालबहादुर पुन आधुनिक संस्कृतिले परम्परागत संस्कृति हराउदै जान थालेकोमा निकै चिन्ता व्यक्त गर्छन् । उनले भने,‘ पुरानो पुस्ता सकिदै जानु र नयाँ पुस्ताले परम्परागत संस्कृति संरक्षण गर्न नसक्नुले निकै चिन्तित छौँ । ’ सहर केन्द्रित आधुनिक संस्कृति एकपछि अर्को गर्दै ग्रामीण क्षेत्रमा प्रवेश गरेको छ ।

यहाँको पहिरनमा आधुनिकता झल्कन थालेको छ । झोडा, देउडा, रत्यौली, मागल, धारु, छैटी, आरती, हुड्के नाच, बालो चम्फा नाच लोप हुने अवस्थामा छन् । मुगेली परम्परा बोकेका संस्कृति र पुराना भाका लोप हुँदै गएको उनी बताउँछन् । कर्णाली खस सभ्यताको केन्द्र हो । खस भाषाको उद्गमस्थल पनि । तर कर्णाली खस सभ्यताको पहिचान झल्काउने पहिरन र संस्कृति हराउँदै जादा यहाँको अस्तित्व संकटमा पर्न थालेको हो । बारेकोट गाउँपालिकाकी उपाध्यक्ष ओमा शाही संस्कृति र सहरी क्षेत्रको पहिरनले जिल्लाको पुख्र्यौैली संस्कृति र पहिरन ओझेलमा परेको बताउँछिन् ।

उनले भनिन्,‘अहिलेका पुस्ता शरीर भरी ढाक्ने लुगा लगाउँदैनन्,विदेशी संस्कृतिको महिमा गान गाउँछन् । आफ्नो संस्कृति प्रति घृणा गर्छन् । त्यसको परिणाम अहिले यहाँको संस्कार र संस्कृति लोप हुने अवस्थामा पुगेको छ । ’ पुरानो पुस्ताले युवापुस्तामा संस्कृति हस्तान्तरण गर्न सक्दैन्, नयाँ पुस्ताले पुरानो संस्कृति सजिलै सित गह्रण गर्न मान्दैन्, यी दुई पुस्ताको आन्तरिक बैमनस्यले गर्दा परम्परागत संस्कृति धरापमा पर्न थाल्यो । उनले भने, ‘संस्कृति र सभ्यता संकटमा पर्दा पुर्खाहरुको चिनो धरापमा पर्ने देखिन्छ ।’ अहिलेका पुस्ता बजारमा निस्केका आधुनिक गीत संगीतमा रमाउँछन् ।

लोकसंस्कृति प्रति वास्ता गर्दैनन् । लोक गायक महेन्द्र नेपाली भन्छन्, ‘बाजे बज्यैको पालामा गाइने झोडा, मागल, धारु, रत्याउली, छैटी, बालो, लगायत गीत लोक अहिले सुनिन छाडेका छन्, यो राम्रो पक्ष हुदै होइन्, विगतमा वनपाखामा गुन्जिने देउडा गीत, ठाडी भाका, सवाल जवाफमा गाइने होस् या लय मिलाएर गाइने भाका अहिले ग्रामीण क्षेत्रमा समेत सुन्न छाडिएका छन् ।’ विवाह, व्रतबन्ध, उत्सव, देवीदेवताको पूजा लगायतमा गाइने गीत लोप हुँदैछन् । दुई समूहमा भेला भएर महिलाद्वारा गाइने झोडा गीत अहिले बिरलै सुन्न पाइन्छ ।

