यार्सागुम्बा संकलनमा रोक लगाउँदा करोडौं राजश्व गुम्यो

बहुमूल्य जडिबुटी यार्सा संकलन गर्न नपाउने

डोल्पा । यार्सागुम्बा लगायतका जडीबुटी संकलनमा रोक लगाएसँगै डोल्पामा ठूलो मात्रामा राजस्व गुमेको छ । स्थानीय प्रशासनले कोरोना महामारीका कारण संकलनमा रोक लगाएको थियो ।

शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जले यार्सागुम्वा संकलनकर्ता बाट बर्सेनि करोडौं रुपैयाँ राजस्व लिँदै आएको थियो। निकुञ्ज कार्यालयले सुलिगाड, तोइजुम, त्रिपुराकोट, सुम्दुवालगायतका १४ वटा नाकाबाट यार्सागुम्बा संकलनका लागि पुर्जी काट्दै आएको थियो । निकुञ्ज क्षेत्रभित्र ठूला र साना गरी एक सयको हाराहारीमा यार्सागुम्बा पाइने पाटन रहेको निकुञ्जले जनाएको छ । यस्तै, सामुदायिक वनभित्र रुपपानी, पोखेपानी, साइक्वारीलगायतका यार्सागुम्बा पाटन छन् ।

निकुञ्ज कार्यालयका अनुसार आर्थिक वर्ष २०७५÷७६ मा साढे २० हजारको हाराहारीमा संकलन प्रवेश गरेका थिए । यार्सागुम्बा संकलक र विभिन्न जडीबुटी संकलकबाट उक्त आर्थिक वर्षमा पाँच करोड ७१ लाख रुपैयाँ राजस्व संकलन गरेको निकुञ्ज कार्यालय सुलिगाडले जनाएको छ ।

जसमध्ये यार्सागुम्बाको प्रवेश शुल्कबापत दुई करोड ९२ लाख, संकलन अनुमतिपत्र बापत एक करोड ८३ लाख, सेतकचिनीको छोडपुर्जी बापत २ करोड १४ लाख रुपैयाँ संकलन गरेको हो। यस्तै, फोक्सुण्डो ताल हेर्न जाने पर्यटकबाट प्रवेश शुल्कबापत १८ लाख ७९ हजार रुपैयाँ उठाएको कार्यालयले जनाएको छ ।

त्यस्तै, आर्थिक वर्ष २०७४÷७५ मा यार्सागुम्बा संकलन पुर्जी वितरणबाट एक करोड ४१ लाख राजस्व संकलन भएको थियो ।

आर्थिक वर्ष २०७६÷७७ मा कोरोनाका कारण यार्सागुम्बा संकलनमा रोक लगाइएको थियो । तर, संकलकहरु पनि पाटन क्षेत्रमा संकलनका लागि गएका थिए ।

तपाईको प्रतिक्रिया