दुई दशक अघि सम्म १५ र २० जना महिला आपसमा सवाल जवाफ गर्दै यो गीतमा रमाउने गर्थे । जाजरकोटका गाउँ बस्तीमा महिलाले लगाउने गुन्युँचोली र पुरुषले लगाउने दौरासुरुवाल पनि हराउँदै गएको छ । घरमै उत्पादित ठेटुवाबाट बनेका दौरा सुरुवाल पुरुष लगाउँथे । महिलाले धोती चोलो समेत ठेटुवाकै हुन्थ्यो । त्यो कपडा चिसो र तातो मौसम दुवैमा अनुकुलता थियो । बजारमा विदेशमा उत्पादित कपडाको आयात बढ्न थालेपछि परम्परागत पोशाक हराउन थालेको छ ।

पुर्खाहरुले लगाउने पहिरनको कुनै अवशेष नै छैन् । पछिल्लो समय पञ्चेबाजा पनि लोप हुने अवस्थामा पुगेका छन् । बढ्दो आधुनिकीकरण र संरक्षण अभावमा पन्चेबाजा संकटमा परेको गाउँका धामीहरुले बताउँछन् । विवाह, व्रतबन्ध, देवताको पूजापाठ र अन्य उत्सवमा बजाइने लोकप्रिय बाजा सुनिन छाडेको छ । विवाह, व्रतबन्ध, मेला र अन्य पर्वमा आधुनिक बाजा बज्न थालेका छन् । अहिले सुन र चाँदीका विभिन्न गहना समेत गाउँघरमा देखिन छाडेका छन् । गाउँबस्तीमा ६० कटेका वृद्धाले समेत विरलै परम्परागत गहनाको प्रयोग गर्ने गरेका छन् ।

खुट्टामा लगाइने कल्ली र पैरा, हातमा लगाउने बाला, घाँटीमा लगाइने सानीमाला, ठूलीमाला, साङ्ला, मुगामाला, डोरी,, ढुंग्री, कालो, पहेंलो, सेतो पोते, कपुर्ने माला लगायत पुराना गहना गाउँमा लगाउन छाडेको जुनीचाँदे गाउँपालिका २ का वडाध्यक्ष रामबहादुर नेपालीले बताए । संस्कृति सँग सम्बन्धित परम्परागत मागी विवाहमा नाचिने हुडे नाच लोप हुने अवस्थामा छ । मागी विवाहको चलन हटेसँगै यो नाच पनि लोप भएको स्थानीय बताउँछन् । दशक अघि सम्म मंसिर र माघ महिनामा गाउँघरमा बिहेका पन्चेबाजा खुब सुनिन्थे, हुड्केलाई पनि भ्याइनभ्याइ हुन्थ्यो ।

छेडागाड नगरपालिकाका दलबहादुर बुढा भन्छन्, ‘तर अहिले त गाउँमा विवाह भए नभएको बारेमा थाहा पाउन एक हप्ता सम्म लाग्छ । पहिले बिहे हुँदा पुरुष जन्ती जाने र महिला राति बेहुलाको घरमा जम्मा भई रत्यौली खेल्ने, मागल चुटकीला गाउने परम्परा थियो । जन्तीलाई पानी खन्याउने चलन थियो । ’

बिहेको पछिल्लो दिन दौरा लगाएर हातमा डमरु जस्तै देखिने हुड्को समातेर दुई जना सहयोगी जोल्याको साथमा पुराना वीर (पैकेला) हरूका कथा भनेर दिनैभरि नाच्ने, गाउने र रमाइलो गर्ने प्रचलन हुन्थ्यो । आजभोलि त जन्ती जाने चलनै हरायो ।

बिहेमा खुब नाचिन्थ्यो, गाइन्थ्यो, हुड्कोे बजाइन्थ्यो, उनले भने,‘ तर अहिलेका पुस्तालाई हुडको बारे केही थाहा नै हुदैन् । ’संघीयता कार्यन्वयन संगै तीन तहका सरकार छन् । यो संस्कृति संरक्षण गर्ने प्रति तीनै सरकारको ध्यान जान सकेको छैन् । ’ सरकारले संस्कृतिलाई प्राथमिकता समेत नदिएको जानकारहरु बताउँछन् ।

तपाईको प्रतिक्रिया